Comments Add Comment

प्रधानमन्त्रीले जहिल्यै हेप्ने काम गरे, यो मान्दैनौं : देउवा

४ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बल मिच्याई नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । साथै मंगलबार प्रधानमन्त्रीले जबरजस्ती बोल्न खोज्दा आफूहरुले संसद अवरुद्ध गर्नु परेको उनले बताए ।

बुधबार संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सभापति देउवाले सदन प्रतिपक्षको पनि हो भन्ने नभुल्न आग्रह गरे । ‘हिजो मैले समय मागिसकेको थिएँ । प्रधानमन्त्रीले समय माग्नुभएछ,’ उनले भने, ‘मेरो जवाफ दिन पाउनु हुन्थ्यो ।’

प्रतिपक्षले पहिले बोल्ने र सत्तापक्षले जवाफ दिने संसारभर प्रचलन रहेको भएपनि प्रधानमन्त्री जबरजस्ती बोल्न खोज्दा विरोध गर्नु परेको उनले स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्री बोल्ने भएपछि कोही बोल्न पाइन्न । यस्तो पनि कहीँ हुन्छ ?’

उनले अघि भने, ‘यो बल मिच्याई चल्दैन ।’

विपक्षीको काम नै बोल्ने भएको भन्दै उनले विपक्षीले माग गर्दैमा नडराउन आग्रह गरे । देउवाले बैठकमा भने, ‘मैले माग गर्ने हो । गुठी विधेयक मात्र होइन, मेरो अरु पनि माग छ । शेरबहादुरले माग्यो, मैले दिनु पर्‍यो भन्ने ? डराई हाल्नुपर्ने ?’

उनले प्रधानमन्त्री ओलीमाथि विपक्षी दलको नेता बोल्दा संसदमा उपस्थित हुने परम्परा तोडेको आरोपसमेत लगाए । विपक्षी दलका नेता देउवाले भने, ‘प्रधानमन्त्री बोल्दा विपक्षी नेता आउनुपर्छ । विपक्षी बोल्दा प्रधानमन्त्री आउनै पर्छ । तर यहाँ उसले जहिले पनि हेप्ने काम गरेको छ । यो मान्दैनौं ।’

गुठी विधेयक फिर्ता ‘सकारात्मक’, अरु विधेयक पनि फिर्ता लिन माग

कांग्रेस सभापति देउवाले गुठी विधेयक फिर्ता लिनु सकारात्मक भएको बताएका छन् । तर संसदमा दर्ता भएको विधेयक बाहिरबाट फिर्ता लिनु गलत भएको उनले बताए ।

देउवाले मिडिया काउन्सिलसम्बन्धी विधेयक, सूचना प्रविधि विधेयक मानवअधिकार आयोगसम्बधी विधेयक र सुरक्षा परिषदसम्बन्धी विधेयक पनि फिर्ता लिन माग गरे ।

मिडिया काउन्सिल विधेयक, प्रेस मात्र नभई लोकतन्त्रमाथि नै आक्रमण भएको उनले बताए । मिडियाले आफ्नो विपक्षीमा लेख्छ कि समर्थनमा भन्ने हेर्न नहुने भन्दै उनले भने, ‘जनता र पाठकले जज गर्ने हो । प्रेससित डराउने किन ?

स्वतन्त्र रहनु पर्ने मानवअधिकार आयोगलाई महान्यायाधिवक्ता मातहत राख्न खोज्नु गलत भएको उनले बताए । आफैं मन्त्री तथा सचिवलाई अविश्वास गर्ने गरी सुरक्षा परिषद विधेयक आएको र सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने भन्दै उनले कुनै हालतमा पास हुन नदिने बताएका छन् ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको युरोप भ्रमणमा देउवाको टिप्पणीः राष्ट्रपतिले भेट दिएनन्, ‘ह्वाइट’हरुले सलाम गर्न मानेनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment