Comments Add Comment

शकिबको सानदार प्रदर्शनमा बंगलादेश विजयी, पछाडि परे युवराज सिंह र वार्नर

अफगानिस्तानको लगातार सातौं हार

१० असार, काठमाडौं । शकिब अल हसनको सानदार प्रदर्शनमा बंगलादेशले विश्वकप क्रिकेटमा अफगानिस्तानलाई ६२ रनले हराएको छ । इंग्ल्यान्डको साउथहृयाम्पटनमा सोमबार अफगानिस्तानलाई हराउँदै बंगलादेश सात अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । यो जितसँगै बंगलादेशले विश्वकप सेमिफाइनलमा पुग्ने आफ्नो लक्ष्यलाई कायमै राखेको छ ।

२६३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ४७ ओभरमा सबै विकेटको क्षतिमा २०० रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि समिउल्लाह शिनवारीले अविजित ४९ रन बनाए पनि आफ्नो टिमलाई जिताउन सकेनन् । त्यस्तै, कप्तान गुल्बादिन नाइबले ४७, राहमत शाहले २४, नजिबउल्लाह जाड्रानले २३ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

बलिङतर्फ शकिब अल हसनले सनसनीपूर्ण प्रदर्शन गरे । उनले पाँच विकेट लिए । उनकै उत्कृष्ट बलिङमा बंगलादेशको जित सम्भव भएको हो । १० ओभर बलिङ गरेका शकिबले एक ओभर मेडन राख्दै २९ रन खर्चेर ५ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २६२ रन बनाएपछि अफगानिस्तानले मध्यम लक्ष्य पाएको थियो । बंगलादेशको मध्यम स्कोरमा मुश्फिकर रहिमले सर्वाधिक ८३ रन बनाए । ८७ बलमा उनले चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै, शकिबले ५१ रन बनाए । यता, तमिम इकबालले ३६ रन बनाउँदा मोसाद हुसेनले ३५ रन बनाए । बलिङतर्फ मुजिब उर रहमानले तीन र गुल्बादिन नाइबले दुई विकेट लिए ।

विश्वकपमा अफगानिस्तानले लगातार सातौं खेलमा हार ब्यहोर्दै बाँकी दुई खेल रहँदासम्म पनि अंक जोड्न असफल भएको छ । अफगानिस्तान यसअघि नै विश्वकपबाट बाहिरिसकेको छ ।

शकिबले पछाडि पारे युवराज सिंह र वार्नरलाई

विश्वकपको एउटै म्याचमा अर्धशतक र पाँच विकेट हासिल गर्ने शकिब विश्वकै दोस्रो अलराउन्डर बनेका छन् । यसअघि भारतका युवराज सिंहले यस्तो रेकर्ड राखेका थिए । युवराज सिंहले सन् २०११ को विश्वकपमा आयरल्याण्डविरुद्ध पाँच विकेट लिएका थिए भने नटआउट ५० रन बनाएका थिए ।

यससँगै जारी विश्वकपमा सबैभन्दा धेरै रन बनाउने क्रिकेटर बनेका छन् शकिब । उनले सात म्याचमा ४७६ रन बनाएका छन् । यस म्याचमा उनले अष्ट्रेलियाका दिग्गज ब्याट्सम्यान डेभिड वार्नरलाई पछाडि पारेका छन् । वार्नरले हालसम्म ४४७ रन बनाएका छन् ।

यस सूचीमा तेस्रो स्थानमा इंग्ल्याण्डका ब्याट्सम्यान जो रुट छन् । उनले ४२४ रन बनाएका छन् । शाकिब अल हसन एउटै विश्वकपमा ४ सय भन्दा बढी रन बनाउने र १० विकेट लिने खेलाडी बनेका छन् । यसअघि कुनै पनि क्रिकेटरको नाममा यो रेकर्ड थिएन । सन् २०११ को विश्वकपमा भारतका युवराज सिंहले ३६२ रन बनाएका थिए भने १५ विकेट लिएका थिए ।

यसैगरी बलिङतर्फ हाल तीन जना खेलाडी नम्बर एकमा परेका छन् । इंग्ल्याण्डका जोफ्रा आर्चर, अष्ट्रेलियाका मिचेल स्टार्क र पाकिस्तानका मोहम्मद आमिर एक नम्बरमा छन् । यी तीनै जनाले १५ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment