Comments Add Comment

जसले काठमाडौंमा भित्र्याए लुम्बिनी तन्दुरी भोजनालय

२९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका धेरै चोकहरुमा ‘लुम्बिनी तन्दुरी भोजनालय’ नामका खाजा घरहरु भेटिन्छन् । नामजस्तै यी भोजनालयको प्रमुख आकर्षण हो तन्दुरी रोटी र नेपाली खाना ।

उपत्यकामा मात्रै झण्डै दुई सयको हाराहारीमा एउटै नामको तन्दुरी भोजनालय रहेको अनुमान छ । यद्यपि, यो कुनै ब्यापारिक चेन भने होइन । यो काठमाडौंमा कसरी भित्रियो भनेर जान्न चाहिँ २६ वर्ष पछाडि फर्किनुपर्छ ।

विसं ०५० सालसम्म काठमाडौं उपत्यकामा मानिसहरुको मुख्य खाजा थिए, जेरी, पुरी, सुख्खा रोटी र पञ्जाबी ढावा थिए । ढावाको व्यापारमा भारतीय व्यापारीको एकलौटी थियो । कालीमाटी, सोल्टी मोड, कुपण्डोल, त्रिपुरेश्वरमा पञ्जाबी ढावा थिए । स–साना खाजाघरमा केही नेपाली व्यवसायीले चिया, तरकारी र सुख्खा रोटी बेच्ने गर्थे ।

रोजीरोटीका लागि घरपरिवार छोडेर भारत पसेका दुई युवाले सिकेको तन्दुरी बनाउने सिपले अन्ततः काठमाडौंबाट पञ्जाबी ढावालाई बिस्थापित गराइदियो । शहरमा भित्रिरहेका खानाका नयाँ–नयाँ परिकारका बाबजुत स्वदेशी कच्चा पदार्थकै पूर्ण प्रयोग हुने लुम्बिनी तन्दुरी व्यवसाय शहरमा तिब्र विस्तार हुँदै गयो ।

गुजरातदेखि काठमाडौसम्म

५० दशकमा रोजगारीका लागि भारतीय शहरमा पुग्ने सुदुर पाल्पाको छहराका मानिसको संख्या निकै बाक्लो थियो । छहरा ८ सल्लेधाराका शेषकान्त पोख्रेल र राम्रसाद पोख्रेल दाजुभाइ पनि रोजगारीकै खोजीमा २०५१ सालमा भारतको गुजराततिर लागे । गुजरातमा पोख्रेल दाजुभाइले सुरक्षा गार्डदेखि जुत्ता रंग्याउनेसम्मका काम गरे । करिव ३ वर्षको गुजरात बसाईको अन्तिम १३ महिनामा भने उनीहरुले एक होटलमा काम गरे, जहाँबाट तन्दुरी रोटी बनाउन पोख्त भए ।

विदेशी भूमिमा तन्दुरी रोटी बनाउन सिकेपछि उनीहरुलाई काठमाडौंमा यही काम गर्ने रहर जाग्यो । अनि तन्दुरी रोटी बनाउन आवश्यक पर्ने सामान जोहो गर्न थाले ।

‘करिब डेढ बर्षको काम गराइपछि काठमाडौंमा तन्दुरी रोटी बेच्ने हुटहुटीले हामीलाई गुजरात बस्न मनै लागेन’ उनीहरु सम्झिन्छन्, ‘२०५४ सालको असोजमा तन्दुरी रोटीको लागि आवश्यक पर्ने भाँडाकुँडासहित हामी नेपाल फर्कियौं ।

टंकेश्वरको चक्कर

बुटवल पनि पश्चिम नेपालको ठूलै शहर हो । उनीहरुको जन्मथलोबाट बुटवल टाढा पनि थिएन । तर, उनीहरुले बुटवललाई छोडेर तन्दुरीको व्यापार काठमाडौंमा गर्ने निधो गरे ।

बुटवलको एक घरमा भाँडाकुँडा स्टोर गरेर पोख्रेल दाजुभाइ काठमाडौ आए र उपयुक्त ठाउँमा सटर खोज्न थाले ।

रामप्रसाद भन्छन्, ‘त्यतिबेला काठमाडौंवासीले खाजामा जेरी, पुरी, चना खाने गर्थे भने बिहान–बेलुका घरमै दालभात तरकारी खान्थे । अलि ठूला बस्ती र चोकको छेउमा भारतीयहरुको तन्दुरी ढावाहरु थिए ।’

मधेसबाट आएका मानिसहरुले रोटी निकै मन पराउने र अझ भारतीयबाटै सिकेको तन्दुरी नान उनीहरुलाई खुवाउन पाए मज्जाले ब्यापार हुने दाजुभाइले सोचे । अनि, अलि धेरै भारतीय र मधेसीहरुको चहलपहल हुने कालीमाटी क्षेत्रमा सटर खोजे । मासिक भाडा ६ हजारमा भनेजस्तो सटर भेटियो ।

पैंतीस सय लगानी, गुण्डागर्दीले आजित

जम्माजम्मी ३५ सय लगानी गरेर दाजुभाइले कालिमाटीस्थित टंकेश्वरमा ‘लुम्बिनी भैरव तन्दुरी होटल’ सञ्चालनमा ल्याए । दाजु शेषकान्त खाना बनाउने, भाइ रामप्रसाद रोटी हाल्ने र सरसफाई गर्ने उपक्रम सुरु भयो । नयाँ परिकार, सस्तो र ताजा भएपछि खाजाघरमा ग्राहकको भिड बढ्दै गयो । पहिलोपटक उनीहरुले तन्दुरी रोटी पचास पैसा, दाल फ्राई पाँच रुपैयाँ र सादा खाना ३५ रुपैयाँमा बेचेका थिए ।

खाजाघर चाँडै लोकप्रिय भयो । प्रतिदिन ३५ सय देखि ६ हजार रुपैयाँसम्म कारोबार हुन्थ्यो । तर, टोलेगुण्डाले उनीहरुलाई दुख दिन थाले ।

‘दिनभरि मेसिनजस्तो खटेर कमाएको पैसा बेलुका टोले गुण्डा आएर लुट्थे । केही पैसा नदिए मार्नेसम्मको धम्की दिन्थे,’ शेषकान्त भन्छन् । त्यसपछि उनीहरुले रात पर्न लागेपछि आफन्तलाई पसलमा बोलाएर दिनभरी ब्यापार भएको पैसा प्लास्टिकमा पोको पारेर पठाउन थाले ।

१२ बर्षसम्म टंकेश्वरमा उनीहरु तन्दुरी बेचे । जसले उनीहरुलाई बाँच्ने आधार मात्र दिएन, मिहिनेत गरेमा सफल भइन्छ भन्ने अनुभव पनि दियो ।

कसरी बन्छ तन्दुरी रोटी/नान ?

बजारमा चर्को मूल्यवृद्धि भइरहँदा त्यसको असर पनि तन्दुरी भोजनालयमा पर्ने नै भयो । फलस्वरुप उतिबेला ५० पैसामा बेचिने तन्दुरी रोटीको मूल्य अहिले १५ रुपैयाँ पुगेको छ ।

आखिर सामान्य सुख्खारोटी र तन्दुरी रोटीमा के फरक छ त ? रामप्रसाद अनुसार शुद्ध गहुँको पिठोलाई पानीमा नुनसहित मुछिन्छ । त्यसलाई बेलेर भट्टीमा पकाएपछि तन्दुरी रोटी तयार हुन्छ ।

यस्तै, दुध, अण्डा र थोरै नुन राखेर बनाइएको मैदाको पिठोलाई भट्टीमा निश्चित समय पकाएपछि नान बन्छ । आलु, प्याज, मासु, लगायतका परिकार समावेश गरेर थरी–थरीका नान बनाउन सकिन्छ ।

‘गाउँले र आफन्तलाई विदेशिन रोक्यौं’

काठमाडौंमा तन्दुरी व्यवसाय गर्दै जाँदा उनीहरुले जिविकोपार्जन मात्रै होइन, राम्रो आयआर्जन पनि गरे । उनीहरुले नेपालमै बसेर राम्रो कमाइ गरिरहँदा अरुलाई पनि प्रेरणा मिल्यो ।

भाइ पोख्रेल भन्छन्, ‘धेरै कमाउने चाहनामा ऋण गरेर विदेश जान लागेका आफन्त, गाउँले र साथी–भाइलाई हामीले रोक्यौं ।’

दाजुभाइको प्रेरणाले उनीहरुले विदेश जान लिएको ऋणबाट तन्दुरी भोजनालय स्थापना गरे । सुरुवाती बेला व्यवसायमा गरेको लगानी उठाउन उनीहरुलाई समय लाग्यो तर डेढ बर्षमा लगानी गर्नेहरु सबै नाफामा चल्न थाले । एवम् प्रकारले शहरमा दुई सयभन्दा धेरै लुम्बिनी तन्दुरी भोजनालयहरु खुलेका छन् । यस्ता भोजनालयमा गुल्मी र पाल्पाका मात्रै ९० प्रतिशत लगानीकर्ता छन् । उनीहरु दुई पैसा कमाउनकै लागि अब बिदेश जानुपर्ने अवस्था छैन ।

तन्दुरी सुरुवातकर्ता पोख्रेल दाजुभाइमध्ये शेषकान्त तन्दुरीबाटै उठेर खाद्यान्नको होलसेल व्यावसायी बनेका छन् । रामप्रसाद भने तन्दुरी भोजनालयमै रमाइरहेका छन् । काठमाडौंको नयाँ बानेश्वर, शंखमूल, थापागाउँ र बुटवलमा उनको व्यवसाय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment