Comments Add Comment

तपाईंको खानाः तामासिक कि सात्विक ?

तात्तातो, पिरो, अमिलो, भुटेको, तारेको, मसलेदार, चटपटे संभवत यस्तो खान्कीको कुरा गर्दा तपाईंको मुखमा पानी आउँछ । हुनपनि यी खान्कीले जिब्रोलाई लोभी बनाउँछ ।

चाहे बेस्सरी मसला हालेर बनाइएको खसीको पक्कु होस् वा राम्ररी भुटिएको भुटन । अमिलो-पिरो चाट होस् वा रसिलो गुलाब जामुन । जब-जब यस्ता परिकारको प्रसंग निकाल्छौ, हामी थुक निल्न थाल्छौ । भुटेको, तारेको, पोलेको खानेकुरा भनेपछि हाम्रो भोक बढ्छ । पिरो, अमिलो, नुनिलो खानेकुरा भनेपछि हाम्रो भोक बढ्छ । किनभने हाम्रो जिब्रो यस्तै खान्कीमा अभ्यस्त भए ।

भनिन्छ, जस्तो खान्छौ, हामी त्यस्तै हुन्छौ । अर्थात खानाको सम्बन्ध हाम्रो शरीरसँग छ । स्वास्थ्यसँग छ । जस्तो खाना खान्छौ, शरीरको विकास र अवस्था त्यस्तै रहन्छ । त्यतीमात्र होइन, हाम्रो मन-मस्तिष्कसँग पनि खानाको साइनो रहन्छ । जस्तो खान्छौ, हाम्रो मन-मस्तिष्क पनि त्यस्तै हुन्छ ।

खानाले समग्र शरीरको रक्षा र विकास गर्छ । खानाले नै शरीर नष्ट पनि गर्छ । खानाले मनलाई बेचैन र उत्तेजित बनाउँछ । खानाले नै मनलाई शान्त तुल्याउँछ । खानामा धेरै भेद छ ।

प्रकृतिमा अनेकथरी खानेकुरा छन् । ति खानेकुराको रुप, स्वाद, गुण भिन्न छन् । ति खानेकुरा तयार गर्ने विधी पनि एकरुपता छैन । त्यसैले हामी के गर्छौ भने मिठो लागेको जति भरपेट खान्छौ । मिठो नलागेको एक टुक्रा चाख्ने प्रयास गर्दैनौ ।

प्रकृति हाम्रो अन्नदाता

चामल, मकै, गहुँ, तोरी, जौ, फापर जस्ता अन्न । आलु, रायो,  गोलभेडा, कांक्रा, फर्सी, मुला, केराउ, चना, सिमी जस्ता सागसब्जी । पिँडालु, तरुल जस्ता कन्दमुल । स्याउ, सुन्तला, आँप, कटहर जस्ता फलफूल । ति तमाम खानेकुरा प्रकृतिसँग छ, जो हाम्रो शरीरलाई चाहिन्छ ।

तर, प्रकृतिले दिएको भन्दा बढी र फरक स्वाद हामी खोज्छौ । प्रकृतिले हरेकमा आफ्नै स्वाद दिएको छ । ति सबैको गुण, रंग फरक छ । यद्यपी हामी प्रकृतिमा चित्त बुझाउँदैनौ । हरेक खानेकुरालाई फरक स्वाद र शैलीमा बनाएर खान्छौ । हुन त यो पाककला पनि हो ।

कतिपय खानेकुरा बनाउने क्रममा त्यसको गुण नष्ट हुन्छ । कतिपय खानेकुरा विषाक्त हुन्छ । कसरी कुनैपनि खानेकुराको प्राकृतिक स्वाद, गुण यथावत राखेर सेवन गर्ने भन्ने कुरामा चाहि हामी त्यती घोत्लिदैनौ ।

जस्तो खाना, उस्तै हामी

प्रकृतिबाट प्राप्त खानेकुराले नै हाम्रो शरीर निर्माण हुने हो । प्राण रहने हो । मन र मस्तिष्क संचालन हुने हो । यसर्थ खानपानसँग हाम्रो जीवन अभिन्न रुपमा जोडिएको छ ।

हाम्रो खाना मूलतः दुई प्रकारको हुनेगर्छ । एक तामासिक । अर्को सात्विक । तपाईंको खाना यसमध्ये कुन कित्तामा पर्छ ? अतः त्यस किसिमको खानाको असर शरीरमा कस्तो हुन्छ ?

तपाईं धेरै तातो, धेरै चिसो, चिल्लो, पिरो, अमिलो, गुलियो, बासी खानेकुरा खानुहुन्छ भने तपाईंको भोजन तामासिक हो । यसमा मदिरा लगायतका पेय पनि पर्छ । यस्तो खानाले जिब्रोलाई क्षणिक भएपनि लोभ्याउँछ । यस्तो खाना खाएपछि के हुन्छ ?

तामासिक खाना रुखो र जलन पैदा गर्ने हुन्छ । यसले दुःख, शोक, रोग उत्पन्न गर्छ ।

यदि तपाईं रसदार, ताजा, मुलायम, पोषिलो, सन्तुलित, सुपाच्य खानेकुरा खानुहुन्छ भने तपाईंको भोजन सात्विक हो । सात्विक खाना पोषिलो हुन्छ साथसाथै सुपाच्य पनि । पाचन यन्त्रले सहज रुपमा पचाउँछ ।

सात्विक खानाले आयु, ज्ञान, बल, आरोग्य, आनन्द र उल्लास बढाउँछ ।

तपाईंको थाली कस्तो बनाउने सात्विक वा तामासिक ? नितान्त तपाईंको हातको कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment