Comments Add Comment

छापामा आज : विदेश अध्ययनमा कडाइ, मारमा अस्ट्रेलिया र जापान जाने

३० जेठ, काठमाडौं । अनियमितता र बेथितिसँगै समसामयिक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषय आजका दैनिक पत्रिकाहरुको प्राथमिकतामा परेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले आज भूमाफियाले जनकपुर क्षेत्रको जग्गासँगै ४० भन्दा बढी मन्दिर नै गायब पारेकोलाई मुख्य समाचार बनाएको छ ।

अन्नपूर्ण लेख्छ– २५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे । यतिबेला ती मन्दिर र कुटी छैनन् । मन्दिर र कुटी त हराए–हराए । भगवानका मूर्ति पनि गायब भए । अहिले बाँकी छन् । केही मन्दिरका भग्नावशेष मात्र ।

समाचार अनुसार पछिल्लो दुई दशकमा जनकपुरमा ४० भन्दा बढी मन्दिर मूर्तिसहित हराएका छन् । कुनै बेला मन्दिर र कुटी रहेको ठाउँमा अहिले ठुल्ठूला भवन छन् ।

सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको खबर पनि अन्नपूर्णमा छ । शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नोअब्जेक्सन लेटर–एनओसी) नदिने निर्णय गरेको हो ।

निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्मालाई उद्धृत गर्दै अन्नपूर्णले लेखेको छ । उनका अनुसार १२ कक्षा पास नगरी डिप्लोमा तहको भोकेसनल कोर्स अध्ययनमा जान खोजेका विद्यार्थीलाई एनओसी रोकिएको छ । विश्वविद्यालय भर्ना हुने प्रमाण भएका विद्यार्थीलाई भने रोक लगाइएको छैन ।

समाचार अनुसार डिप्लोमा भनिए पनि यसमा कति अवधिसम्मको अध्ययनलाई मान्यता दिने भन्ने स्पष्ट व्यवस्था छैन । यसबारे मन्त्रालयका अधिकारी पनि अन्योलमा छन् । अहिले १ वर्षदेखि ६ महिनाका लागि अध्ययन गर्न जाने भन्दै विद्यार्थीले मन्त्रालयबाट एनओसी जाने गरेका छ ।

यो निर्णयले अस्ट्रेलिया र जापान जाने विद्यार्थी मर्कामा पर्ने अनुमान गरिएको छ । हाल विद्यार्थीको पहिलो रोजाइमा अस्ट्रेलिया र त्यसपछि जापान पर्ने गरेको छ ।

नेकपा अध्यक्ष प्रचण्डले सत्ताको नेतृत्व आलोपालो भनेर चितवनमा व्यक्त गरेको भनाइ पनि आजको अन्नपूर्णमा पढ्न सकिन्छ । केही समयअघि मात्रै यस्तै सार्वजनिक अभिव्यक्ति दिएका प्रचण्डले पुनः सरकारको नेतृत्व परिवर्तन हुने बताएका हुन् ।

लोकसेवा विज्ञापनले प्रमुख सत्तारुढ दल नेकपामा आएको हलचलमाथि कान्तिपुरले समाचार बनाएको छ । कान्तिपुरका अनुसार नेकपामा पूर्वमाओवादी पृष्ठभूमिका सांसद् लोकसेवाले समितिको निर्णय पालना गर्नुपर्ने अडानमा छन् भने पूर्वएमाले पक्षधरले आफू चर्चामा आउन विषयवस्तुको गहिराइमै नपुगी समितिले निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षा अनियमितताबारे पनि कान्तिपुरले पर्गेलेको छ । कान्तिपुरका अनुसार आफूले चाहेका व्यक्ति पास नहुने अवस्था आएपछि दिइएको अंक केर्दै थप गरिएको पाइएको छ । नातागोतालाई त्रिविको परीक्षामा पास गराएपछि अहिले यसमाथि छानबिन चलिरहेको छ ।

नागरिकले ‘मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । सिरहामा यसरी मेयर र वडाध्यक्ष नै पदीय मर्यादाविपरीत नदी उत्खनन्मा लागेका हुन् ।

हुरीपछिको कैलालीको अवस्था, लोकसेवा विज्ञापनबारे सर्वोच्चले गरेको आदेशलगायत विषयलाई पनि नागरिकले आज पहिलो पृष्ठमा समेटेको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन वर्तमान नेतृत्व नै लागेको ठोकुवा नयाँ पत्रिकाले गरेको छ । उसले जहाज ग्राउण्डेडलगायतका कारणलाई त्यसको दसी प्रमाणका रुपमा पेस गरेको छ ।

निगमसँग हाल आन्तरिकतर्फ ९ जहाज छन् । तीमध्ये अहिले सातवटा गाउण्डेड छन् । यसरी जहाज ग्राण्ण्डेड गराउँदा मासिक ६ करोड ३० लाख घाटा परेको नयाँ पत्रिकाको हिसाब छ । निजी पोस्न आफ्ना जहाज थन्क्याएर यस्तो गरिएको समाचारमा लेखिएको छ ।

शीतलनिवासबाट सिंहदरबार पत्र पुग्न पाँच दिन लागेको रोचक खबरलाई राजधानीले एंकर बनाएको छ । राष्ट्रपति कार्यालयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यको जिम्मेवारी तोकिएको पत्र महाराजगञ्जबाट संसद् सचिवालय पठाएकोमा त्यो पुग्न पाँच दिन लागेको हो ।

सरकारी मुखपत्र गोरखापत्रले चार लाख निजी आवास निर्माण भएको लेखेको छ भने कारोबारमा राजस्व बाँडफाँटलाई लिएर प्रदेश–स्थानीय सरकारबीच बढेको विवादबारे समाचार छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment