Comments Add Comment

नेपाल एयरलाइन्सको इन्जिनियरिङ अब स्वदेशी जनशक्तिबाटै

९ असार, काठमाडौं । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रियतर्फका सबै विमानको इन्जिनियरिङ सम्बन्धी काम अब नेपाली इन्जिनियरबाटै हुने भएको छ ।

कुनै पनि जहाज त्रिभुवन विमानस्थलमा ओर्लिसकेपछि इन्जिनियरले चेकजाँच गरी उडानयोग्य घोषणा गरेपछि मात्र दोस्रो उड्न पाउँछ । एयरबस ३३०–२०० मा यो काम अहिले बेलायतको कम्पनी बीसीटीले गरिरहेको छ । यसवापत कम्पनीले मासिक ८० लाख रुपैयाँसम्म लैजाने गरेको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता नवराज कोइरालाका अनुसार आगामी जुलाईबाट ए ३३०–२०० मा इन्जिनियरिङको काम नेपाली इन्जिनियरबाटै हुने भएको हो ।

‘जुलाईबाट इन्जिनियरिङ सम्बन्धी काम गरेवापत मासिक ८० लाख रुपैयाँसम्म बच्नेछ,’ उनले भने । वाइडबडीबाहेक न्यारोबडी जहाज ए ३२०–२०० मा भने यो काम नेपाली इन्जिनियरबाटै भइरहेको छ । यसबाहेक जहाज बिग्रेको अवस्थामा पनि नेपाली इन्जिनियरबाटै मर्मत सम्भव हुने गरी जनशक्ति तयार भएको उनले जानकारी दिए ।

निगमले अहिले उपलब्ध चारवटै जहाजलाई पूर्ण क्षमतामा उडाउने गरी योजना बनाइरहेको छ । त्यसैअनुसार दिल्लीमा दैनिक तीन उडानको तयारी छ । यूएइमा साताको तीन उडान भइरहेकोमा अब १ उडान थप्ने तयारी कम्पनीले गरिरहेको छ ।

आन्तरिक उडानका पाइलट स्वदेशमै तयार पार्ने गरी तालीम प्रदान गर्ने संस्थागत व्यवस्था गरिएको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ । सोही अनुसार ‘वाई १२ इ’ जहाज उडाउने दुई वरिष्ठ पाइलटको तालिम असार मसान्तभित्रै सकिने नेवानिको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment