Comments Add Comment

फ्रिजमा विद्युत सर्ट हुँदा जले जनकपुरका ३ होटल

५ असार, जनकपुरधाम । अत्यधिक गर्मीका कारण तराई मधेसका बासिन्दाले बिहानीपख मात्रै राम्रो निन्द्रामा सुत्न पाउँछन् । बिहीबार बिहान ३ बजेतिर जनकपुरबासी मिठो निन्द्रामा हुँदा ठूलो आवाज आयो जनकपुरधाम उपमहानगरपालिका २ स्थित कदम चोकमा ।

यो बिस्फोटसँगै आगोको ठूलो मुस्लो पनि देखियो । बिस्फोटको आवाज र आगो देखेपछि नजिकै रहेका व्यक्तिहरु दौडिएर घरबाहिर निस्किए । यसपछि लगातार बिस्फोटको आवाज आइरह्यो । पछि थाहा भयो, गोविन्द मिष्ठान भण्डारमा आगलागी भएको रहेछ ।

यो होटलभित्र राखिएका नौ वटा सिलिण्डर क्रमैसँग पड्किए । ग्यास सिलिण्डर बिस्फोट भएर आगलागी हुँदा गोविन्द मिष्ठान भण्डार, जय सियाराम मिष्ठान भण्डार र ठाकुर मिष्ठान भण्डार गरी तीन होटल पूर्ण रुपमा जले ।

गोविन्द मिष्ठान्न भण्डारभित्र ९ वटा ग्यास सिलिण्डर राखिएको थियो । एउटा बिस्फोट भएलगत्तै अरु सिलिण्डर बिस्फोट भएको हो । जय सियाराम मिष्ठान भण्डारका प्रमुख किसनीदेवी साह आफ्नो काखे बच्चासहित जलेको पसल अगाडि चिन्तित मुद्रामा उभिरहेकी थिइन् ।

उक्त आगलागीमा होटलमा रहेको नगद रुपैया, नागरिकता, पासपोर्टसहितका सबै समान जलेर नष्ट भएको ठाकुर मिष्ठान भन्डारकी प्रभादेवी ठाकुरले बताइन् । उनको करिब २ लाख रुपैयाँ नगदै जलेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उक्त आगलागीमा ३२ लाख २३ हजार ८ सय रुपैयाँको क्षति भएको छ । प्रहरी निरीक्षक अशोक झाका अनुसार आगलागीमा पसलका टहरा र सामानहरु जलेका छन् ।

फ्रिजबाट आगलागी

प्रहरीको प्रारम्भिक अनुसन्धानमा होटलमा राखिएको फ्रिजबाट आगो लागेको देखिन्छ । प्रहरी निरीक्षक झाले फ्रिजको तार सर्ट भएर आगलागी भएको बताउँदै त्यहीं आगो फैलिएर सिलिण्डरसम्म पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment