Comments Add Comment

नेपाली गोल्ड स्टारको अस्ट्रेलिया यात्रा

सिड्नी । नेपाली ब्राण्डको गोल्ड स्टार जुत्ता सोमबार सिड्नी बन्दरगाहमा आइपुगेको छ । काठमाडौंबाटकलकत्ता हुँदै सिड्नी आइपुग्न नेपाली गोल्ड स्टार जुत्ताले  करिब डेढ महिना लामो समुद्री यात्रा गर्नुपर्यो । केहि महिना अघि सिड्नी आइपुगेको नेपाली बाँसको मुडालाई पनि तेत्तिनै समय लागेको थियो । बाँसको मुडाको कथा अर्को पटक लेखौला, यसपटक भने नेपाली गोल्ड स्टारको अस्ट्रेलिया यात्रा ।

कथा सुरु हुन्छ मित्रताबाट

प्रदिप, रयिस र रोशनको मित्रता नेपालबाटै थियो । प्रदिप र रोशन सन् २००७ मा अस्ट्रेलिया आएका भएपनि २००९ मा रयिस सत्याल अस्ट्रेलिया आएपछि उनीहरुको मित्रता झन् गाढा भयो । प्रदिप साह सुढ़ी र रयिस सत्याल  त एउटै घरमा पाँच बर्षसंगै बसे । अस्ट्रेलिया आएको पहिलो दिन उनीहरुले कुन जुत्ता लगाएका थिए ?

त्यो त अहिले सबैले बिर्से तर सबैको साझा कुरा चाहिँ के छ भने उनीहरु ब्रान्डेड जुत्ताका पारखी भने पक्कै थिए । सबैलाई नयाँ नयाँ ब्राण्डका जुत्ता लगाउन मन थियो । “हामीलाई नयाँनयाँ ब्राण्डका जुत्ता एक्सप्लोर गर्न मन लाग्थ्यो” अब  अस्ट्रेलियामा नेपाली ब्रान्डेड जुत्ताको ब्यापार सुरु गर्ने जमर्कोमा रहेको श्रीगणेश ग्रुप अस्ट्रेलियाका निर्देशक प्रदिपले आफ्नो नयाँ व्यापारको कथा सुरु गर्दै भने ।

पेट्रोल पम्प छोडी जुत्ता ब्यापारमा

श्रीगणेश ग्रुपका अर्का निर्देशक रयिस सत्याल सन् २०१७ मा व्यापारको शिलशिलामा कुइन्स्ल्यान्ड राज्यको टायारो गएका थिए । त्यहाँ उनी पेट्रोल पम्प चलाएर बसेका थिए । ब्यापार राम्रै थियो तर, साथी र नेपाली समाजबाट टाढा भएको महसुस भयो ।

एक भेटमा उनले आफ्ना मित्रहरुसँग नेपाली जुत्ताको ब्यापार गर्ने प्रस्ताव ल्याए । उनका अरु दुइ साथीलाई मन पर्यो र कम्पनि निर्माण गरि अघि बढे । उनीहरुले रोजे – नेपाली जुत्ता गोल्ड स्टार ।

अस्ट्रेलियामा कम्पनी बनाए पनि नेपालमा फ्रान्चइज लिन उनीहरुलाई पाँच महिना लाग्यो । अस्ट्रेलियाबाट अरुले पनि बेला बेला सोधपुछ गर्ने तर, अगाडि नबढ्ने भएकाले यो टिमले विस्वास आर्जन गर्न समय लाग्यो । अस्ट्रेलियामा नेपाली ब्राण्डको ब्यापारबारे करिब डेढ बर्ष अनुसन्धान गरिसकेका युवाहरुले अन्तत गोल्ड स्टारको अस्ट्रेलिया बिक्रेताको आधिकारिक मान्यता प्राप्त गरे ।

गोल्ड स्टारको कन्टेनर सिड्नी पुग्यो

गत फेब्रुअरीमा आधिकारिकता पाए पनि गोल्ड स्टार जुत्ताको पहिलो ठुलो कन्टेनर समुद्री बाटोबाट जुन १७ मा सिड्नी पोर्टमा आइपुगेको छ । निर्देशक प्रदीपकाअनुसार जम्मा ४ हजार ५ सय जोर जुत्ता यसपटक अस्ट्रेलिया ल्याइएको हो । यहाँको क्वारेन्टाइनबाट आवश्यक प्रक्रिया पुरा भएपछि यसै हप्ता आफूहरुले कन्टेनर बुझ्ने निर्देशक प्रदीप शाहले बताए ।

“हामी धार्मिकतामा पनि विश्वास गर्छौं, त्यसैले जुन १७ मा हाम्रो सामान पुगेपनि हामी अन्तिम हप्ता मात्रै आधिकारिक शोरूम उद्घाटन गर्छौं ।” अर्का निर्देशक  रयिसले भने  ।  नेपालीहरुको बाक्लो बस्ती भएको रक्ड़ेलमा आधिकारिक शोरूम खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ । जुन २९ मा सिड्नीका उद्घाटन गर्ने लक्ष छ ।

गोल्ड स्टारको अस्ट्रेलियन मूल्य

अस्ट्रेलियामा नेपाली गोल्ड स्टार जुत्ताको मूल्य कति पर्ला ? महिला, पुरुष र बच्चाहरुका लागि बिभिन्न साइज र स्वोरुपका जुत्ताको मूल्य २९।९९ अस्ट्रेलियन डलर देखि ५९।९९ अस्ट्रेलियन डलरसम्म राखिएको छ । तर, सुरुको चरणमा दुई जोर जुत्ता किन्दा २० अस्ट्रेलियन डलर छुटको ब्यबस्था गरिएको छ ।

अस्ट्रेलियामा नेपाली जुत्ता लगाउने बानी बनाउन “हाइकिंङ  नेपाल” नामक अभियान पनि सुरु गरिने प्रदीप साहले बताए । भिजिट नेपाल २०२०को प्रबर्दनलार्इ समेत ध्यानमा राखेर अभियान गरिने उनले बताए । सिड्नीमा ब्यापारलार्इ बिस्तार गर्न बरूढ़ वा पारामात्ताको वेस्टफिल्ड सुपरमार्केटमा आउटलेट खोल्ने तयारी रहेको उनको भनाइ छ ।

टाउकाले टेकेर पनि जुत्ता ल्याउछौं

पहिलो लटको जुत्ता बजारमा जाँदै गर्दा केहि हवाई जहाजबाट पनि मगाउने र त्यसपछि पानीजहाजबाट पनि मगाउने उनीहरुको लक्ष्य छ । आगामी दशैं तिहारलाई लक्षित गरेर अस्ट्रेलियाका अन्य राज्यहरुमा पनि ब्यापार बिस्तार गर्ने योजनामा रहेका प्रदिप भन्छन्– हामी नयाँ भएपनि गोल्ड स्टार ब्राण्ड पुरानै हो । टाउकाले टेकेर भएपनि अस्ट्रेलियामा हुने यो जुत्ताको मागलार्इ पुरा गर्छौं  ।’

अस्ट्रेलियामा एक लाख बढी नेपाली मात्रै होइन, नेपाली ब्राण्डलाई माया गर्ने लाखौं अस्ट्रेलियन पनि भएकाले यो जुत्ताको माग बढ्ने आफ्नो अनुसन्धानले देखाएको उनले बताए ।  “नेपाललाई नबिर्सने र नेपाली उद्योगलाई अन्तर्रास्ट्रिय बजारबाट टेवा पुर्‍याउने हाम्रो लक्ष हो” निर्देशक प्रदीप साह आफ्नो ब्यवसायको नेपाल नाता जोड्दै भन्छन्, हामी टिम अफ ट्यालेन्ट जम्मा भएर नेपाली ब्राण्ड बिदेशमा स्थापित गर्न लागेका छौं । केहि दिन सुरु गरेर बिचमा स्थगित गर्ने हाम्रो योजना होइन ।’

हुन पनि चलेको पेट्रोल पम्पको ब्यापार छोडेर रयिस सत्याल, डार्लिंगहार्बरमा नेपाली कपडा निर्यात गरेर ब्यापार गरिरहेका रोशन कायस्थ र फुल टाइम एकाउन्टेन्टको जागिर छोडेर प्रदीप साह सुढ़ी गोल्ड स्टारको अस्ट्रेलिया यात्राका व्यापारिक सहयात्री बनेका छन् । उनीहरुको अस्ट्रेलिया आगमन र संघर्षको आफ्नै एक दशक लामो कथा छ तर, भन्छन्, खास संघर्ष त अब सुरु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment