+
+
Shares

काँक्रेविहारलाई खुला चिडियाखानाको रुपमा विकास गर्छौं : मुख्यमन्त्री शाही 

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते ११:४७
Photo Credit : विश्व वातावरण दिवसको अवसरमा काँक्रेविहार क्षेत्रमा वृक्षारोण गर्दै मुख्यमन्त्री शाही/ मुख्यमन्त्रीको सचिवालय

२२ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काँक्रेविहारलाई खुला चिडियाखानाको रुपमा विकास गर्ने बताएका छन् ।

विश्व वातावरण दिवसको अवसरमा काँक्रेविहार क्षेत्रमा बुधबार विहान सरसफाइ तथा वृक्षारोपन पश्चात संचारकर्मीहरुसँग बोल्दै मुख्यमन्त्री शाहीले पुरातात्विक र ऐतिहाँसिक महत्व बोकेको काँक्रेविहारलाई संरक्षण गर्नुपर्ने बताए ।

मुख्यमन्त्री शाहीले काँक्रेविहारमा अहिले रहेको पिकनिक स्थललाई हटाएर व्यवस्थित पार्क निर्माण गरिने बताए । ऋषि, महर्षिहरुको साधनास्थल रहेको काँक्रेविहारलाई कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनामा प्रदेश सरकार रहेको उनको भनाइ छ ।

दुनियाँले के भन्छ भन्ने सरोकार आफूलाई नरहेको वताउदै मुख्यमन्त्री शाहीले मानव मस्तिष्कमा रहेको फोहोरको डंगुर सफा गर्न आफू नाला सफा गर्दै हिँडेको बताए ।

स्वच्छ र सफा वातावरण विना मानव जीवनको अस्तित्व संकटमा पर्ने भन्दै मुख्यमन्त्री शाहीले जनचेतना अभिवृद्धिसँगै कानूनको कार्यान्वयमार्फत सरसफाइ तथा स्वच्छताको प्रवर्धन गरिने बताए ।

वातावरणको संरक्षण अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिदै उनले वातावरण संरक्षणमा सवै क्षेत्र गम्भीर बन्नुपर्ने धारणा राखे ।

विश्व वातावरण दिवसको अवसरमा बुधबार विहान मुख्यमन्त्री शाहीको नेतृत्वमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय क्लवहरुको सहभागितामा काँक्रेविहार क्षेत्रमा सरसफाइ गर्नुको साथै वृक्षारोपन गरिएको थियो ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । ‘हाम्रो जिवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

काँक्रेविहारको फोहोर उठाउँदै मुख्यमन्त्री शाही ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?