 
																			३१, जेठ, चितवन । शुक्रबार विहान पूर्वमन्त्री शिक्षामन्त्री धनिराम पौडेल निर्माणाधीन घरको अगाडि छरिएका गिट्टी सोर्हर्दै थिए । दिउँसो चर्को घाममा काम गर्न नसकिने भएकाले विहानै चेक हाफ पाइन्ट र कालो टिर्सट लगाएर गिट्टी उठाउन जाँगर चलाउँदै थिए उनी । गिट्टी सोहोरेर उनी माडी नगरपालिका कर्मचारीसमेत रहेका छिमेकी टेकनाथ पौडेलको घरमा पुगे ।
पसिनाले निथ्रुक्क भिजेका पौडेलले टेकनाथसँग घर नजिकको सडक विस्तारका विषयमा करीव १० मिनेट छलफल गरे । उनीहरु पहिल्यैदेखिका छिमेकी थिए । दुबै पहाड घर स्याङ्जा हो । सहपाठी जस्ता थिए टेकनाथ र धनिराम । दुबैको पूरानो घर बाटो छेउमा रहेकोले सडक विस्तार गर्ने क्रममा भत्किने अवस्था थियो । घर अगाडि जम्मा ४ फिटको मात्रै बाटो छ । सोही बारेमा छलफल गर्ने उनीहरुका वीचमा पूर्व निर्धारीत कार्यक्रम थियो ।
केही बेर छलफल गरेपछि धनिराम नयाँ बन्दै गरेको घरतिरै लागे । पानीको पाइपका गाड्ने भन्दै दुई कोदाली के हानेका थिए । उनी ढले । मुखबाट फिँज आउन थाल्यो । धनिरामको यो अवस्था देख्ने मान्छे छिमेकी टेकनाथ नै थिए । उनले हत्तपत्त ब्लाङ्केट निकालेर वरपरका अन्य मान्छेहरुलाई पनि बोलाए । डोली जस्तो बनाई अस्पतालतर्फ लगे ।
केहीबेरमा माडी नगरपालिकाको गाडी आयो । धनिरामको घरबाट माडीको बघौडा अस्पताल जम्मा ५ सयमिटर मात्रै पर थियो । तर अपसोच अस्पताल लैजाने वित्तिकै अस्पतालले उनलाई मृत घोषणा गर्यो । घटना सुनाउँदै टेकनाथले अनलाइनखबरसँग भने, धनिरामको अन्तिम बोली नै मसँग भयो, यो सबै मैंले मेरै आँखाले देखेको छु, यो सपना हो कि विपना हो पत्तो छैन ।’
उनले यो घटना कुनै चलचित्रको कहानी जस्तो भएको बताए । घरको ढलान र चर्चित नेता स्वर्गीय दिवाकर भुसालको जीवनमा आधारीत पुस्तक प्रकाशनको तयारीका धनिराम जुटिरहेका थिए । हिजोमात्रैं उनी भरतपुर आएर फर्किएका थिए । भरतपुरमा कलाकार दिनेश्वर महतोले दिवाकर भुसालको शालिक बनाइरहेका छन् । शालिकको निरीक्षणका लागि भन्दै उनी भरतपुर आएका थिए ।
मगुई खोलामा अस्ताए डीआर
पूर्वशिक्षामन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य धनिराम पौडेलको आजै चितवनको माडीस्थित मगुई खोलामा अन्त्येष्टि गरिएको छ । मृतक पौडेलको पार्थिव शरीरमा दुई छोरीहरु जागृति र आकृति तथा श्रीमती गंगा बेल्वासेले सामुहिक दागवत्ती दिए । माडीमा नै उनको अन्त्येष्टि गर्ने निर्णय परिवार र स्थानीय पार्टीले लिएको थियो ।
सो अघि माडीको वसन्तपुरस्थित वघौडा अस्पताल परिसरमा आयोजना गरिएको अन्तिम श्रद्धाञ्जली सभामा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिए ।

पौडेलको अन्त्येष्टिमा नेकपाका नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ३ का मन्त्रीहरु, नेकपाका नेता कार्यकर्ताहरु र माडीका स्थानीयको ठूलो संख्या थियो ।
पौडेलको निधनको शोकमा शुक्रबार माडी नगरपालिकाले नगरमा विदा समेत घोषणा गरेको थियो । माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालले माडीको बामपन्थी आन्दोलनको एक धरोहर तथा शैक्षिक एवम सामाजिक रुपान्तरणका लागि एक नेतृत्व गुमाएको भन्दै दुख व्यक्त गरे ।
सादगी थिए धनिराम
राजनीतिलाई कमाउने पेशा बनाउनु हुन्न भन्ने पक्षमा सधै उभिरहन्थे धनिराम । शिक्षामन्त्री भइसकेको व्यक्ति भए पनि उनीसादगी जीवन बिताउन रुचाउँथे । जहाँ पनि सहज रुपमा प्रस्तुत हुने उनको स्वभावका कारण उनी स्थानीय क्षेत्रमा धेरैको प्रिय थिए ।
पौडेलले राजनीति र साहित्यलाई समानान्तर रुपमा अघि बढाउँदै आएका थिए । बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलबाट २०२२ कात्तिक ४ गते स्याङ्जाको तत्कालिन दरौ गाविस, कुन्चेवारीमा जन्मिएका पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय भएका थिए । पौडेलको परिवार स्याङ्जाबाट २०३४ सालमा चितवन झरेको थियो ।
मोहनबिक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को बिद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गरेका उनी २०३९ मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तत्कालिन नेकपा (एकताकेन्द्र) विभाजन पछि अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय संयोजक बने ।
२०४१ सालमा एसएलसी पास गरेपछि उनी भरतपुरको वीरेन्द्र क्याम्पसमा पढे । त्यस पछि पोखराको पृथ्वीनारायण क्याम्पसमा पढे । त्यतिबेला भारतीय नाकावन्दीको उनले विरोध गरे । सरकारका विरुद्धमा आन्दोलनमा लाग्दा उनी ९ महिना जेल परे ।
२०४२ सालमा नेकपा (चौम) को सदस्यता लिएपछि उनी २०४४ सालमा सो पार्टीको चितवन जिल्ला सदस्य भए । २०४७ सालमा माडीको शितलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधि रुपमा सहभागी बनेका उनी अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्य समेत बने ।
२०५१ को पार्टी विभाजनपछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई उनले साथ दिए । त्यसयता उनी लगातार पार्टीको केन्द्रीय समितिमा रहे । विगतमा लामो समय पार्टीको वैचारिक मुखपत्र जनएकता साप्ताहिकको सम्पादक भई पत्रकारिता समेत गरे ।
२०५१ सालमा दाङकी गंगा बेल्वासेसँग पार्टीको सहमतिमा उनले विवाह गरे । माडीमा उनको पुर्ख्यौली २ विघा जग्गा छ । पछिल्लो पटक पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला उनी शिक्षामन्त्री बने । पौडेलकै पहलकदमीमा माडीमा बहुप्राविधिक शिक्षालय स्थापना भएको थियो ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4