Comments Add Comment

ह्याम्समा खुट्टाबाट तार घुसाएर मुटुको चाल गडबडीको सफल उपचार

३२ जेठ, काठमाडौं । मुटुको चाल गडबड हुँदा सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया गर्न अब नेपालमै सम्भव भएको छ । गंगालाल हृदयरोग केन्द्रबाटमात्र प्राप्त हुँदै आएको सो विशेषज्ञ सेवा शुरु गरेको निजी क्षेत्रको ह्याम्स अस्पतालले शनिवार ५० औं जटिल उपचार सम्पन्न गरेको छ ।

मुटुरोग विशेषज्ञ डा.रोशन राउतको नेतृत्वमा मुकुन्द काफ्ले सहितको विशेषज्ञ टोलीले शनिवारसम्म मुटुको चाल गडबडी सम्बन्धी ५० ओटा उपचार सफलतापूर्वक सम्पन्न गरेको हो । ५० औं केसको सफलतापछि चिकित्सकहरुले अस्पतालभित्रै पत्रकार सम्मेलन गरि यो उपचार प्रबिधिबारे जानकारी दिए ।

मुटुको चाल गडबडी सम्बन्धी सबैखाले उपचार गर्ने थ्रीडी म्यापिङ सहितकको अत्याधुनिक मेसिन हृयाम्समा जडान भएको छ । यहि मेसिनमार्फत मुटुको चाल सम्बन्धि साधारण देखि जटिल सबै खाले उपचार गर्न सकिने डा.राउतले बताए ।

जटिल प्रकारको उपचारका लागि भारतबाट प्राबिधिकहरु समेत बोलाइने गरेको उनले बताए । थ्रीडी म्यापिङ सहित अध्याधुनिक मेसिन चलाउन नेपालमा दक्ष प्राबिधिक पनि उत्पादन गर्न लागिएको हृयाम्सका मेडिकल डाइरेक्टर डा.भाष्करराज पन्तले बताए ।

नेपालमा यस्तो उपचारको शुरुवात गंगालालबाट मानवहादुर केसीले गरेका थिए भने अहिले डा.रोशन राउत विशेषज्ञ मानिन्छन् । मुटुको चालमा गडबडी छ कि छैन भन्ने कुरा सामान्य इसिजीबाटै थाहा हुने र त्यसपछि यसको उपचारका लागि गंगालाल वा हृयाम्समा मात्र सम्भव रहेको उनले बताए ।

यस्तो खाले गडबडी देखिएपछि विरामीको खुट्टाबाट तार घुसाएर मुटुमा पुर्‍याइने र त्यसले मुटुको चालमा गडबडी पार्ने तन्तुलाई डढाएर समाप्त पार्ने डा.राउतले बताए । यस्तो प्रविधिबाट उपचार गर्दा छाती चिर्नु नपर्ने र एकपटक उपचारपछि पटक पटक सोही समस्या नदोहोरिने चिकित्सकले बताए ।

मुटुको चाल गडबडी हुने समस्या बच्चादेखि बृद्धसम्म जसलाई पनि हुनसक्ने भन्दै राउतले यो कतिपय वंशाणुगत समस्या समेत रहने गरेको बताए । आफूले २ वर्षदेखि ९० वर्षसम्मका बिरामीको यस्तो उपचार गरेको उनले जानकारी दिए ।

हृयाम्सका अध्यक्ष आर एस भण्डारीले मुटुको चाल गडबडी सम्बन्धी अत्याधुनिक प्रबिधिबाट उपचार गर्ने विशेषज्ञ डाक्टर नेपालमा डा.रोशन राउतमात्र रहेकाले यो उपचारलाई अस्पतालले प्राथमिकता दिएको बताए । यस्तो रोगको उपचार गर्न ७० हजारदेखि २ लाख रुपैयाँसम्म खर्च हुने राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment