Comments Add Comment

भोलिदेखि न्युरोडको पार्किङस्थल मोबाइलबाटै बुक गर्न सकिने

३२ जेठ, काठमाडौं । सवारी लिएर न्युरोड जाँदै हुनुहुन्छ ? जादै हुनुहुन्छ भने भोलि आइतबारदेखि घरबाटै आफूलाई आवश्यक र उपयुक्त पार्किङ स्लट घरबाटै बुकिङ गरेर जान पाइनेछ । यसले न्युरोडमा पुगेर पार्किङ खोज्दै भौतारिनुपर्ने समस्या हट्ने दावी गरिएको छ ।

काठमाडौंको व्यस्त बजार न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवाको सुरुआत भोलिबाट हुँदैछ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवा शुरु गर्न लागेको हो ।

व्हिल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो । यसको उद्घाटन आइतबार नै मेयर विद्यासुन्दर शाक्यले गर्दैछन् ।

स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ । ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ ।

अब न्युरोड जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् ।

ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्त्रिmन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरासहितका पार्किङ सहयोगी राखिएका छन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राख्छन् ।

महानगर क्षेत्रका पार्किङ स्थललाई क्षेत्र अनुसार शुल्क निर्धारण गरिएको छ । न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायत भित्री सहरी क्षेत्र क्षेत्र नम्बर २ मा पर्छन् ।

त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टेबाट बिष्णुमती लिङ्करोड हुँदै टेकु र त्यहाँबाट त्रिपुरेश्वरसम्मको सडकले घेरिएको भाग भित्री सहरी क्षेत्र हो । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ ।

सेवाका लागि ‘Park KTM’ एप एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

काठमाडौंमा भएका सवारी साधनमध्ये औसतमा १० प्रतिशत समय मात्र सडकमा गुड्छन् । बाँकी समय पार्किङ गरिएका हुन्छन् । त्यसैले पार्किङको समस्या बढेको हो ।

पहिले सवारी किन्न सक्ने परिवारमा एउटा मात्र सवारी साधन हुन्थ्यो । तर, पछिल्लो समय एकै घरमा एक भन्दा बढी सवारी साधन हुन थालेका छन् । अब परम्परागत पार्किङले मात्र समस्या सुल्झने अवस्था छैन । यसका लागि प्रविधिमा आधारित व्यवस्था गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

न्युरोड क्षेत्रमा व्यवस्थित पार्किङ नहुँदा आवागमन अस्तव्यस्त हुने गरेको छ । त्यसक्षेत्रमा किनमेलका लागि जाने उपभोक्ता सवारी पार्किङ स्थान नपाएर दिक्क हुने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment