Comments Add Comment

भारतीय टिममा नम्बर चार !

२२ जेठ, काठमाडौं । २०११ को क्रिकेट विश्वकप फाइनलमा श्रीलंकालाई हराएर उपाधि जितेपछिका हरेक सिरिजमा भारत विश्वकपमा केन्द्रित भएर बढिरहेको छ । २०१५ को विश्वकपमा सेमिफाइनलमा अस्ट्रेलियासँग हारेपछि त भारतका लागि २०१९ को विश्वकप सर्वाधिक प्रतीक्षा बन्यो ।

महेन्द्रसिंह धोनीले २०११ को विश्वकप जिताएपछि नै सबै भारतीय क्रिकेटप्रेमीमा उत्साहको सञ्चार भएको थियो । त्यसले उनीहरुको लक्ष्य र आत्मविश्वास उपाधिमा केन्द्रित हुन थाल्यो । त्यसैले २०१९ को विश्वकपमा भारतको योजना हर किसिमले सावधानीपूर्वक बनाइएको छ ।

बुधबार भारतले जारी विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै छ । यो सबै तयारी र योजनाका बाबजुद पनि ब्याटिङ अर्डरमा भने भारत पूर्ण रुपमा तयार भइसकेको देखिँदैन । अवस्थाअनुसार को कुन समयमा आउने भन्ने निर्क्यौल गर्न सहज पनि छैन । विशेष त नम्बर ४ मा आउने ब्याट्सम्यान को हुने भन्नेमा यकीन छैन । त्यसमा प्रशिक्षण टिमसँगै कप्तान विराट कोहलीको सोच महत्वपूर्ण हुनेछ ।

विश्वकप कप्तानको जिम्मेवारी देखाउने मैदानमा पनि हो । त्यसले विराट कोहलीमा महेन्द्रसिंह धोनीले देखाएको सकारात्मक बाटोलाई अझ अगाडि बढाउने चुनौती रहेको छ । हुन त कोहली पहिले आफू उदाहरण बन्छन् अनि मात्रै त्यसलाई पछ्याउन भन्छन् । यसैले जारी विश्वकपमा भारतीय टिममा हेर्नैपर्ने विषय कोहलीको कप्तानी पनि हुनेछ ।

२०१५ को विश्वकपमा खेलेपछि भारतीय टिममा चौथो नम्बरको ब्याटिङमा विभिन्न १२ ब्याट्सम्यानले खेलिसकेका छन् । जसमा कसैले पनि चौथो क्रममा आफ्नै स्थान बनाइराख्न सकेका छैनन् ।

त्यसमा अम्बाती रायडु केही भिजेका देखिए । नम्बर चार ब्याटिङ गर्न आएर रायडुले खेलेका १४ इनिङमा ४२.१८ को एभरेजमा रन बनाएका छन् । तर उनी विश्वकप टिममा नै पर्न सकेनन् ।

विश्वकप खेल्ने भारतीय टिमको घोषणा हुने बेला, छनोट समितिका प्रमुख एमएसके प्रसादले १३ औँ नम्बरमा विजय शंकरको नाम लिएर उनलाई भाग्यमानी बनाइदिए । अलराउण्डर शंकरले अहिलेसम्म भारतका लागि ९ एकदिवसीयमा खेलेका छन् । त्यसमा पनि नम्बर ५ भन्दा तल ब्याटिङ गरेका छैनन् ।

विश्वकपको अभ्यास खेलमा घाइते रहेका कारण न्युजिल्याण्डसँग खेल्न नपाएका शंकरले बंगलादेशसँग भने खेलेका थिए । जसमा उनले पाँचौ नम्बरमा ब्याटिङमा आएर दुई रन मात्रै बनाउन सके । त्यसैले पाएको सानो अवसरमा अब्बल बन्न नसक्दा शंकरको स्थान संकटमा परेको छ । त्यसैले धोनी र कोहलीसहितको सल्लाहमा केएल राहुलले दक्षिण अफ्रिकाविरुद्ध अवसर पाउने देखिन्छ ।

हुन त केएल राहुल पनि नम्बर ४ मा ब्याटिङमा आएर केही समय पहिलेसम्म कमजोर नै देखिएका थिए । जसमा २०१७ मा श्रीलंकासँगको दुई एकदिवसीय खेल र गएको वर्ष इंग्ल्याण्डसँगको दुई एकदिवसीय खेलमा उनको उच्च स्कोर १७ मात्रै रहेको थियो । तर जारी विश्वकप अघिको अभ्यास खेलमा बंगलादेशविरुद्ध उनले जे गरे त्यसले सबैको विश्वास जित्यो ।

बंगलादेशलाई ९५ रनले हराएको खेलमा चौथो नम्बरमा ब्याटिङमा आएका केएल राहुलले ९९ बलमा १०८ रन बनाएका थिए । जसलाई विराट कोहलीले भारतीय टिमका लागि सकारात्मक इनिङ रहेको भन्दै प्रशंसा गरेका थिए ।

चौथो नम्बरमा ब्याटिङ गर्न आउनु आफ्नो लागि नौलो रहने भए पनि त्यसको प्रयास भने वर्षौंदेखि भइरहेको राहुलले बताएका छन् ।

‘मैले क्रिकेट खेल्ने सुरुवातका दिनदेखि नै चौथो नम्बरको ब्याटिङमा अभ्यस्त भएर अघि बढेको होइन । विशेष त टप अर्डरमा नै ब्याटिङ गर्दै हुर्किएँ जसमा मलाई सहज पनि लाग्छ । त्यही स्थानमा रोहित शर्मा, शिखर धावन र विराट कोहलीले निरन्तर राम्रो गरिरहेकाले मेरो स्थान कतै रहेन । त्यसैले स्थानको खोजी मेरा लागि महत्वपूर्ण थियो’ हालै आईसीसीसँगको एक अन्तर्वार्तामा राहुलले भनेका छन्,‘मध्यक्रममा ब्याटिङ गर्न गएका केही वर्षदेखि नै मैले अभ्यास गरिरहेको थिएँ । मलाई टिम कप्तान र प्रशिक्षकहरुले पनि त्यसका लागि काम गर्न भनिरहेका थिए । त्यसैले मध्यक्रममा राम्रा रहेका धोनि, कोहलीहरुसँग कुरा गर्दै मैले धेरै मेहनत गरेँ ।’

सोच विचार गरेर ब्याटिङमा जाने राहुललाई क्रिकेट विश्लेषकहरु कप्तानमा हुनुपर्ने गुण रहेको खेलाडीका रुपमा हेर्छन् । हुन पनि पछिल्लो जिम्मेवारीपछि राहुल आफू अन्य क्रममा ब्याटिङमा आएका बेलामा समेत नम्बर चारमा ब्याटिङ गर्दाको अवस्थाहरु सोचेर बसिरहने बताउँछन् ।

‘आईपीएल र अरु खेलका बेलामा पनि म चौथो नम्बरको ब्याटिङबारे सोचिरहेको हुन्थेँ । जुनसुकै क्रममा ब्याटिङमा गए पनि पहिलो २० बललाई विचार गरेर खेलेपछि नै सेट हुन सकिने रहेछ । त्यसैले जुन क्रममा आए पनि बलको अवस्थालाई बुझ्ने नै हो रहेछ’ उनले भनेका छन् ।

२०११ को विश्वकप भारतले जित्दा राहुल १८ वर्षका मात्रै थिए । त्यसको पाँच महिनाअघि मात्रै उनको फस्ट क्लास क्रिकेटमा डेब्यू भएको थियो । विश्वकपमा भारतको जितपछि नै उनले आफ्नो क्रिकेटलाई अझ गम्भीर रुपमा बढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment