३ असार, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेकाहरुलाई विदेशमै पुनः श्रम स्वीकृति (रि-इन्ट्री) को सुविधा दिने गरी तयारी थालेको छ । यसका लागि वैदेशिक रोजगार विभागले पेमेन्ट गेट-वे परीक्षण लगायतका तयारी गरिरहेको छ ।
विदेशमा श्रम अवधि सकिएर वैधानिकताका लागि नेपाल नै फर्किनुपर्ने समस्या केही समयभित्रै समाधान हुने विभागले जनाएको छ । कामदारले दुई पटकसम्म विदेशस्थित नेपाली दूतावास र नियोगबाटै श्रम रि-इन्ट्रीको सुविधा पाउनेछन् ।
आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय बस्नेहरुलाई अब सरकारले विदेशस्थित राजदूतावास र कुटनीतिक नियोगहरुमार्फत नै श्रमको रि-इन्ट्रीको व्यवस्था गर्न लागिएको विभागमा महानर्देशक भीष्मकुमार भुसालले अनलाइनखबरलाई जानकारी दिए ।
‘कामदारलाई सहज होस् भनेर यस्तो व्यवस्था गर्न लागिएको हो,’ उनले भने, ‘यो व्यवस्था कार्यान्वयनका लागि विभिन्न तयारी अघि बढाएका छौं ।’
विभागका अनुसार यो कामका लागि विदेशस्थत कुटनीतिक नियोगहरुमा थप जनशक्ति आवश्यक पर्छ । यसका लागि परराष्ट्र मन्त्रालयसँग पनि छलफल अघि बढाएको उनले बताए ।
वैवेशिक रोजगार कल्याणकारी कोष र बीमाका लागि तिर्नुपर्ने शुल्क पनि विदेशबाटै भुक्तानी गर्न सकिने व्यवस्था गर्न लागिएको विभागले बताएको छ । यसका लागि विभिन्न मोबाइल वालेटलाई प्रयोग गर्न लागिएको छ ।
वैदेशिक रोजगार ऐन संशोधन हुने गरी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम रि-इन्ट्रीको सुविधा दिन सकिने व्यवस्था गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएर आएपछि गोकर्ण बिष्टले यो व्यवस्था गर्न अग्रसारता देखाएका हुन् । ‘धेरै पटक विदशेबाटै रि-इन्ट्री दिँदा कामदार स्वेदेश नै फर्किन नचाहने पनि हुन सक्छ । त्यसैले सबै पक्षलाई हेरेर दुईपटक मात्रै यस्तो सुविधा दिइएको हो,’ श्रम मन्त्रालयका एक अधिकारीले भने ।
यो व्यवस्थापछि घरेलु कामदारका रुपमा विदशेमा अवैधानिक रुपमा बसिरहनु परेकाहरुलाई पनि सहज हुनेछ । सरकारले विदेशमा नै श्रम रि-इन्ट्रीको व्यवस्थाका लागि २ वर्ष अघि नै गृहकार्य गरेको थियो । तर, सफल हुन सकेका थिएन ।
यो पटक भने श्रममन्त्री बिष्टले यो विषयलाई टुंगोमा पुर्याउने गरी कानुन संशोधन टुंग्याउने तयारी गरेका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4