Comments Add Comment

वीरगञ्ज महानगरले कर वृद्धि गर्न लागेको भन्दै कांग्रेसको प्रदर्शन

३१ जेठ, वीरगञ्ज । नेपाली कांग्रेस पर्साले कर वृद्धि नगर्न दवाव दिन प्रदर्शन गरेको छ । वीरगञ्ज महानगरपालिकामा विगतमा जस्तै कर वृद्धि गर्न खोजेको भन्दै कांग्रेसले शुक्रबार प्रदर्शन गरेको हो ।

कांग्रेस पर्साका सभापति अजय द्विवेदीको नेतृत्वमा कांग्रेस नेता कार्यकर्ताहरुले बिरोध प्रदर्शन गर्नुको साथै वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

कर्मचारीको बोर्डले नै नगरवासीहरुको हित र कर तिर्ने क्षमता भन्दा बढी करको दरहरु र मूल्यांकन निर्धारण गरी कर असुली गर्दै आइरहेकोमा निर्वाचन पश्चात जनप्रतिनिधिको बोर्ड गठन भइ नगरवासीले थेग्नै नसक्ने गरी कर वृद्धि गरिएको छ । विगतमा पनि नेपाली कांग्रेसले करको दर घटाउन माग गरेको हो,’ ज्ञापनपत्रमा भनिएको छ ।

करका दर र मूल्यांकन नागरिकको क्षमता र आयसँग सम्बन्धित भएकोले दर निर्धारण गर्दा त्यसमा ध्यान दिन आग्रह गरिएको छ ।

नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य राजेन्द्रबहादुर अमात्यले कर जनताको आयको हिसाबले लिनुपर्नेमा ढाड सेक्ने हिसाबले आएकोले विरोध गर्नु परेको बताए ।

कर बिरोधी प्रदर्शनमा नेपाली कांग्रेसबाट बोर्डमा प्रतिनीधित्व गर्दे आएकाहरु समेत सहभागी थिए । बोर्ड सदस्य एवं वडा अध्यक्ष जगत साह कानुले बोर्डमा बारम्बार आग्रह गर्दा पनि सुनुवाई नभएकोले सडकमा ओर्लेको बताए । ‘उपमेयर शान्ति कार्कीको नेतृत्वमा बोर्डमै कर वृद्धिको विरोध गरेका थियौं तर सुनुवाई नभएपछि बोर्ड बैठक बहिस्कार पनि गर्‍यौं,’ उनले भने, ‘ त्यसैले सडकमा आएका हौं ।’

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख सरावगीले करको दर निर्धारण गर्न उपप्रमुख शान्ति कार्कीकै संयोजकत्व राजश्व परामर्श समिति बनेको बताए ।

नगरको विकासका लागि आन्तरिक रुपमा मजबुत त हुनुपर्छ, त्यसका लागि करको दर भन्दा दायरा बढाउन हामी लागि परेका छौं, जग्गाको मूल्यांकन मालपोतको भन्दा ३० प्रतिशत गरेका छौं,’ उनले भने, ‘कर वृद्धि हुन लागेको अफबाह फैलाइएको हो । वास्तवमा त्यस्तो केही भएको छैन ।’

आउने आर्थिक वर्षदेखि एकीकृत सम्पत्ति कर खारेज भइसकेको जानकारी दिँदै उनले आफ्ना पार्टीका प्रतिनिधिप्रति विश्वास गर्न पनि आग्रह गरे ।

यसअघि घण्टा घरबाट निकालेको र्‍याली माइस्थान, आदर्शनगर हुँदै महानगरपालिकामा पुगेको थियो । उनीहरुले जनबिरोधी कर खारेज गर, जनता मार्न पाइँदैन, कर वृद्धि गर्न पाइँदैनलगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment