+
+
सरकारी अस्पतालको दुरावस्था– १ :

आफैं बिरामी छ कान्ति बाल अस्पताल

बाल अस्पतालको बजेट काटियो, सरकारले हेरेन

सागर बुढाथोकी सागर बुढाथोकी
२०७६ असार १६ गते २०:२१

१६ असार, काठमाडौं । उदास चेहराका मानिसहरुको ओहोर–दोहोर बाक्लो छ । सोधपुछ कक्षको ठीक पछाडिपट्टि एउटा कुनामा आशिषकुमार साहको परिवार बसेको छ । अर्को कुनामा बालबालिका खेलिरहेका छन् ।

ओपीडी विभाग भरिराऊ छ । टिकट काट्ने ठाउँमा लाइन उस्तै । इमर्जेन्सी कक्ष बाहिर एम्बुलेन्सको आउजाउ छ । भित्र बेड भरिभराउ । बच्चाहरु रोएको बराबर सुनिन्छ । सोधपुछ कक्ष छेवैमा रिपोर्ट कुर्नेहरुको भिड छ । तर, कर्मचारी गायब छन् ।

यो कान्ति बाल अस्पतालको परिदृश्य हो ।

‘डाक्टरले आज रिपोर्ट लिएर आउनु भनेका थिए तर, यहाँ रिपोर्ट दिने मान्छे नै छैनन्’, एकराज जीसी भन्छन्, ‘बल्ल बल्ल आएको पालोमा रिपोर्ट नै देखाउन नपाइने भयो ।’

भोजपुरका जीसी चार वर्षीया छोरीको मुटुमा समस्या देखिएपछि कान्ति आएका रहेछन् । अस्पताल धाएको चौथो दिनमा रिपोर्ट नपाएर उनी खिस्रिक्क परेका थिए । कान्तिमा यसरी दिनहुँ सैयौंले दुःख पाइरहेका छन् ।

आशिषकुमार साहका काखमा सानी नानी छन् । छेउमै श्रीमती, लुगाका पोका र खाना पकाउने भाँडावर्तन छन् । साह परिवारले रातिको वास पनि त्यहीँ बनाएका रहेछन् ।

साह दम्पत्ति जन्मजात मलद्वार नभएकी छोरीको उपचार गराउन चार दिनअघि सिराहाबाट आएका रहेछन् । नानीको पेटबाट प्वाल पारेर दिसा गराउने गरिएको रहेछ । यसैकै लागि छ महिनादेखि यो अस्पताल धाइरहेको साहले अनलाइनखबरलाई बताए । ‘डाक्टरहरुले सकेसम्म छिटो अपरेशन गर्नुपर्छ भन्थे । तर, अहिलेसम्म पालो नै आएको छैन’, उनले भने, ‘निजी अस्पतालमा लग्ने पैसा भएको भए यति अपरशेन गर्न एकसाता पनि लाग्दैनथ्यो ।’

यो कान्ति, त्यो कान्ति

रुस सरकारले ०१९ सालमा स्थापना र सञ्चालन गरेर ०२६ मा नेपाल सरकारलाई सुम्पिएको कान्ति बाल विगत निकै उज्वल छ । उसबेला राजा, रैती सबैले आफ्ना बालबालिकालाई उपचार गर्न कान्ति लैजान्थे । कान्तिको सेवाको वाहवाही थियो । समयक्रममा काठमाडौंमा अन्य बाल उपचार केन्द्रहरु बढ्दै गएसँगै कान्तिको दुर्दशा सुरु भयो ।

‘कालान्तरमा गरिबका बालबच्चा उपचार गर्ने सरकारी अस्पताल बन्न पुग्यो, कान्ति’, यहीँ कार्यरत एक चिकित्सक भन्छन्, ‘सरकारले कान्तिमा ध्यान दिनै छाड्यो, गरिबका अस्पतालमा स्वास्थ मन्त्रीहरुको पनि आँखा पर्नै छाड्यो ।’

कान्तिमा कार्यरत चिकित्सकहरु यो अस्पतालको पहिलेको कान्ति फर्कन्छ भन्नेमा आशावादी छैनन् । सबैको एकै मत छ– सरकारी बेवास्ताकै कारण कुनै समयको प्रशिद्व कान्ति बाल अस्पताल धरासयी बन्दै गयो ।

अनलाइनखबरले पहिले र अहिले कान्ति अस्पतालसँग जोडिएका बाहिरका पाँच महानुभावसँग कुरा गर्दा पनि निचोड त्यही आयो– कान्तिको दुर्दशाको मुख्य कारण सरकारी बेवास्ता नै हो ।

कान्तिमा अहिले बिरामीको चाप र सेवाका लागि जनशक्तिबीच ठूलो खाडल छ । ध्वस्त संरचना र थोत्रिन लागेका उपकरणहरु यो अस्पतालको बिषेशता हुन पुगेको छ । राजनीतिक भागबण्डाबाट आएका कर्मचारीहरुको प्रशासनिक काम कमजोर छ ।

०७३ पुसमा कान्तिको आईसीयूमा जम्मा १८ शैय्या थिए । बेड अभावमा बिरामीहरुलाई अन्य अस्पताल रिफर गर्नुपर्थ्यो । कान्तिमा १५ सयदेखि २५ सयमा उपलब्ध हुने आईसीसू सेवा निजी अस्पतालमा १५ हजारदेखि २५ हजारसम्म तिर्नुपर्थ्यो । त्यहीबेला स्वास्थ्यमन्त्री बन्न पुगेका गगन थापाले कान्तिमा केही सुधारका कामहरु थालेका थिए ।

तर, गगन थापा स्वास्थमन्त्री हुँदा भएको अस्पताल सुधारको प्रयास उनको बहिर्गमनसँगै सकियो । त्योबेला स्वास्थ्य मन्त्रालयले बजेट पठाएर आईसीयूमा वेड संख्या ५२ पुर्‍याएको थियो । करारमा कर्मचारी भर्ना गरियो । तर, थापा मन्त्रीबाट हट्नासाथ स्वास्थ्य मन्त्रालयले त्यो बजेट रोक्यो । करारका नयाँ कर्मचारीहरुले तलब नपाएर काम छाडे । आईसीयूको बेड घटेर ३२ शैय्यामा झर्यो । अहिले दैनिक ५ देखि सातजना बिरामीलाई आईसीयूमा बेड नभएर अन्त जानुस् भन्न परेको एक चिकित्सक बताउँछन् ।

कान्ति बाल अस्पतालको पुरानो र साँघुरो अपरेशन थिएटरमा दुईवटा मात्रै टेबल छन् । बिरामीको चाप अनुसार एक पटकमा १० भन्दा बढी बिरामीलाई अपरेशन थिएटरमा लैजानु पर्नेमा दुईवटा अपरेशन गर्न पनि असुविधा झेल्नुपर्छ ।

०४२ सालको जनसङख्या हेरेर बनाएको अपरेशन थिएटरमै अझै काम गरिराख्नु परेको एक चिकित्सकले बताए । ‘बिरामीले अपरेशनका लागि ६-७ महिना कुर्नुपर्ने मुख्य कारण यही हो’, उनले भने, ‘इमर्जेन्सीमा अपरेशन गर्नुपर्ने बिरामीलाई पनि अपरेन थिएटरकै कारणले फर्काउनु परिरहेको छ ।’

सरकारी अस्पतालमा गरिब तथा निमुखा वर्गका लागि निःशुल्क मेडिकल वार्ड छुट्याइन्छ । त्यस्तो वार्डमा भर्ना भएका बिरामीलाई औषधि–उपचार र खानासमेत निःशुल्क हुन्छ । कान्तिको मेडिकल वार्ड सधैँ भरिभराउ हुन्छ । ५२ बेडको उक्त वार्ड हेर्ने नर्स भने जम्मा दुईजना छन् । मापदण्ड अनुसार त्यहाँ कम्तिमा १० जना नर्स हुनपर्ने हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार एकजना चिकित्सकले एक घण्टामा बढीमा चार जना बिरामी हेर्नुपर्छ । तर, कान्तिका चिकित्सकहरु घण्टामा १० देखि १५ जनासम्म बिरामी जाँच्न बाध्य छन् ।

जनशक्तिको चरम अभाव

कुल ६०७ जनाको दरबन्दी रहेको अस्पतालमा स्वास्थ्य मन्त्रालयले खटाएका २८४ र बाँकी विकास समितिबाट नियुक्तहरु छन् । अहिलेका स्वास्थमन्त्री उपेन्द्र यादवले विकास समिति खारेज गरेका छन्, जसले गर्दा कर्मचारी व्यास्थापनमा समस्या परेको अस्पताल स्रोतको भनाइ छ ।

कान्ति अस्पतालमा ३९ मेडिकल अफिसरको दरबन्दी रहेकोमा तीन जना मात्र कार्यरत छन् । यति पुरानो बाल अस्पतालमा बालरोग विशेषज्ञको दरबन्दी १२ वटा मात्र छ । कान्तिको चाप धान्न कम्तिमा ५० जना बाल रोग विशेषज्ञ चाहिने अस्पतालका पूर्व निर्देशक डा. अजित रायमाझी बताउँछन् ।

त्यस्तै, कन्सल्टेन्ट डाक्टरको कुल १० दरबन्दी रहेकोमा छ जना कार्यरत छन् । १८ जना जुनियर कन्सल्टेन्ट आवश्यक रहेकोमा १० जना कार्यरत छन् भने सरकारी ७४ र विकास समितिका ६४ गरी जम्मा १४८ नर्स छन्, जुन अत्यन्तै कम हो । तीमध्ये पनि कोही अध्ययन बिदा हुन्छन् त कोही सुत्केरी बिदामा ।

अजित रायमाझी

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जनरल वार्डमा एकजना नर्सले चारदेखि छ जनासम्म बिरामी हेर्नुपर्छ । अस्पतालमा तीन जना प्याथोलोजिस्टको दरबन्दी भए पनि एक जनामात्रै काममा खटिएका छन् । ‘यस्तो अवस्थामा कसरी दिन सक्छ कान्तिले सेवा ?’ पूर्वनिर्देशक डा. रायमाझी भन्छन्, ‘बितेको २५ वर्षमा हरेक निर्देशकले कर्मचारीलाई कसरी तलब खुवाउने भनेर टाउको दुखाउनु पर्‍यो । अरु कुरा कहाँबाट सोच्नु ?’

नेपालको कुल जनसंख्याको ४१ प्रतिशत अर्थात् एक करोड २५ लाख १४ वर्षमुनिका बालबालिका छन् । यत्रो जनसङख्याको उपचारका लागि बाल रोग विशेषज्ञ सेवा भएको एकमात्र अस्पताल हो, कान्ति । सातवटै प्रदेशबाट सेवा लिन बिरामीहरु यहाँ आइपुग्छन् ।

बालबालिकाको उपचारका लागि एकमात्र सरकारी रिफरल सेन्टर कान्तिलाई ३७० शैयाको अस्पताल भनिए पनि अहिले ३०७ शैया मात्रै छ । दैनिक आउने करिब ११ सय बिरामीमध्ये औषतमा ६० प्रतिशत ओपोडी र ४० प्रतिशत इमर्जेन्सीमा भर्ना हुन्छन् ।
यत्रा बिरामीलाई सेवा दिन विशेषज्ञ डाक्टर १२ जना मात्रै छन् । २५ जना रेजिडेन्ड डाक्टरको भरमा चलेको छ अस्पताल । कान्तिमा एक जना नर्सले ४० देखि ५० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।

खण्डहर भवनमा चलेको छ कान्ति

कान्ति बाल अस्पताल तीनवटा भवनमा सञ्चालित छ । ०७२ वैशाखको महाभूकम्पपछि अस्पतालका निर्देशक र कर्मचारी बस्ने भवनलाई रातो स्टिकर लागेको छ । आकस्मिक कक्ष रहेको भवनमा पहेँलो स्टिकर लगाइएको छ । ‘न मर्मत सम्भारका लागि बजेट आउँछ, न त नयाँ भवन बनाउने योजना नै छ’, एक चिकित्सक भन्छन्, ‘कान्तिलाई सुधार्न न सरकारले सोच्छ, न त यहाँको नेतृत्वले ।’

अस्पतालका उपकरणहरु पनि कामै नलाग्ने गरी पुराना भइसकेका छन् । पाँच वर्ष आयु भएको सिटीस्क्यान मेसिन ल्याएको आठ वर्ष पुग्दा पनि त्यसैले काम चलाउनुपरेको छ । एक्स–रे मेसिनको अवस्था त्यस्तै छ । १४ वर्ष पहिला जापान सरकारले दिएको डिजिटल रेडियोग्राफी (डीआर) ले काम चलाउनुपरेको छ ।

‘बिरामीलाई निमोनिया भएको थाहा पाउन पनि गाह्रो हुन्छ’ एक चिकित्सक भन्छन्, ‘करिब २ करोड रुपैयाँमा राम्रै मेसिन पाइन्छ, तर सरकारले तलब खुवाउन समेत नपुग्ने बजेट पठाएपछि मेसिन हाल्नतिर कसले सोच्ने ?’

कान्तिमा एमआरआई मेसिन नहुँदा बिरामीले पाएको सास्तीको कथा लामो छ ।

जापान सरकारको सहयोगमा बनेको अक्सिजन प्लान्ट पुरानो भएर काम गर्न छाडेको १० वर्ष भइसक्यो । गरिबको उपचार गर्ने गरिब अस्पतालले बाहिरबाट अक्सिजन किनेर खाँचो टारिरहेको छ ।

बिरामी बालबालिकालाई दिनुपर्ने औषधि, पञ्जाको पैसा काटेर अक्सिजनमा खर्च भइरहेको छ । मुटुको उपचार सेवा भएपनि क्याथल्याब नहुँदा कान्तिले बिरामीलाई गंगालाल रिफर गर्छ भने न्यूरोको अपरेशन गर्न वीर रिफर गर्नुपर्छ । त्यस्तै, हड्डी, आँखा, दाँत र बोन म्यारो सर्जरी गर्नुपर्ने बिरामीलाई अरु अस्पताल रिफर गर्नुपर्छ ।

अभावै अभाव, फोहरै फोहर

कान्ति बाल अस्पताललाई फोहोरमैलाले पनि बेहाल बनाएको छ । अस्पतालबाट निस्केको फोहोर निर्मलीकरण त कता हो कता, सामान्य व्यवस्थापन समेत गर्न नसक्दा अस्पताल दुर्गन्धित बनेको छ ।

भूकम्पमा बिग्रेको डिप बोरिङ मर्मत नहुँदा धमिलो पानी चलाउन बाध्यता छ । बजेट अभावमा अस्पतालले शौचालयका फुटेका पाइपहरु फेर्न समेत सकेको छैन ।

पूर्वनिर्देशक डा. रायमाझी देशले कुनै गतिलो स्वास्थ्य मन्त्री पाए कान्ति बाल अस्पतालको पुरानो कान्ति फर्कन धेरै समय नलाग्ने बताउँछन् । आर्थिक वर्षको सुरुमै जम्मा पाँच करोड बजेट दिए अस्पतालका समस्या दीर्घकालीन रुपमा टुंगिन सक्ने उनले बताए । ‘तर, यस्तासम्म स्वास्थ मन्त्री आए कि गरिबलाई उपचार गराउने वार्डमा आफ्नो मान्छेलाई उपचार गराउन दबाव दिए’, कान्तिलाई थला पार्ने विकृतिहरु औंल्याउँदै डा. रायमाझीले भने, ‘अस्पतालको विकासमा कुनै मतलव नगर्नेहरुले बर्बाद बनाए ।’

निर्देशक डा. गणेश राई

मन्त्री फेरिनासाथ निर्देशक बदल्ने प्रवृत्ति पनि अस्पतालका लागि अभिशाप बनेको उनको बुझाइ छ । ‘निर्देशक हुदाँ अस्पताल विकासको तीन वर्षे योजना बनाएर काम थाल्दाथाल्दै मन्त्री फेरिएपछि मेरो पद पनि खुस्काए’, आफ्नो अनुभव सुनाउँदै डा. रायमाझी भन्छन्, ‘यो पाराको निरन्तरताले पनि कान्तिलाई भद्रगोल बनायो ।’

अघिल्लो आर्थिक वर्षमा २१ करोड ८४ लाख बजेट पाएको कान्ति बाल अस्पतालका लागि यो आर्थिक वर्षमा १९ करोड २० लाख बजेट विनियोजन गरिएको छ । यसरी बजेट घटेर आएकाले काम गर्न झन गाह्रो हुने अस्पतालका वर्तमान निर्देशक डा. गणेश राई बताउँछन् ।

नजिकै रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टर अब्बल अवस्थामा चलिरहेको छ । सरकारले प्राथमिकतामा राखेको त्यो अस्पतालले आफैं कमाइ पनि गरिरहेको छ । तर, गरिबका बालबच्चा आउने कान्ति अस्पतालको बजेट सरकारले घटाइदिएको छ ।

कान्तिका डा. विष्णुरथ गिरी अरु अस्पतालले सेवा शुल्क बढाएर, पुग्दो जनशक्ति राखेर ‘ग्रोथ’ गरेको बताउँछन् । ‘तर, हाम्रोमा देशभरका गरिब बिरामीहरु आउने भएकाले सेवा शुल्क बढाउँन सकिँदैन’, उनी भन्छन्, ‘जनशक्तिको चरम अभाव छ, भौतिक संरचना ध्वस्त छ, बजेट पनि घटेर आउँछ, अनि कसरी हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?