
४ असार, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डवीच प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक परिस्थितिबारे बुधबार छलफल हुँदैछ ।
अध्यक्षद्वयवीच पार्टी एकतासम्बन्धी थाती रहेको विषयमा छलफल हुने पार्टीनिकट स्रोतले बतायो । यसअघि जिल्ला ईञ्चार्ज र सहइञ्चार्जहरुको जिम्मेवारी बाँडफाँट नटुंग्याइकन प्रधानमन्त्री युरोप गएका थिए । युरोपबाट फर्किएपछि त्यसलाई टुंगो लगाउने भन्दै नेकपाको सचिवालय बैठक विना निश्कर्ष स्थगित भएको थियो ।
जिल्ला इञ्चार्ज र सहइञ्चार्जहरुका साथै केन्द्रीय विभागहरुको गठन पनि बाँकी नै छ । यी विषयहरुमा बुधबार दुई अध्यक्षले छलफल गर्ने र त्यसपछि सचिवालय बैठक बोलाइने नेकपा स्रोत बताउँछ ।
अध्यक्षद्वय ओली र प्रचण्डवीच पार्टीका आन्तरिक विषयका साथै देशमा देखा परेको राजनीतिक परिस्थितिका विषयमा पनि छलफल हुने बुझिएको छ । मंगलबार आरक्षण पक्षधरहरुसँगको कुराकानीमा प्रचण्डले लोकसेवाको विज्ञापन खारेजीको विषयमा पनि कुराकानी गरिने र यो विषय सचिवालयमा पनि उठ्ने बताएका थिए ।
लोकसेवाले खोलेको स्थानीय तहको कर्मचारी भर्ना सम्बश्न्धी विज्ञापन खारेज हुनुपर्ने लाइनमा प्रचण्ड छन् भने प्रधानमन्त्री ओली यसलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।
त्यसो त नेकपाभित्र प्रधानमन्त्री युरोपबाट फर्किएपछि केही मन्त्रीहरु हेरफेर गरिने चर्चा पनि चलेको छ । तर, यस्तो चर्चा धेरै अगाडिदेखि चले पनि प्रधानमन्त्री र प्रचण्डवीच मन्त्रिहरुको हेरफेरबारे अहिलेसम्म छलफल नभएको स्रोत बताउँछ ।
प्रतिक्रिया 4