Comments Add Comment

भोज खाँदा तनहुँमा ४१ जना बिरामी

१५ असार, तनहुँ । जिल्लाको भानु नगरपालिका–३, खहरेका धनराज श्रेष्ठको घरमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् ।

स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए । भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले माछा खाएका मात्रै बिरामी परेकाले माछामा कैफियत हुनसक्ने बताए । ‘अन्य खानेकुरा खाएका स्थानीयवासीलाई केही असर छैन,’ श्रेष्ठले भने, ‘माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेका छन् ।’

बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेकाले माछाको असर देखिएको हुनसक्ने इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिए ।

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले डुम्रे बजारको एक पसलबाट माछा खरीद गरी लगिएको र माछाको विषादीका कारण स्थानीयवासी बिरामी परेको हुनसक्ने बताउँछन् । घटनास्थल पुगेर खानेपानी, माछाको परीक्षणका लागि नमूना सङ्कलन गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment