Comments Add Comment

कुमार पौडेल गोलीकाण्डबारे संसदीय समितिले गृहसँग छलफल गर्ने

८ असार, काठमाडौं । संसदको राज्यव्यवस्था समितिले सर्लाहीमा कुमार पौडेल मारिएको घटनाको सम्बन्धमा गृहमन्त्रालयसँग छलफल गर्ने भएको छ । समिति सभापति शशी श्रेष्ठले यस विषयमा सोमबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने जानकारी दिइन् ।

त्यसअघि बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा सांसद् जनार्दन शर्माले पौडेलको मृत्यु गम्भीर प्रकृतिको भएको भन्दै सम्बन्धित निकायसँग छलफल गर्न र सत्य–तथ्य पत्ता लगाउन माग गरेका थिए ।

सोमबार गृहमन्त्रीलाई विपद् व्यवस्थापनको तयारीबारे छलफल गर्ने भनेर समितिले बोलाएको थियो । तर, आइतबारको बैठकमा कुमार पौडेलको विषयमा पनि कुरा उठेपछि दुवै विषयमा सोमबार छलफल गर्ने निर्णय भएको सभापति श्रेष्ठले बताइन् ।

त्यसअघि सांसद शर्माले विप्लव समूहका नेता पौडेललाई छियाछाया पारेर मारिएको जानकारी आफूले जनस्तरबाट पाएको भन्दै त्यसको सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका थिए ।

‘संविधान र कानुनभित्र कारवाही गर्न उचित हुन्छ त्यसमा हाम्रो केही आपत्ति छैन । तर, निर्मम ढंगले मारिएको भन्ने सूचनाहरु जनस्तरबाट बुझेको हुनाले यो मलाई त पञ्चायती बर्बरताको जस्तो कुरा लाग्यो । सत्य के हो, त्यो चाहियो, सत्य यो हो भनेर भन्नुपर्‍यो  जनतालाई ।’

सांसद शर्माले जनतालाई भड्काउने खालका घटनाहरु भइरहेको बताउँदै त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि असफल पार्न सक्ने आशंका गरे । उनले यस्ता घटनालाई रोक्नुपर्नेमा जोड दिए ।

शर्माले भने, ‘विभिन्न ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी असफल गर्ने भनेर चौतर्फी रुपमा घेराबन्दी पनि भइराख्या छ । मास भड्काउने, जताबाट पनि गणतन्त्रमा ल्याएर जोडिदिने । यदि हामीले त्यसलाई सच्याउन सकेनौं, कारबाही गर्न सकेनौं भने, त्यसले राम्रो दिशातिर लैजाँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment