Comments Add Comment

स्मार्ट लाइसेन्स नयाँमै जीर्ण ! २० हजार रिप्रिन्ट गरिँदै

२० हजार लाइसेन्स रिप्रिन्ट गर्नुपर्ने भयो : महानिर्देशक

११ असार, काठमाडौं । मकवानपुरका विपिन ढकालले गत भदौमा सवरीको ट्रायल पास गरे । झण्डै एक वर्षपछि स्मार्ट लाइसेन्स उनको हातमा पर्‍यो । तर, खुशी हुनुको साटो उनी आक्रोशित बनेका छन् ।

ढकालले पाएको नयाँ लाइसेन्समा बुवा थर र नागरिकता नम्बरको केही भाग मेटिएर अस्पष्ट छ । नयाँमै जीर्ण देखिएको लाइसेन्स प्रयोगमा आएपछि झन् कस्तो होला स्वतः अनुमान गर्न सकिन्छ ।

‘यत्रो समय कुरेर हात परेको लाइसेन्समा स्पष्ट विवरणहरु छैनन्,’ ढकालले अनलाइनखबरसँग गुनासो गरे, ‘नाम मात्रैको स्मार्ट रहेछ ।’

समस्या विपिनको मात्रै हैन । हाल नयाँ लिँदालिँदै गतिलोसँग विवरण प्रिन्ट नभएका साढे ३ लाख लाइसेन्स सवारी चालकको हातमा पुगेको छ । यस्तो गणस्तरहीन लाइसेन्स फिर्ता गर्न विभागमा धाउनेको संख्या निकै बढेको छ ।

यसअघि पनि स्मार्ट लाइसेन्सको गुणस्तरमा प्रश्न नउठेको होइन, तर नयाँमै अक्षरहरु मेटिनु नयाँ समस्या हो । विगतमा बोकेर हिँडेपछि केही समयममा लाइसेन्स खुइलिने र विवरण मेटिने समस्या थियो । गुणस्तर सुधार्ने बाचा गरेको यातायात व्यवस्था विभागले अहिले भने त्योभन्दा पनि कमसल छपाइको लाइसेन्स बाँडिरहेको छ ।

विभागमा महानिर्देशक कुमार दाहाल सुरुमै समस्या देखिएका २० हजार लाइसेन्स फेरि प्रिन्ट गरेर दिनुपर्ने अवस्था आएको स्वीकार्छन् ।

‘२० हजार लाइसेन्स फेरि प्रिन्ट गर्नु पर्नेभयो, यसका लागि उपभोक्तसँग रकम नउठाई विभागले छपाई गर्न लागेको छ’ उनले भने, ‘सुरुमै विवरण मेटिएर कामै नलाग्ने भएका लाइसेन्स फेरि प्रिन्ट गरेर वितरण गर्छौं ।’

यस्तो २० हजार लाइसेन्समध्ये धेरैजसो विभागले बाँड्नै नसक्ने अवस्थाका छन् भने केही उपभोक्ताले लिएर पनि फिर्ता गरेकाहरु छन् ।

किन आयो समस्या ?

केही महिनाअघि ‘आउटसोर्सिङ’ गरेर छापेको स्मार्ट लाइसेन्समा गुणस्तरको प्रश्न पहिलेको भन्दा बढी उठेको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले स्मार्ट लाइसेन्सको समयमै छपाइ नहुँदा चरम अभाव सिर्जना भएपछि मालिका इन्कर्पोरेटलाई ४ लाख लाइसेन्स छापाइको जिम्मा दिएको थियो ।

लावण्य ढकाल विभागको महानिर्देशक रहेको समयमा मालिकाले तोकिएको अवधिभन्दा एक महिना बढी समय पाउँदा पनि ३ लाख ६० हजार लाइसेन्स प्रिन्ट त गर्‍यो । तर, धेरैमा समस्या देखियो ।

विभागका महानिर्देशक दाहालले ५ वर्षका लागि भनेर वितरण गरिएका मालिकाद्वारा छापिएका लाइसेन्स सो अवधिसम्म टिक्नेमा आशंका रहेको बताए ।

‘सुरुमै समस्या देखिएको लाइसेन्स ५ वर्ष टिक्ला जस्तो छैन,’ उनले भने, ‘पोलिकार्बेनेटको कार्डमा थर्मल प्रिन्टले काम गर्ने रहेनछ, त्यतिबेला विचार पुर्‍याएको भए यस्तो अवस्था आउँदैन थियो होला ।’

विभाग आफैंले स्मार्ट कार्डमा ‘लेजर प्रिन्ट’ गर्छ । तर, मालिकालाई त्यही स्मार्ट कार्डमा लाइसेन्स ‘थर्मल प्रिन्ट’ गर्न लगाइएको थियो ।

थर्मल प्रिन्ट एटीएम कार्ड प्रिन्ट गरेजस्तै प्रविधि हो, जुन बाहिरबाट प्लाष्टिक कोटेड हुन्छ । लेमिनेशन नगरे अक्षरहरु छिटै मेटिने खतरा हुन्छ । विभागले गर्दै आएको लेजर प्रिन्ट भने कार्डमै इम्बोस्ड गरेर छाप्ने प्रविधि हो । जुन, थर्मलभन्दा गुणस्तरीय र महंगो छपाइ प्रविधि मानिन्छ ।

सरकारले मालिकालाई सुरुको ३५ हजारमा प्रतिकार्ड १३ रुपैयाँ र बाँकीमा प्रतिकार्ड १५ रुपैयाँ भुक्तानी गरेको थियो । यसअनुसार सरकारले करिब ५० लाख खर्चिएर छापेको लाइसेन्स काम नलाग्ने त भएको छ नै, उपभोक्ताले महंगो राजश्व तिरेर फेरि अर्को लाइसेन्स लिनुपर्ने अवस्था पनि बनेको छ ।

तर, त्यो समयमा लाइसेन्सको अभाव टार्ने विकल्प सरकारसँग नभएकाले यस्ता कार्डले पनि राहत दिएको तर्क विभागको छ ।

५ लाख बाँड्न बाँकी

ठूलो हल्लाखल्ला गरेर ल्याइएको स्मार्ट लाइसेन्सको गुणस्तरमाथि सुरुदेखि नै प्रश्न उठेको थियो । तर, विभागले माग अनुसार छाप्न सकेन । आउटसोर्सिङ गरेर छपाउँदा त्यो भन्न्दा बढी समस्या देखियो ।

विभागले हाल पनि ठूलो संख्यामा लाइसेन्स प्रक्रिया पुरा गरेकालाई लाइसेन्स उपलब्ध गराउन सकेको छैन । ५ लाखभन्दा बढी सेवाग्राही लाइसेन्सको प्रतीक्षामा छन् । लाइसेन्स नवीकरण वा प्राप्तिको सबै प्रक्रिया पूरा गरेको एक वर्षमा पनि हात पर्न मुस्किल छ ।

यदि माग धान्ने हो दैनिक ४ हजार ५ सय लाइसेन्स प्रिन्ट गर्नुपर्छ । तर विभागका मेसिनले दैनिक ३ हजार पनि प्रिन्ट गर्न सकेको छ । यही कारण लाइसेन्स प्राप्तिको सबै प्रक्रिया पूरा गर्दा पनि लामो समयसम्म लाइसेन्स हात नपर्ने समस्या पनि कायमै छ ।

अहिले यातायात व्यवस्था विभागका केही मेसिनले मात्रै लाइसेन्स प्रिन्ट गरिरहेका छन् । केही बिग्रिएर थन्किएका छन् । चलेका मेसिनमा पनि पटक–पटक समस्या आउने गरेको छ । विभागले समस्या समाधानका लागि ठूलो ‘मास प्रिन्टर’ ल्याउन अप्रिल ३० मा ७५ दिनको म्याद राखेर सम्झौता गरेको छ ।

‘अब मास प्रिन्टर आएपछि दैनिक ठूलो सख्यामा एउटै मेसिनले लाइसेन्स प्रिन्ट गर्न सक्र्छौं,’ महानिर्देशक दाहाल भन्छन्, ‘त्यसपछि गुणस्तरका विषयमा उठ्ने सवाल र ब्याकलगको समस्या पनि हल हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment