Comments Add Comment

बोइङ बेच्न निगमले निकाल्यो टेन्डर, न्यूनतम मूल्य ८५ करोड

१२ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले बोइङ ७५७ जहाज बिक्रि गर्न टेन्डर आहृवान गरेको छ । न्यूनतम ७६ लाख ७६ हजार ७ सय ३० अमेरिकी डलर (करिब ८५ करोड १७ लाख ३३ हजार रुपैयाँ) न्यूनतम बिक्रि मूल्य तोकेर टेन्डर आह्वान गरिएको हो ।

निगमले बुधबारदेखि लागु हुने गरी प्रकाशित टेण्डरको समयावधि ४५ दिन राखिएको छ । नियमानुसार अधिकतम मूल्य तिर्न तयार हुने कम्पनीले निगमको बी ७५७ ९ एन-एसीबी जहाज खरिद गर्न सक्नेछ । छानिएको कम्पनीले २१ दिनभित्र निगमसँग जहाज खरिद-बिक्री सम्झौतामा हस्ताक्षर गरिसक्नु पर्छ ।

सम्झौतामा हस्ताक्षर भएको ७ दिनभित्र रकम भुक्तानी गरी खरिदकर्ताले जहाज लैजान पाउने छन् । द्विपक्षीय हस्ताक्षर भएको ४५ दिनभित्र खरिदकर्ताले जहाज लगिसक्नु पर्छ । त्यसरी जहाज लैजान नसके हृयाङ्गर चार्ज, पार्किङ चार्ज तथा अन्य शूल्क सोही कम्पनीले बेहोर्नुपर्ने शर्त राखिएको छ ।

निगमले अहिले बेच्न लागेको जहाज ३१ वर्ष पुरानो हो । यो जहाज १५ सेप्टेम्बर १९८८ मा बनेको थियो । त्यसबेला निगमले कम्पनीमा बन्दाबन्दैको नयाँ जहाज किनेको थियो । १ सय ९० सीट क्षमता बनाएर निर्माण गरिएको यो जहाज डिसेम्बर २०१८ देखि यता भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउण्डेड छ । निगमले एकै समयमा किनेका दुई बोइङ जहाजमध्ये यो दोस्रो हो । बोइङलाई ‘फेज आउट’ गर्ने नीतिअनुसार नै ग्राउण्डेड राखिएको निगमको भनाइ छ । यो जहाज अहिलेसम्म ८९ हजार ४ सय ६२ घण्टा उडिसकेको छ । यस अवधिमा यो जहाजले ३० हजार ५ सय ३५ पटक उडान गरिसकेको छ ।

बोइङले सन् १९८१ मा निर्माण थालेको यस मोडलको अधिकतम क्षमता २ सय ३० सीट सम्म हो । निगमले भने लामो दूरीमा उडान गर्नुपर्ने भएका कारण यी जहाजलाई आरामदायी बनाएको थियो । निगमका जहाजमा १६ विजनेस र १७४ सीट इकोनोमिक क्लास छन् । एक पटकमा निरन्तर ७ घण्टासम्म उड्न सक्ने क्षमता छ ।

निगमले दुई बोइङ जहाजलाई ‘कर्णाली’ र ‘गण्डकी’ नाम दिएको थियो । कर्णाली दुई वर्ष अगाडि नै बेचिसकेको निगमले अहिले गण्डकी बेच्न लागेको हो । बोइङले सन् २००४ बाट ७५७ मोडलका जहाज उत्पादन बन्द गरिसकेको छ ।

निगमले दुई बोइङ जहाजबाट विगतमा बेलायतको लण्डन, जर्मनीको फ्रैंकर्फट र फ्रान्सको पेरिससम्म उडान बिस्तार गरेको थियो । यही जहाज जापान र चीनको सांघाइमा पनि उडेको थियो । दुबई, ढाका, कराँची र भारतीय शहरमा पनि नेपालले उडान बिस्तार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment