Comments Add Comment

कर्णालीमा पेट्रोलियम पदार्थ भण्डारणका लागि पहल सुरू

२४ जेठ, सुर्खेत । कर्णालीमा पेट्रोलियम पदार्थ भण्डारणका लागि पहल सुरू गरिएको छ । अहिलेसम्म कर्णालीका कुनै ठाउँमा पेट्रोलियम पदार्थको भण्डारण नभएकोले सरकारले त्यसको पहल सुरू गरेको हो ।

पेट्रोलियम पदार्थको कारोवारको व्यवस्थापन सम्बन्धी दीर्घकालीन रणनैतिक सुधार सम्बन्धी उच्चस्तरीय कार्यदल र मुख्यमन्त्री महेन्द्रबहादुर शाही बीच शुक्रबार सोही विषयमा छलफल भएको छ ।

टोलीसँगको भेटवार्ताकै बीचमा मुख्यमन्त्री शाहीले उद्योग, वाणीज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई फोन सम्पर्क गरी पेट्रोलियम पदार्थको भण्डारणको लागि जग्गा प्राप्तिको फाइल अगाडि बढाइदिनसमेत आग्रह गरे ।

हालसम्म कर्णालीमा एउटा पनि पेट्रोलियम पदार्थको भण्डारण नरहेको भन्दै मुख्यमन्त्री शाहीले असहज परिस्थितिमा पेट्रोलियम पदार्थको आपूर्तिको लागि भण्डारणको आवश्यकता जरुरी भएको बताए ।

कार्यदलको टोलीले जग्गा प्राप्तिका लागि सहजीकरण गरिदिन मुख्यमन्त्री शाहीलाई आग्रह गरेका थिए । जवाफमा मुख्यमन्त्री शाहीले कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट र डोल्पामा समेत ढुवानी गर्न सहज हुने गरि सुर्खेतको छिन्चुमा भण्डारण केन्द्र राख्न उपयुक्त हुने भन्दै जग्गा प्राप्तिको लागि आफूले संघीय सरकारसँग पहल गर्ने बताए ।

उनले पेट्रोलियम पदार्थ उपभोग गर्ने उपभोक्ताहरुको अवस्था हेरी अनुदान दिने व्यवस्था गर्न यस्तो नीति आवश्यक रहेको बताए । ‘अहिले सवै खाले उपभोक्ताले एकै खालको अनुदान सुविधा पाईरहेका छन्,’ मुख्यमन्त्री शाहीले भने, ‘साधारण घरेलु उपभोक्ता, किसान र विद्यार्थीलाई दिईने अनुदान र व्यवसायिक उपभोक्ताहरुलाई दिइने अनुदान फरक फरक हुन आवश्यक छ ।’

आयल निगम घाटामा छ भन्ने कुरा जनतालाई मन नपरेको भन्दै मुख्यमन्त्री शाहीले ढुवानी, भण्डारण र वितरणमा हुने चुहावट नियन्त्रण गर्न पनि आयल निगम गम्भीर वन्नुपर्ने बताए ।

भेटवार्तामा पेट्रोलियम पदार्थको कारोवारको व्यवस्थापन सम्बन्धी दीर्घकालीन रणनैतिक सुधार सम्बन्धी उच्चस्तरीय कार्यदलका सदस्य विमलप्रसाद वाग्ले, कृष्ण आचार्य र आयल निगम सुर्खेतका प्रमुख दिपक घिमिरेको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment