Comments Add Comment

‘फेरि त्यो दिन सम्झन चाहन्नँ’

चार वर्षपछि राष्ट्रिय टिममा फर्कने जितेन्द्रको सपना

९ असार, काठमाडौं । मार्च २०१४ मा चिटगोङबाट विश्वका क्रिकेट पारखीहरुको ध्यान तान्दै गर्दा मिडियम फास्ट बलर जितेन्द्र मुखिया नेपाली टोलीका प्रमुख सदस्यमध्ये एक थिए । टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले हराउँदा त उनी म्यान अफ दि म्याच  नै बने ।

डेब्यू विश्वकपमा हङकङ र अफगानिस्तानलाई हराउनुका साथै टेष्ट नेशन बंगलादेशलाई राम्रै चुनाती दिएका कारण नेपाली टोलीका हरेक सदस्य खास हुने नै भए । तर विश्वकपमा लोभलाग्दो प्रदर्शनको स्वाद बिर्सन नपाउँदै जितेन्द्र एकाएक गुमनाम भए ।

एकपछि अर्को चोटले उनलाई पछिल्ला वर्षहरुमा नेपाली क्रिकेटले पाएको सफलताहरुमा योगदान गर्ने मौकासमेत दिएन । तर उनले हार मानेका छैनन् । अब नेपालले पहिलो पटक एकदिवसीय विश्वकप खेल्ने सपना बुन्दै गर्दा त्यसमा भरथेग गर्न चाहन्छन् । र, त टिममा फर्कन दिनरात मेहनत गरेका छन् ।

चार वर्ष टिम बाहिर बसेर हेर्दा

टी-२० विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका जितेन्द्र अर्को वर्ष नेपालले आयरल्यान्ड र स्कटल्यान्डमा ग्लोबल छनोट खेल्दासम्म टिममा थिए । तर, त्यसपछि एकाएक हराए । त्यसको कारण खुलाउँदै जितेन्द्र भन्छन्, ‘सुरुमा टाइफाइड भयो । त्यसपछि एपेन्डिक्स । एकपछि अर्को समस्या आउँदै गर्दा म पछाडि धकेलिँदै गएँ ।’

सन् २०१७ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध खेल्ने नेपालको प्रारम्भिक टोलीमा परे, तर अन्तिम १४ मा स्थान बनाउन सकेनन् ।

त्यसपछि उनी लगातार क्रिकेटलाई पछ्याइरहेका छन्, तर टिममा स्थान बनाउन सकेका छैनन् ।

जितेन्द्र टिम बाहिर रहेको झण्डै चार वर्ष भयो । यो अवधिमा भोगेको पीडा शब्दमा बयान गर्न सक्दैनन् । ‘टिममा रहेर खेल्नु र बाहिर रहनुको भिन्नता शब्दमा बयानै गर्न सक्दिनँ । असाध्यै पीडा हुँदोरहेछ,’ जितेन्द्र थप्छन्, ‘तर के गर्नु ? खेलाडी सधैं उच्च फर्ममा हुन्छ भन्ने छैन । कहिले चोटले सताउँछ थाहा हुन्न ।’

जितेन्द्रको ढाडमा समस्या देखिएको थियो । टिममा पर्न नसक्नुको एउटा मुख्य कारण यो पनि बन्यो । ढाडको समस्या बेलाबेला बल्झिने समस्याले उनी झनै पछि परे । भन्छन्, ‘विभिन्न कठिनाइलाई जित्दै अगाडि बढेको छु, कडा परिश्रम गरेर यहाँसम्म आएको छु । म चाहन्न कि त्यो फेरि दोहोरियोस् ।’

यो पटक टी-२० विश्वकप एसिया फाइनल खेल्ने २५ सदस्यीय टोलीमा परेका छन् । जितेन्द्र भन्छन्, ‘अब १८ हुँदै अन्तिम १४ मा पर्ने मेरो इच्छा हो । मेरो लक्ष्य भनेको टिममा रहँदै नेपाललाई विश्वकपसम्म पुर्‍याउने हो ।’

तर सबै कुरा उनको हातमा छैन । उनी टिम बाहिर रहेको अवधिमा नेपाली क्रिकेटमा थुप्रै नयाँ अनुहार आइसकेका छन् । अझ टी-२० क्रिकेट फर्म्याटमा त युवा खेलाडीको बलियो उपस्थितिले झनै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।

सोमपाल कामी, करण केसी अलराउण्डर फाष्ट बलर हुन् । ललित भण्डारी, नन्दन यादव, अविनाश बोहराहरु पनि छन् । जितेन्द्र भन्छन्, ‘मैले अब राम्रो खेलेर मात्रै पुग्दैन, दुई सय प्रतिशत राम्रो गर्नुपर्छ । नत्र टिममा पर्न निकै गाह्रो छ ।’

तर टी-२० क्रिकेटमा महत्वपूर्ण मानिने डेथ ओभरमा आफूले राम्रो गर्न सक्छु भन्ने दृढ आत्मविश्वास पनि छ । भन्छन्, यो मेरो एउटा प्लस नम्बर हो ।’

काकाले भित्र्याएको खेल

वि. सं. २०४९ सालमा रौतहट जिल्लाको राजपुर तुल्सीमा जन्मिएका जितेन्द्रले १२ वर्षको उमेरदेखि ब्याट र बल समाएका हुन् । यसको मात्र होइन, गाउँमा क्रिकेट खेल भित्र्याएको श्रेय नै उनका काका हित्ला मुखियालाई जान्छ ।

पढ्न भारत गएका हित्लाले सन् १९९६ मा पाकिस्तान, भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको विश्वकप क्रिकेट मैदानमै पुगेर हेरेका थिए । उनी स्वदेश फर्किएपछि ब्याट र बल किनेर गाउँमै युवाहरुलाई खेलाउन थाले ।

जितेन्द्र सम्झिन्छन्, ‘त्यतिन्जेलसम्म हाम्रो गाउँमा भलिबल मात्रै हुन्थ्यो । भारतबाट फर्किएपछि अंकलले ब्याट र बल किनेर ल्याउनु भयो । यसरी खेल्नुपर्छ भनेर हामीलाई सिकाउनुभयो । टीभीमा क्रिकेट खेल देखाउन थाल्नु भयो ।’

काकाकै सहयोग र प्रेरणामा उनले स्कुल पढ्दा नै क्रिकेटसँग रमाउने मौका पाए । एसएलसीपछि क्रिकेट सिक्न भारत जाने भए । यो प्रस्ताव पनि काकाकै थियो । घरमा बाबु-आमालाई मनाउने जिम्मा पनि हित्लाले नै लिए । घर सल्लाहपछि काकासँगै उनी क्रिकेट करिअरलाई अघि बढाउन भारत जाने भए । जितेन्द्र भन्छन्, ‘सुरुमा त भारतीय कप्तान महेन्द्रसिंह धोनीको एकेडेमीमा जाने विचार थियो किनभने त्यसबेला उनी खुब चलेका थिए । जताततै धोनी थियो । त्यही भएर हामी चेन्नाई जाने निधो गरेर घरबाट हिड्यौं…।’

पैसा नहुँदा बलर बने

सुरुमा चेन्नाईका लागि पटनाबाट गाडी चढ्ने योजनासहित हिँडेका काका-भतिज पटनाबाटै घर फर्किए ।

पछि १७ वर्षीय जितेन्द्रलाई काका हित्लाले दिल्लीतर्फ लागे । ‘हामी आरपी क्रिकेट एकेडेमीमा गयौं । त्यहाँ अब्दुल सतार भन्ने हुनुहुँदोरहेछ । उहाँले मलाई के गर्छौ भनेर सोध्नुभयो । मैले ब्याटिङ, बलिङ दुवै गर्छु भनेँ’, जितेन्द्र सम्झिन्छन् ।

स्कुलमा उनी ब्याटिङ गर्थे । अझ भनौं ब्याटिङ अलराउण्डर । ब्याटिङमा रुचि राख्ने जितेन्द्रको खेल जीवनले त्यहीबाट यू-टर्न लियो, जहाँ उनीसँग ब्याट किन्ने पैसा भएन । ‘जुत्ता, प्याड, ग्लोभ्स, हेल्मेट सबै किने, तर ब्याट किनिनँ । किनकी मसँग पैसा थिएन,’ उनले विगत सम्झिँदै भने, ‘ब्याट नै नभएपछि मैले प्रशिक्षकलाई बलिङ गर्छु भनेँ । उहाँले ल ल तयार हुनु भन्नुभयो ।’

जितेन्द्रले बलिङबाट प्रशिक्षकलाई प्रभावित पारे । जितेन्द्रका अनुसार यसरी बलिङमा होमिएका उनले एक सातापछि घरबाट पैसा पाए र ब्याट पनि किनेका थिए । ‘कोचलाई म ब्याटिङ पनि गर्छु भनेँ, तर उहाँले ठाडै अस्वीकार गर्नुभयो । तिम्रो बलिङ राम्रो छ बलिङ नै गर भन्नुभयो,’ उनले भने ।

सेहवागलाई बलिङ गरेको त्यो एक घण्टा

प्रशिक्षणका क्रममा जितेन्द्रले धेरैको मन जितिसकेका थिए । छोटो समयमै एकेडेमीको सिनियर टिममा बढुवा भए । सिनियर टिममा पर्दा आफूमात्रै होइन, सबै खेलाडी आश्चर्यमा परेको उनी सम्झिन्छन् । ‘मैले प्रशिक्षकलाई भनेको थिएँ सर, एक दिनको लागि हो कि सधैंका लागि ? प्रशिक्षकले हाँस्दै भन्नु भयो- सधैंभरी ।’

सिनियर टिममा पनि उनले राम्रो गरे । त्यही क्रममा उनले एउटा ऐतिहासिक अवसर पाए । एकेडेमीमा बेलाबेला भारतीय क्रिकेट टिमका चर्चित खेलाडीहरु पनि अभ्यास गर्न आउँथे । त्यही बेला उनले विरेन्दर सेहवागसँग बलिङ अभ्यास गर्ने मौकासमेत पाए । जितेन्द्र भन्छन्, ‘एक पटक सेहवाग आएका थिए । प्रशिक्षकले मलाई बलिङ गर भन्नुभयो । म सेहवागलाई हेरिरहेँ किनकी सेहवाग जस्ता खेलाडीलाई बलिङ गर्न पाउनु मेरो लागि ठूलो कुरा थियो ।’

‘उनलाई लगभग एक घण्टा जति बलिङ गरेँ । एकदमै राम्रो भएको थियो’, जितेन्द्रले सुनाए, त्यो मेरो लागि निकै स्मरणीय छ ।’

आरपी क्रिकेट एकेडेमीमा उनलाई सबैले चिन्थे, तर जितेन्द्रको नामले भन्दा पनि मालिंगाको नामले । साथीहरुले उनलाई मालिंगा भन्थे । त्यसको राज खोल्दै जितेन्द्र भन्छन्, ‘साइड आर्म एक्सन भएर होला । त्यहाँ म मात्र थिएँ । अरु थिएन मालिंगाको जसरी बलिङ गर्ने, त्यही भएर मलाई मालिंगा भनेर बोलाउँथे ।’

बारम्बार असफल !

भारतमा करिब अढाई वर्ष क्रिकेट सिकेर उनी स्वदेश फर्किए । उनको सपना थियो, अब नेपालमा खेल्ने ।

जिल्लाबाट खेल्न थाले । सन् २०११ मा क्षेत्र नम्बर दुईमा टिममा पर्दै काठमाडौं आए । त्यसबेला एकदिवसीय र टी-२० का चार-चार खेल भएका थिए । वान डेमा राम्रो प्रदर्शन गर्न नसके पनि टी-२० मा दोस्रो सर्वाधिक विकेट टेकर बने । त्यही प्रदर्शनका कारण पटक यू-१९ राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे । उनी भन्छन्, ‘क्याम्पमा राम्रै भएको थियो, तर अन्तिम १४ मा पर्न सकिन ।’

त्यही बेला पुबुदु दासानायके नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक भएर नेपाल आए । राष्ट्रिय टिममा एकपछि अर्को अनुहारलाई भित्र्याएका उनको नजरमा जितेन्द्र पनि परे । सन् २०१२ मा पहिलो पटक राष्ट्रिय टिमको क्लोज क्याम्पमा परे । टिममा पर्न असफल भए । तर उनी क्लोज क्याम्पमा चाहिँ निरन्तर पर्न थाले ।

उनी भन्छन्, ‘क्याम्पमा निरन्तर परिरहने गर्थे, तर टिममा पर्दिनथेँ । किन परिन ? सोध्न डर लाग्थ्यो । करिब दुई वर्षदेखि क्याम्पमा मात्र पर्दा आफैं निराश भइसकेको थिएँ । के गरौं, के गरौं भइसकेको थियो ।’

क्यानबाट फोन आएपछि…

क्लोज क्याम्पमा पर्ने तर टिममा स्थान बनाउन सक्ने-नसक्ने अवस्थाका बीच दबावमा रहेका बेला जितेन्द्रलाई एकदिन नेपाल क्रिकेट संघ (क्यान)बाट फोन आउँछ ।

त्यो फोनले जितेन्द्रलाई खुसी दियो । त्यसबेला सिंगापुरमा नेपाली यू-२३ टिमको खेल थियो । प्रतियोगिताको तयारीका सिलसिलामा नेपाली टिम श्रीलंका टुरमा थियो । खेलका क्रममा नेपाली विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल घाइते भए । वैकल्पिक खेलाडीको रुपमा जितेन्द्रसँगै महेश क्षेत्री र चन्द साउद थिए । क्यानले भिसा लगाएर जितेन्द्र र महेशलाई श्रीलंका पठायो ।

तर श्रीलंका पुग्न नपाउँदै उनको खुसी हरण भयो । उनी भन्छन्, ‘श्रीलंकामा राहुल दाइले जितेन्द्र कस्तो लागिरहेको छ भन्नुभयो । मैले खुशी छु भनेँ । तर उहाँले गल्तीले आइस् भन्नुभयो ।’ उनको मनमा चिसो पस्यो तर, प्रष्ट बुझेनन् ।

भोलिपल्ट टिम अभ्यास गर्न जानुअघि कप्तान पारस खड्का, महेश र जितेन्द्र सँगै थिए । जितेन्द्र भावुक हुँदै सुनाउँछन्, ‘पारस दाइले महेश दाइलाई सोध्नुभयो, महेश तिमीले सोचेका थियौं श्रीलंका आउँछु भनेर ? महेश दाइ बोल्न नपाउँदै मैले भनेँ- उहाँले सोच्नु भएको थियो होला, तर मैले चाहिँ थिइनँ । पारस दाइले भन्नुभयो- त्यो त मैले पनि सोचेको थिइनँ कि तिमी श्रीलंका आउँछौ । खोइ क्यानको मान्छेले इंग्लिस बुझ्छ कि बुझ्दैन ।’

‘त्यो सुन्दा एकदम नरमाइलो लाग्यो किनकी म गल्तीले पो आएको रहेछु,’ उनले अघि भने ।

विश्वकपमा म्यान अफ दि म्याच हुँदा

अनेक हण्डर खाएका जितेन्द्रले हार भने कहिल्यै मानेनन् । सन् २०१४ मा बंगलादेशमा आयोजना हुने टी-२० विश्वकप क्रिकेटको छनोट सन् २०१३ मा यूएईमा हुँदै थियो ।

उनी टिममा परे । पटकपटक क्लोज क्याम्पबाटै बाहिरिँदै गरेका जितेन्द्रलाई इखले खेल्नु थियो । उनी भन्छन्, ‘मैले बलिङ, फिल्डिङ सबै कुरा सुधारेको थिएँ । सधैं क्लोज क्याम्पमा पर्ने, तर टिममा नपर्ने भइरहेको मैले विश्वकप छनोट खेलेँ ।’

उनले डेनमार्कविरुद्ध डेब्यू गरे । पहिलो खेलमा एक विकेट लिएका जितेन्द्रको इकोनोमी राम्रो थियो । नेपालले विश्वकपमा स्थान बनाउँदा उनी सर्वाधिक विकेट लिने दोस्रो नेपाली खेलाडी बने । बसन्त रेग्मीले १४ विकेट लिँदा उनले ११ विकेट हात पारे । त्यसपछि उनी टी-२० विश्वकप खेल्न बंगलादेश गए ।

डेब्यू विश्वकपमा नेपालले दमदार प्रदर्शन गर्दा जितेन्द्रले पनि त्यहीअनुसार खेल देखाए । ‘विश्वकपको तयारी नजिकिँदै थियो, म घाइते थिएँ । तर पनि टिममा पर्न सफल भएँ । पुबुदु सरलाई थाहा थियो कि मैले के गर्न सक्छु भनेर,’ उनले अघि भने, ‘नेपालको जर्सी लगाउँदै मैदान प्रवेश गर्दा जस्तो यादगार पल अरु के होला ?’

हङकङको एक विकेट लिएर उनले बंगलादेशविरुद्ध ठीकै बलिङ गरे, तर विकेट हात परेन । नेपालको अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले पराजित गर्दा भने जितेन्द्र मुखिया नै नायक बने । उनले ४ ओभर बलिङ गर्दा १८ रन खर्चेर ३ विकेट लिए । भन्छन्, ‘अफगानिस्तानलाई हराउन सकिरहेका थिएनौं । त्यही खेलमा म्यान अफ दि म्याच बन्नु अर्को स्मरणीय पल बन्न पुग्यो ।’

फोटो : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment