Comments Add Comment

सुशील ज्ञवालीलाई सांसदको सुझाव- राजनीति होइन काम गर्नुस्

२९ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत -सीईओ)सुशील ज्ञवालीलाई राजनीति नभइ काम गर्न सुझाएका छन् ।

बुधबाट संसदको दिगो विकास तथा सुशासन समितिमा प्राधिकरणको हालसम्मको प्रगतिबारे प्रस्तुति सुनेपछि उनले भने, ‘पुनर्निर्माण सम्बन्धी प्रस्तुत तथ्याङ्क सुखद पक्ष होइन । मेरो आग्रह छ, प्राधिकरणमा बसेर राजनीति होइन काम गर्नुस ।’ तर, सांसद रायमाझीले सीईओ ज्ञवालीको नामै भने किटेका थिएनन् ।

उनले प्राधिकरणमा रहेकाहरुमा जागिरे मानसिकता रहेको त्यो हट्नुपर्ने बताए । ‘काम गरे जस्तो गर्ने, समय कटाउने, राजनीति गर्ने, कुनै पार्टी समात्ने र सांसद हुने ?’ रायमाझीले थपे, ‘प्राधिकरणमा रहेकाहरुमा जागिरे मानसिकता छ । यो पनि हटाउनुपर्‍यो ।’

‘पुनर्निर्माणको काम कहिले सकिन्छ ? पुनर्निर्माणमा मौलिकतालाई कत्तिको ख्याल गरिएको छ ?’ रायमाझीको अर्काे प्रश्न थियो ।

जवाफ दिनेक्रममा सीईओ ज्ञवालीले पुनर्निर्माणको काम आगामी मार्चसम्म सक्ने गरी अगाडि बढेको बताए । पुनर्निर्र्माणमा मौलिकतालाई ख्याल गर्नसमेत उनको भनाइ थियो ।

तथापि, एकीकृत बस्तीहरुमा नेपालीपन नदेखिएको गुनासो आएको भए पनि बनिसकेको अवस्थामा अप्ठेरो परेको ज्ञवाली बताउँछन् ।

पुरातात्विक ऐतिहासिक महत्वका संरचनाको पुनर्निर्माणमा भने नयाँ सामाग्री प्रयोग गरेको भए पनि पुरानै मौलिकतामा बनाउने काम भइरहेको उनको भनाइ थियो ।

प्राधिकरणमा बसेकाहरुले राजनीति गरेको भन्ने रायमाझीको प्रश्नको भने सीईओ ज्ञवालीले घुमाउरो पारामा जवाफ दिए । ‘प्राधिकरण विगतमा राजनीतिक संक्रमणको सिकार भएको थियो । तर, अहिले त्यस्तो छैन् ,’ ज्ञवालीको जवाफ थियो ।

अर्का सांसद भैरव सुन्दर श्रेष्ठले प्राधिकरणका गतिविधि जनताले थाहा पाउन नसेकेको बताएका थिए । यसको जवाफमा सीईओ ज्ञवालीले नेपालको पुनर्निर्माणबारे अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना नै गर्न लागिएको जानकारी दिए ।

पुनर्निर्माणमा सहयोगका लागि अन्तर्राष्ट्रिय सम्मेलन गरिएकाले पुनर्निर्माण कस्तो भयो भन्ने सन्दर्भमा पनि जानकारी गराउनु आफूहरुको दायित्व भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment