
१ असार, काठमाडौं । वाइडबडी प्रकरणबारे बेलाबखत विरोधाषपूर्ण अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही विषयमा फेरि मुख खोलेका छन् ।
यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बचाऊ गर्दै बोल्ने क्रममा प्रधानमन्त्री ओलीले तत्कालीन मन्त्री अधिकारी निर्दोष रहेको बताएका थिए । छानविन हुँदै गरेको विषयमा प्रधानमन्त्रीले कसैलाई दोषी वा निर्दोष किटान गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो ।
यसै सन्दर्भमा युरोप भ्रमणबाट फर्केका प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलमा आइतबार पत्रकारले वाइडबडीबारे टुच्च प्रश्न सोधिहाले । जवाफमा उनले कसैलाई दोषी वा निर्दोष भनेनन्, बरु छानबिन भइरहेको विषयमा आफूले नबोल्ने बताउँदै सन्तुलित हुने कोसिस गरे ।
‘वाइडबडी चैं छानबिन हुँदैछ । छानबिन हुँदै गरेका कुरामा मैले धेरै के भनौं ?’ प्रधानमन्त्री ओलीले भने, ‘गैरजवाफदेही पाराले बढ्यो भ्रष्टाचार, फलानाले खायो, भनिँदैछ । तर, मैले परिणाम नआइकन कसैका बारेमा भन्न मिल्दैन ।’
प्रधानमन्त्रीले थपे, ‘छानबिन हुँदैछ, जो दोषी छ, ऊ उम्किन पाउँदैन । दोषीमाथि कारबाही हुन्छ ।’
‘हाम्रा जहाज युरोपियन आकाशमा उड्नेछन्’
फ्रान्सले आफ्नो आकाशमा नेपाली विमानलाई उड्न प्रतिबन्ध लगाएको धेरै समय बितिसकेको छ । यसअघि डाबोस गएका बेला प्रधानमन्त्री ओलीले स्विटजरल्याण्डबाटै फ्रान्सलाई प्रतिबन्ध हटाउन आग्रह गरेका थिए । फ्रान्सले नेपाललाई विमान चाहिँ बेच्ने, तर त्यही विमान उसको आकाशमा उड्न अयोग्य छ भन्नु न्यायोचित नहुने प्रधानमन्त्री ओलीको तर्क थियो ।
यसपटक फ्रान्सको औपचारिक भ्रमणमा भएका बेला प्रधानमन्त्री ओली यो प्रतिबन्ध फुकाउने अनुमान गरिएको थियो । तर, प्रधानमन्त्रीको भ्रमणमा यसबारेमा फ्रान्ससँग कुराकानीसम्म भएता पनि कुनै औपचारिक सहमति भएन ।
तथापि प्रधानमान्त्री ओलीले युरोपको आकाशमा नेपाली विमानहरु उड्ने आश्वासन दिएका छन् ।
आइतबार विमानस्थलमा प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा जहाजहरु युरोपियन आकाशमा उड्नेछन् । विश्वका जुनसुकै आकाशमा पनि उड्ने छन् । त्यो उड्ने प्रवन्धका लागि हामी तयारी गर्दैछौं । यसपल्ट पनि हामीले गम्भीरताका साथ कुरा उठायौं ।’
यो पनि पढ्नुस्–
प्रतिक्रिया 4