Comments Add Comment

जहाजमा बम भेटिए के गर्ने ? विमानस्थलमा गरियो पूर्वअभ्यास

१३ असार, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल शुक्रबार दिउँसो ३ः१० बजेदेखि ३ः४० सम्म पूर्णतया बन्द भयो । विमानस्थलमा ओर्लिएको ‘एक्सरसाइज एयरलाइन्स’को जहाजलाई विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा बनाइएको रिमोट पार्किङ वेमा लगियो । हतारहतार यात्रुलाई बाहिर निकालियो, जहाजलाई सुरक्षाकर्मीले घेरा हाले । त्यतिन्जेलसम्म दमकल, एम्बुलेन्स पुगिसकेका थिए ।

जहाजमा बम भएको सूचना आएको भन्दै यात्रु र जहाजको सुरक्षा गर्न तयारी भइरहेको थियो ।

यो वास्तविक घटना भने होइन । हालै निर्माण सम्पन्न भई संचालनमा आएको रिमोर्ट पार्किङ वे बम तथा कुनै सुरक्षा थ्रेट भएका जहाज राखेर यात्रु र एयरक्राफ्टबाट कसरी सुरक्षित रुपमा उद्दार गर्ने गरेर गरिएको पूर्वाअध्यास हो ।

त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थल संकटकालीन योजनाअनुसार गरिने विभिन्न अभ्यासमध्ये ‘एलर्ट फाइभ (बम थ्रेट टू एयरक्राफ्ट)’ सम्पन्न गरेको छ । वायुयानमा बम रहेको परिकल्पना गरी आपतकालीन समयमा सरोकारवाला निकायले कसरी काम गर्ने भन्ने अभ्यास यस क्रममा गरिएको हो ।

खासगरी संकटको समयमा सहभागी हुने विभिन्न सम्वद्ध निकायबीच सहयोग बढाउने, सहभागी निकायले गर्नुपर्ने भूमिका तथा जिम्मेवारीको मूल्यांकन गरी यस्तो अवस्थाको सामना गर्ने क्षमता अभिवृद्धिको काम अभ्यासका क्रममा गरिन्छ ।

यो अभ्यासले विमानभित्र बमको जोखिम रहेको अवस्थामा जनधनको न्यून क्षति कसरी गर्ने भन्नेबारे सचेत गराएको हुन्छ । बमको थ्रेट हटाई बन्द रहेको विमानस्थल सिघ्र सूचारु गर्ने अभ्यास समेत यस क्रममा गरिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को प्रावधानअनुसार हरेक विमानस्थलले यस्तो अभ्यास गर्नुपर्छ । साथै प्रतिवेदन आइकाओलाई पठाउनुपर्छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment