Comments Add Comment

शरीरलाई सरी भनौं !

आफ्नो कारणले अरुलाई असहज भयो भने हामी आफ्नो गल्तीवोध गर्छौ सरी भन्छौं । तर, हामी आफ्नो शरीरलाई भने हेप्छौ । शरीरसँग हामी कति खेलबाड गरिरहेका हुन्छौं, शरीरलाई कति दुःख दिइरहेका हुन्छौं । तर, आफ्नो कारणले शरीरले दुःख पायो भनेर सोच्दैनौं । शरीरप्रति साहनुभूति राख्दैनौ, शरीरलाई आदर गर्दैनौं । आफ्नै शरीर त हो नि भनेर हेलाहोचो गर्छौ ।

वास्तवमा हामीले आफ्नो शरीरलाई सम्मान पनि गर्दैनौ । हाम्रो आफ्नो कारणले शरीरले पीडा भोग्छ, तर हामी त्यसका लागि क्षमा माग्दैनौं ।

जस्तो हामी ठेलामा राखेको चटपटे, पानीपुरी खाइदिन्छौं । फुटपाथमा सजाएको बासी खानेकुरा खाइदिन्छौ । बजारमा सजाइएको जंकफुड खाइदिन्छौ । हामीलाई मिठो लाग्छ त्यही कारण खाइदिन्छौ । तर, त्यसलाई पचाउनका लागि कलेजोलाई समस्या पर्छ । पच्दैन । त्यो विकारको रुपमा शरीरभित्रै रहन्छ । शरीरलाई हानी गर्छ । अब उक्त विकारले शरीरलाई दुःख दिन थाल्छ ।

हामी मदिरा सेवन गर्छौ, चुरोट तान्छौं । त्यसले पनि कलेजो र फोक्सोलाई नराम्ररी क्षति पुर्‍याउँछ । सग्लो कलेजो, सग्लो फोक्सो क्षतिग्रस्त हुन्छ । अब शरीरले सास्ती झेल्न थाल्छ ।

हामी निद्रा लागेपनि सुत्दैनौ, भोक लागेपनि खाँदैनौ । यसले पनि शरीरलाई कष्ट दिलाउँछ ।

हामी व्यायाम गर्दैनौ, ताजा फलफूल खाँदैनौ, श्रम गर्दैनौ यसले पनि शरीरको नियमित कार्यलाई असहज बनाउँछ । शरीरका अंगहरुलाई निस्क्रिय बनाउँछ ।

शरीरलाई किन हेलाहोचो ? 

यी तमाम कुरा हामीले गर्छौ, जसले शरीरलाई दुःख दिइरहेको हुन्छ । शरीरलाई कष्ट दिइरहेको हुन्छ । तर, शरीरले झेल्ने दुःख, कष्ट हाम्रै कारण उब्जिएको हो भन्ने कुरा हामी भुल्छौ । हामीले जानीजानी गर्ने गल्ती, कमजोरीले शरीरलाई दुःख भयो भन्ने कुरा नै ख्याल गर्दैनौ । शरीरलाई हेप्छौ । हेला गर्छौ । त्यही कारण शरीरलाई सरी भन्दैनौ ।

हामीलाई थाहा नभएको होइन कि खराब खानपान, खराब रहनसहनले शरीरलाई हानी गर्छ भनेर । थाहा हुँदाहुँदै पनि हामी यि गल्ती गर्छौं । गल्ती गर्नुको कारण शरीरको भाषा नसुन्नु हो । शरीरलाई उपेक्षा गर्नु हो । शरीरलाई हेला गर्नु हो ।

आफ्नै शरीर त हो

तपाईंलाई लाग्न सक्छ, आफ्नै शरीर हो किन सरी भन्ने ? सही हो शरीर आफ्नै हो । शरीरले झेल्ने दुःख र कष्ट पनि तपाईंले नै बोध गर्ने हो ।

तपाईलाई के पनि लाग्न सक्छ भने आफुले जानीजानी खराब खानेकुरा खाने, खराब काम गर्ने, अनि आफैलाई सरी भन्ने ? यो त मूर्खता हो । शरीरलाई सरी भन्दैमा के हुन्छ ? के सरी भन्दैमा शरीरले क्षमा गर्छ ? शरीरले हाम्रो बोली सुन्छ ? शरीरले हाम्रा गल्तीहरु पखाल्छ ?

पक्कैपनि तपाईंले सरी भन्दैमा तपाईंले माफ पाउने होइन । तर, शरीरलाई सरी भन्ने बानीले तपाईंमा एक किसिमको जागरुकता पैदा गर्छ ।

खराब खानेकुरा खाइरहँदा तपाईंले ख्याल गर्नुहुनेछ कि विचरा शरीरले अब दुःख पाउने भयो । मदिरा सेवन गरिरहेको बेला तपाईंले सम्झनुहुनेछ कि विचरा शरीरले अब कष्ट झेल्नेभयो । यसले तपाईंलाई आत्मसंयम बनाउन सहयोग गर्छ । आत्मअनुशासित बनाउँछ । शरीरलाई स्वास्थ्य र तगडा राख्ने एक मानसिक काइदा हो यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment