+
+

रुपाको नीति तथा कार्यक्रम : युवालाई विनाधितो ऋण, कृषि उत्पादन निःशुल्क ढुवानी

अमृत सुवेदी अमृत सुवेदी
२०७६ असार ८ गते ७:५८

८ असार, पोखरा । कास्कीको रुपा गाउँपालिकाले अर्गानिक खेती गर्ने किसानलाई मात्र अनुदान दिने र ठूलो मात्रामा उत्पादन हुने कृषि उपजको निःशुल्क ढुवानी गरिदिने भएको छ । कृषिलाई विशेष प्राथमिकता दिएर शनिबार सार्वजनिक नीति तथा कार्यक्रममा यस्तो व्यवस्था छ ।

‘बढ्दो किटनाशक औषधी तथा बिषादीको प्रयोगले जनताको स्वास्थ्यमा असर पर्ने भएकाले यस वर्ष अर्गानिक खेती गर्ने किसानलाई मात्र अनुदान दिने व्यबस्था मिलाइने छ,’ गाउँपालिका अध्यक्ष नवराज ओझाले भने, ‘अर्गानिक कृषि उपजको माग पनि बढी हुन्छ । मूल्य पाउन पनि समस्या पर्दैन ।’

गाउँपालिका भित्रका किसानले उत्पादन गरेको उपज बजारसम्म पुर्‍याउन समस्या नहोस् भनेर गाउँपालिकाका ३ ठाउँमा कोल्डस्टोर निर्माणाधीन छ । ढुवानी भाडामा समस्या नपरोस् र उत्पादनमा आधारित कृषक समूह, सहकारी र फर्मले उत्पादन गरेका ठूलो परिणामका उपज निःशुल्क बजारसम्म ढुवानी गरिदिने भएको छ ।

‘मासिक २ हजार केजीभन्दा माथि लाग्ने तरकारी तथा फलफूल र २ हजार ५ सय लिटरभन्दा बढी दूधको ढुवानी खर्च गाउँपालिकाले नै व्यहोर्ने व्यवस्था मिलाइने छ,’ अध्यक्ष ओझाले भने । गाउँपालिकाले जग्गा चक्लाबन्दी गर्नको लागि ५० प्रतिशत अनुदान दिने भएको छ । चक्लाबन्दी गरेको जग्गामा अनिवार्य ब्यावसायिक खेती गर्नुपर्ने र बाँझो जग्गालाई डबल कर लिने नीति गाउँपालिकाको छ ।

गाउँपालिकामा मोडेल बगैंचा र हरेक वडामा नर्सरी केन्द्र

गाउँपालिकाभित्र व्यवसाय गर्न चाहने युवालाई विना धितो न्यून ब्याजदरमा सामूहिक ऋण दिने नीति रुपाले लिएको छ । पेशाअनुसारको तालिम तथा सीपको विकास गरी विना धितो ऋण दिने कार्यक्रमले विदेशिएका युवाहरुलाई स्थानीयस्तरमा पेशा तथा व्यवसाय गर्न सहज हुने गाउँपालिकाको विश्वास छ ।

गाउँपालिकाले आगामी वर्षदेखि नै माटो परीक्षण र वातावरण अनुकूल बाली विज्ञको सुझावअनुसारको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमलाई अगाडि बढाउने भएको छ । बीउ बिजन उन्नत जातको प्रयोग गरी ‘एक वडा, एक नर्सरी केन्द्र’ विकास गर्ने कार्यक्रम पनि रुपाले ल्याएको छ । रुपा गाउँपालिकाले एउटा मोडेल बगैंचा बनाउने भएको छ । कम्तिमा ३ हजार बोटको फलफूल बगैंचा आगामी वर्ष नै निर्माण गर्ने गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।

१५ शैयाको अस्पताल, निःशुल्क एम्बुलेन्स सेवा

रुपा गाउँपालिकाले १५ शैयाको अस्पताल बनाउने भएको छ । आगामी वर्ष नै विशेषज्ञ सेवासहितको अस्पताल चलाउने गरी रुपा गाउँपालिकाले कार्यक्रम ल्याएको छ । ‘आगामी वर्ष रुपाबासी अस्पतालको सेवा लिन बजार जान नपर्ने गरी विशेषज्ञसहितको  वडा नं. ६ को रुपाकोट स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गरी १५ शैयाको अस्पताल सञ्चालन गरिनेछ,’ अध्यक्ष ओझाले भने, ‘रुपाबासीले घरबाट बाटोसम्म विरामी पुर्‍याउनका लागि समस्या नहोस् भन्ने उद्देश्यले एक टोल विकास संस्था, एक स्टे्रचरको व्यवस्था गर्ने नीति लिएको छु ।’

गाउँपालिकाले एम्बुलेन्सको ब्यवस्था गर्ने र गाउँपालिकाका स्वास्थ्य चौकीबाट गाउँपालिकाको अस्पतालसम्म पुर्‍याउनको लागि ५० प्रतिशत अनुदान दिने र गाउँपालिकाको अस्पतालमा उपचार हुन नसकेमा अस्पतालबाट पोखरासम्म सहज रुपले पुर्‍याउनको लागि निःशुल्क एम्बुलेन्स सेवा दिने व्यवस्था गर्ने भएको छ ।

वडा नम्बर १ मा अन्तर्राष्ट्रिय बिच भलिबल कोर्ट

रुपा गाउँपालिका सबै विद्यालयबाट उत्पादित शैक्षिक जनशक्ति विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएका उत्पादन गर्न, समयानुकुल कम्प्यूटर शिक्षा दिनुको साथै सबै विद्यालयमा डेडिकेटेड इन्टरनेट सेवा जोडिने भएको छ । ३ स्थानमा बहुउद्देश्यीय ज्येष्ठ नागरिक दिवा मनोरञ्जन घर निर्माण गर्ने गाउँपालिकाले जनाएको छ ।

खेलकुदका सबै क्षेत्रलाई समेट्ने गरी विभिन्न विधाका खेलका पूर्वाधारहरु निर्माण गर्ने र वडा नम्बर १ मा अन्तर्राष्ट्रिय स्तरको बिच भलिबल कोर्ट निर्माण गर्ने गाउँपालिका अध्यक्ष ओझाले बताए ।

काठेपोल मुक्त गाउँपालिका

रुपा गाउँपालिकाभित्र आगामी वर्ष नयाँ सडक नखन्ने र भइरहेको सडककै स्तरोन्नतिमा ध्यान दिने भएको छ । गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा नयाँ सडक नखन्ने तर भएकालाई ग्राभेल, पिच गर्दै लैजाने योजना गाउँपालिकाको छ ।

‘यस वर्ष नयाँ ट्रयाक नखोल्ने र भएकालाई स्तरोन्नति गर्ने नीति लिएका हौं । त्यसो गर्दा लगानी पनि दिगो विकासमा केन्दि्रत हुन्छ,’ गाउँपालिका अध्यक्ष ओझाले भने ।

कालोपत्रे नै नपुगेको रुपा गाउँपालिकामा रणनीतिक महत्वका मुख्य सडकहरु शिशुवा पोल्याङटार सडक खण्डमा अहिले पिच भइरहेको छ भने रुपाकोट थुम्की सडक खण्ड पिच भइसकेको छ ।

भइरहेका अन्य मुख्य सडक पक्की बनाउने र सहायक सडकलाई पनि प्राथमिकताका आधारमा स्तरोन्नति गर्नेतिरै गाउँपालिकाको ध्यान केन्दि्रत हुने अध्यक्ष ओझाले बताए ।

गाउँपालिकाले यसै वर्ष काठेपोल मुक्त गाउँपालिका बनाउने नीति लिएको छ । रुपा गाउँपालिकाका महत्वपूर्ण पर्यटकीय डाँडाहरु जोड्ने कार्यक्रम ल्याएको छ । आकर्षक सिंढी बाटोसहितको विभिन्न शहिदहरुका साथै स्थानीय संस्कृती झल्कने बृहत् शान्ति पार्क निर्माण गरी महत्वपूर्ण पर्यटकीय क्षेत्र बनाउने योजना गाउँपालिका अध्यक्ष ओझाले सुनाए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?