Comments Add Comment

टी-२० महिला क्रिकेटमा अनौठो रेकर्ड : ७ रनको लक्ष्य ४ बलमा पूरा

Photo Credit : Jejje Muhinde

४ असार, काठमाडौं । इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा इयोन मोर्गनले छक्का बर्साइरहेको बेला त्यही समयमा अफ्रिकामा आयोजित टी-२० महिला क्रिकेटमा भने मालीको विकेट पतझडसरह पतन भइरहेको थियो ।

क्विबुका महिला टी-ट्वान्टी टुर्नामेन्टअन्तर्गत मंगलबार किगाली सिटीमा माली र रुवान्डाको प्रतिस्पर्धा थियो । यो प्रतिस्पर्धामा मालीको महिला टिमले सबैभन्दा कम स्कोरको रेकर्ड बनायो । २० ओभरको खेलमा मालीले जम्मा ६ रन जोड्यो । नौ ओभरमा अलआउट भएको मालीले एक रन मात्र ब्याटिङमार्फत पायो । बाँकी ५ रन अतिरिक्त रनको रुपमा उसको खातामा गयो ।

ओपनर मरियम समाकेले मात्र एक रन बनाइन् । अरु सबै शून्य रनमा आउट भए ।

अन्तर्राष्ट्रिय टी-२० महिला क्रिकेटमा कुनै पनि टिमले दोहोरो अंकको स्कोर बनाउन नसकेको यो पहिलो रेकर्ड हो । क्रिक इन्फोको रेकर्डअनुसार यसअघि कम स्कोरको रेकर्ड चीनको महिला टिमले बनाएको थियो, जसले यसै वर्षको जनवरी महिनामा युएईविरुद्ध केबल १४ रनको स्कोर बनाएको थियो ।

रुवान्डाकी जोसियाने न्यारिनकुंदिनेजाले एक रन पनि नखर्चिएर तीन विकेट झारिन् । तीव्र बलर मेरी विमेनयिमाना र लेग स्पीनर मार्केयुरेटी वुमिलियाले दुई-दुई विकेट लिए ।

मालीले दिएको ७ रनको विजय लक्ष्य रुवान्डाले एक विकेट पनि खर्च नगरी केबल ४ बलमा हासिल गर्‍यो । रुवान्डाले महिला टी-२० क्रिकेटको इतिहासमा सबैभन्दा धेरै बल बाँकी छँदै जित हासिल गरेको रेकर्ड आफ्नो नाममा पार्‍यो । रुवान्डाले जित हासिल गर्दा उसको इनिङमा ११६ बल बाँकी नै थियो ।

यो पनि पढ्नुहोस इंग्ल्याण्डको फराकिलो जितमा बने नयाँ-नयाँ कीर्तिमान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment