Comments Add Comment

प्राइमको ताल्चा खोलेर अनुसन्धान सुरु

२९ जेठ, वीरगञ्ज । वीरगञ्ज-४ विर्ताका देव नारायण भडेलले प्राइम बचत तथा ऋण सहकारी संस्थामा मुद्धती खातामा झण्डै डेढ करोड जम्मा गरे ।

उनले आफ्नो मात्रै नभएर छोरा देवांश र श्रीमती मायाको नाममा सहकारीमा खाता खोलेर त्यति रकम जम्मा गरेका थिए ।

सहकारीका सञ्चालक समितिका अध्यक्षसमेत रहेका राजेश पटेलले मुद्धती खातामा रकम जम्मा गर्दा दुई वर्षमा घर किन्न पुग्ने पैसा हुने आश्वासन मात्रै दिएका थिएनन् । घर पनि खोजिदिने बाचा गरेका थिए ।

तर, भडेलको घर किन्ने सपनामा त्यतिखेर तुसारापत भयो जब राजेश पटेल लगायतको टिम सहकारीको करोडौं रकम लिएर सहकारी बन्द गरेर फरार भए ।

उनको दैनिकी अहिले प्रहरी प्रशासनमा धाउँदैमा वितिरहेको छ । ‘राजेशले जग्गा बेचेर भएपनि पैसा तिर्छु भनेका थिए, भाग्नु अघिसम्म जग्गा बेचिसकेको छु दाई पैसा लिएर आउँदैछु भन्दै थिए,’ उनले भने, ‘तर उनी पैसा नै नतिरि भागे । मलाई त बर्बाद पारे । ‘

वीरगञ्जको भुटनदेवीमा छोरीको नामको जग्गा पनि राजेशले बिकाउन बैना दिइसकेको तर छोरी अष्ट्रेलियामा रहेका कारण बचेको उनको भनाइ छ ।

प्रहरी प्रशासनमा देवनारायण जस्तै ठगिएका ६० जनाको उजुरी आएपछि सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले तीन महिना अघि सहकारीमा ताल्चा लगायो ।

प्राइम साकोसका अध्यक्ष रौतहटको सखुअवा धमौरा घर भइ वीरगज १८ बस्ने राजेश पटेल, बरिष्ठ उपाध्यक्ष भारती गुरुङ, उपाध्यक्ष रामलक्ष्ण तिवारी, महा सचिव रुपेश कुमार गुप्ता, कोषाध्यक्ष रिता कुमारी पोखरेल, सचिव शिक्षा थापा र बजार प्रबन्धक ओम प्रकाश रौनियार लगायत १४ जनाविरुद्ध उजुरी परेको छ ।

संस्थाका अध्यक्ष पटेल र कोषाध्यक्ष पोखरेल श्रीमान श्रीमती हुन् । वि.स.२०६६ सालमा स्थापना भएको प्राइम साकोसका संचालकहरु चैत २४ गते आइतबार फरार भएका थिए ।

निक्षेपकर्ताहरुको आठ करोड भन्दा बढी रकम लिएर भागेको आरोप लागेको छ । सफल दैनिक बचत, नारी बचत खाता, मुद्धती खातामा पनि आकर्षक प्रलोभन दिएर प्राइमले बचत कर्तालाई आकषिर्त गर्ने गरेको पाइएको छ ।

यो पनि पढ्नुस् –

८ करोड लिएर सहकारी सञ्चालक फरार, प्रशासनसँग वचतकर्ताको गुहार

तर, बुधबार प्रशासनको रोहबरमा प्रहरीले ताल्चा खोलेको छ । प्रहरीले निक्षेपकर्ताहरुको उजुरीको आधारमा अनुसन्धानका लागि कार्यालयको ताल्चा खोलेको हो । अनुसन्धानका क्रममा पुरानो सञ्चालक समितिले गोप्य रुपमा नयाँ सञ्चालक समिति बनाएको तथ्य खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको मुद्धा शाखाका प्रहरी निरीक्षक अरबिन्द साहले जनप्रतिनिधि, प्रशासनको प्रतिनिधिको रोहबरमा ताल्चा खोलेर खानतलासी गरिएको बताए । ‘ताल्चा खोलेर खानतलासी गरेका छौं, प्रमाणका लागि आवश्यक पर्ने कागजात, कम्युटर, सिसिटिभी फुटेज लिएर मुचुल्का उठाएर आएका छौं,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत भानुभक्त बरालले ठगी गरेको सञ्चालकलाई कारबाहीका लागि प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिए ।

‘प्रशासनमा निक्षेपकर्ताहरुले गुनासो गरेका थिए, जिल्ला प्रशासनले ठगी गरेकालाई कारबाही गर्न जिल्ला प्रहरीकोमा पत्र पठायो । शुरुमा सञ्चालकले नै सहकारी बन्द गरेर भागेका थिए । पछि प्रमाण नष्ट गर्न सक्ने भएकोले प्रशासनले ताल्चा लगाएको थियो,’ उनले भने, ‘जिल्ला प्रहरी कार्यालयले ताल्चा खोलेर अनुसन्धानका लागि आवश्यक कागजपत्र र अन्य सामग्री लिएर गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment