Comments Add Comment

विद्यार्थीको कोटा बढाइदिन वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग

४ असार, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियारले विद्यार्थीहरुको सिट संख्या बढाइदिन माग गरेका छन् ।

चिकित्सा शिक्षा ऐन आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस पढ्ने विद्यार्थीहरुको कोटा एक सय ५० बाट एक सयमा झारिएको थियो ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा उपकुलपति रौनियारले २५० सिट पुर्‍याउन माग गरे । उनले भने, ‘हाम्रो भौतिक संरचना, जनशक्ति लगायतका हिसाबले हामी सक्षम छौं । दुई सय ५० सिटसम्म हामी सजिलै जान सक्छौं ।’

बैठकमा समिति सदस्य उमेश श्रेष्ठले पनि सक्षम मेडिकल कलेजहरुका हकमा सिट संख्या बढाउनु उपयुक्त हुने बताए । जति धेरै सिट दिन सक्यो उति धेरै विद्यार्थी विदेश पढ्न जान रोकिने र मेडिकल कलेजहरु पनि आर्थिक रुपमा सक्षम हुने उनको भनाइ थियो ।

शुल्क र सिट संख्या घटाएर मात्रै गुणस्तरीय शिक्षा दिन नसकिने उल्लेख गर्दै उनले भने, ‘शिक्षाका लागि विदेशिने अबौर्ं रकम रोक्न पनि भौतिक संरचना, जनशक्ति र पूर्वाधार भएका कलेजहरुलाई चलाउन सक्ने जति सिट उपलब्ध गराउनुपर्छ ।’

उपसमितिले बुधबार मेडिकल कलेजले लिइरहेको शुल्कका विषयमा छलफल गर्न प्रतिष्ठानका उपकुलपति रौनियारलाई बोलाएको हो । छलफलमा उपकुलपति रौनियारले आफुहरुले सरकारको तोकेको भन्दा बढी शुल्क नलिएको दाबी गरे ।

०७५ असोज २८ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार मेडिकल कलेजहरुले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह र एमबीबीएसका लागि एक जना विद्यार्थीसँग उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार शुल्क लिन पाउँछन् ।

छात्रवृत्ति पाएका नेपाली विद्यार्थीसँग छात्रावास शुल्कसमेत गरी ४ वर्षका लागि ८ लाख ५० हजार, अन्यलाई ४२ लाख ५० हजार र विदेशी विद्यार्थीसँग १४ हजार ५ सय डलर लिने गरिएको रौनियारले जानकारी दिए ।

विद्यार्थीहरुलाई समावेशी कोटा समेत छुट्याइएको र त्यो आफ्नो कलेजले मात्रै गरेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment