
१६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका छन् । साथै उनले पैसा कमाउने ठोस योजना ल्याउन निगम नेतृत्वलाई आग्रह गरेका छन् ।
३७ अर्ब घाटामा रहेको वायुसेवा निगमले कर्मचारी सञ्चय कोष लगायतसँग लिएको ऋणको किस्ता तिर्न सकेको छैन । उसले सरकारसँग पैसा माग गर्दै आएको छ ।
तर, प्रधानमन्त्री ओलीले भने यथास्थितिमा पैसा नदिइने प्रष्ट पारेका छन् । निगमको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘साग बेच्नेले त कर तिर्न सक्छ भने वायुसेवा निगमले किन सक्दैन ?’
उनले अघि भने, ‘अहिले ३७ अर्ब दियो भने अर्को वर्ष पनि दिनुपर्छ । त्यसैले यसको व्यवस्थापन, सञ्चालन उपयुक्त ढंगले हुनुपर्छ । यो व्यवहारमा देखिनुपर्यो ।’
जहाज चढ्ने, चढाउने सबै फाइदामा रहेको, तर बोक्ने जहाज मात्र घाटामा रहेको भन्दै उनले भने, ‘जहाजले होइन, हाम्रो कारण नोक्सान भएको छ ।’
‘एयरपोर्टमा जाँदा धेरै जहाज देखेपछि आफूले वायुसेवा निगमसँग निकै धेरै जहाज रहेछ भन्दा एक मित्रले ‘ठीक भन्नुभयो प्रधानमन्त्री जी, उड्दैन र जहाज धेरै छ । उडेका भए आकासमा हुन्थे भन्नुभयो,’ उनले भने । विमान समयमा मर्मत सम्भार गरेर चुस्त दुरुस्त राख्न र नयाँ गन्तव्य खोज्न प्रधानमन्त्रीले आग्रह गरे ।
युरोप भ्रमणका क्रममा आफूले नयाँ गन्तव्यका लागि कुरा गरेको उनले सुनाए ।
प्रतिक्रिया 4