Comments Add Comment

देउवा आफैं वेल घेर्न आउँदा आश्चर्य लाग्यो : प्रधानमन्त्री

३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसमाथि संसदमा असंसदीय र अमर्यादित व्यवहार देखाएको आरोप लगाएका छन् ।

मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा कांग्रेस सांसदहरुले अवरोध गरेका थिए । विपक्षी दलका नेताले बोलेपछि प्राधनमन्त्रीले जवाफ दिनुपर्ने कांग्रेसको माग थियो ।

विपक्षीको अवरोधका कारण संसदलाई सम्बोधन गर्न नपाएका प्रधानमन्त्री ओलीले साँझ पत्रकार सम्मेलन गरी संसदमा कांग्रेसले बालहठ देखाएको आरोप लगाए ।

पहिले प्रधानमन्त्री, त्यसपछि विपक्षी दलका नेता र वरियताक्रमअनुसार अरुले बोल्ने भन्दै उनले भने, ‘मलाई आश्चर्य लाग्यो मेरा मित्र, शेरबहादुर देउवाजी आफैं प्रधानमन्त्रीले होइन, मैले पहिला बोल्नुपर्छ भनेर वेल घेर्न नेतृत्व गर्नुभयो । आश्चर्यतकित भएँ म, उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने हो ।’

संसदमा बोल्न नपाएको विषय बोल्ने नभई संसदमा भएको अमर्यादित क्रियाकलाप र यसले गरेको संकेतबारे देशबासीका ध्यानाकर्षण गराउन चाहेको उनले बताए ।

अहिले गणतन्त्र, संघीयता, जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी भएको उनले बताए । यसप्रति सहज हुनुपर्ने लोकतान्त्रिक शक्तिहरुको एकता एकता विथोल्न कांग्रेस नै अग्रसर भएको देख्दा आश्चर्य लागेको उनले बताए ।

प्रगतिशील शक्तिमाथि प्रतिबन्ध लगाउने र प्रतिकृयावादी शक्तिसँग मिल्ने नीतिकै कारण ०१७ सालको घटना भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘आज जुन प्रवृत्ति देखा गरेको छ, यसले लोकतन्त्रिक अभ्यास अगाडि जान सक्दैन । यो बहुत गम्भीर अवस्था हो ।’

उनले जनताको बलिदानबाट प्राप्त उपलब्धीको रक्षा गर्नु सबैको साझा दायित्व भएको उनले बताए ।

संसदमा कांग्रेसले गरेको अवरोधबारे प्रधानमन्त्री ओलीको प्रतिक्रिया उनकै शब्दमा–

देउवाजीलाई संसदीय मर्यादा थाहा हुनुपर्ने

आज संसदमा अत्यन्तै असंसदीय, अमर्यादिन प्रकारको व्यवहार र त्यस व्यवहारले अकारण संसद स्थगित हुने अवस्था बन्यो । दुनियाँको लोकतान्त्रिक अभ्यासमा, लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेका बखत संसदलाई विभिन्न विषयहरुमा सरकार दृष्टिकोणहरुबारे जानकारी गराउने र विभिन्न निर्णयहरुबारे, विभिन्न गतिविधहरुबारे जानकारी गराउने अभ्यास हुन्छ ।

प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र प्रधानमन्त्रीले लिएको समयभन्दा पहिले आफूले बोल्नुपर्छ भन्ने त्यस्तो बालहठ लोकतन्त्रमा कहीँ पनि हुँदैन । तर, आश्चार्यलाग्दो गरी आज अगाडिदेखि तय भएको प्रधानमन्त्रीले सम्वोधन गर्ने भन्ने ११ बजेको समयमा पहिले आफूले बोल्न पाउनुपर्छ भनेर नेपाली कांग्रेसले अड्डी लियो । अड्डीमात्रै पनि लिएन, प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि वेलमा गएर संसदको काम कारवाहीलाई अवरुद्ध गर्‍यो ।

विषय केही पनि थिएन । कुनै विषयमा मतभेद पनि होइन । लोकतान्त्रिक अभ्यासमा अरुले बोल्नुपर्दा पहिले प्रधानमन्त्रीले, त्यसपछि विपक्षी दलको नेताले त्यसपछि बरियताक्रम अनुसार बोल्ने प्रचलन विश्वव्यापी प्रचलन हो । यो जहाँ पनि हुन्छ । तर, हरेक क्षेत्रमा निहुँ खोज्ने त्यस उद्देश्य अन्तरर्गत नेपाली कांग्रेसको, मलाई आश्चार्य लाग्यो ।
मेरा मित्र, लामो समयदेखिका मित्र लोकतान्त्रिक आन्दोलनमा पनि अलि लामै समयदेखि साथै रहेका मित्र शेरबहादुर देउवाजी आफैं नेतृत्व गरेर प्रधानमन्त्रीले होइन, मैले बोल्न पाउनुपर्छ पहिले भनेर बेल घेर्ने काममा नेतृत्व गरेर अगाडि जानुभयो वेलमा । आश्चार्यचकित भएँ म । वहाँलाई संसदीय मर्यादा त्यति थाहा हुनुपर्ने ।

जे होस् संसद अवरुद्ध भयो । तर, यसको अर्थ यो होइन कि संसदमा बोल्न खोजेको, चाहेको कुरा मैले संसदमा बोल्न नपाएपछि । पत्रकार सम्मेलन गरेर बोल्न खोजेको होइन । संसदमा जो असंसदीय गतिविधि भयो, अमर्यादित क्रियाकलाप भए । र, त्यसले संकेत गरेका पक्षहरुतर्फ ध्यानाकर्षग गर्न गर्न खोजेको । संसदमा बोल्नुपर्ने विषय समयक्रममा फेरि बोलिने नै छ ।

म सम्झिन्छु, कस्ता कस्ता मान्छेहरु छन् आन्दोलनमा त्यो भन्न चाहन्न । कति गुठीको माया गर्ने, कति संस्कृतिको, कति परम्पराको माया गर्ने मान्छेहरु छन ? यसै देशमा मध्यरातमा क्रेन लिएर गएर सिंगै मूर्ति भक्तपुरको चोकैमा मर्काको पनि सम्झना आउँछ । यो त त्यही देश होला । जहाँ जनताले रक्षा गर्नुपर्‍याथ्यो । यस देशमा कति मूर्तिहरु हराए ? तिनीहरु हराउन नपाउन्, गायव हुन नपाउन् हाम्रा धरोहरहरु, हाम्रा संस्कृतिहरु हाम्रा सभ्यताहरु सुरक्षित, संरक्षित हुन सकुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment