Comments Add Comment

कांग्रेसनिकट जनप्रतिनिधिले लगाए पोखरा महानगरको गेटमा ताला !

१२ असार, पोखरा । पोखरा महानगरपालिकाको गेटमा कांग्रेसनिकट जनप्रतिनिधिले बिहीबार ताला लगाएका छन् । महानगरले पाँचौं नगरसभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेडबुक) र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै उनीहरुले महानगरको मूलद्वारमा ताला लगाएका हुन् ।

नगरसभाको चौथो दिन बुधबार महानगरले रेडबुक प्रस्तुत गरेको थियो । उक्त रेडबुकमाथि छलफल नै नभई पारित गरिएको र त्यसबारे कुरा राख्दा मेयर जीसीले धम्कीपूर्ण अभिव्यक्ति दिएको पोखरा–,९ का वडाध्यक्ष रामराज लामिछानेको आरोप छ ।

‘हामी जनताले चुनेर जनप्रतिनिधि भएका हौं । उहाँले त्यसरी भन्नुहुन्थेन,’ वडाध्यक्ष रामराज लामिछानेले भने, ‘जनताबाटै उठेको रकमले त आएको हो बजेट । हामीले नै माग्न नपाउने ?’

बजेट र अभव्यिक्ति नसच्याएसम्म आन्दोलन गर्ने र अटेर गरे आन्दोलन थप सशक्त बनाउने लामिछानेले बताए ।

रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि नदिइएको लामिछानेले आरोप लगाए । ‘हामीले रेडबुक आइसकेपछि छलफल गरौं भनेका थियौं । ३ बजेमात्रै रेडबुक आयो । त्यसमा पनि हामीलाई बोल्ने मौकै दिइएन,’ उनले भने, ‘बजेट पनि समान रुपमा वितरण भएको छैन ।’

पहिले रेडबुक अध्ययन गर्न माग्दा मेयर मानबहादुर जीसीले ‘आउँछ, आउँछ’ भनेर टारेको तर पछि ३ बजे रेडबुक बाँडेर समय नै नदिई जबर्जस्ती पारित गरिएको लामिछानेले आरोप लगाए । ‘रेडबुक नै ढिलो आयो । ढिलो आएको रेडबुकको छलफलका लागि समय दिनुपथ्र्यो,’ उनले भने, ‘पछि बोल्ने भनेर बोल्नै दिइएन । अनि मेयर सा’बले एक्कासि पारित गर्ने भनेर भन्नुभो ।’

जीसीको प्रस्तावपछि पोखरा ११ वडाध्यक्षसहित ४८ जनाले रेडबुक च्यातेर फ्यालेका थिए । बजेट वडास्तरीय आए पनि नगरस्तरीय नआएको उनीहरुको आरोप छ । ‘बजेट पूरै केन्द्रिकृत रुपमा आएको छ । महानगरले पनि आफ्नो बजेट एकलौंटी रुपमा वडालाई नदिएर आफूले मात्रै राखेर हुन्छ ?’ उनले भने ।

बुधबारको नगरसभा बैठकमा कांग्रेसनिकट वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । पोखरा ४ शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र सोफा फालेका थिए । नगरसभामा राखिएको एअर कुलरसमेत लडाएका थिए ।

बास्तोलाले जनताको रकम जनताकै लागि वितरण हुनुपर्ने माग गरेका छन् । ‘बजेट समानुपातिक रुपमा आएको छैन । समानुपातिक रुपमा आउनु प¥यो भन्दा मेयर सा’बले धम्कीपूर्ण अभिव्यक्ति दिनुभयो । त्यसमा हाम्रो आपत्ति छ ।

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । उक्त बजेटमाथि बुधबार छलफलपछि विनियोजन विधेयक पारित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment