Comments Add Comment

‘ल्यान्ड रोभर’लाई २० वर्षे प्रतिवन्ध नलाग्ने

१७ जेठ, काठमाडौं । सार्वजनिक प्रयोजनका ‘ल्यान्ड रोभर’ गाडीलाई सरकारको २० वर्षे प्रतिवन्धले नछुने भएको छ । काठमाडौं उपत्यकासहित महानगरपालिकाभन्दा बाहिर चल्ने सार्वजनिक प्रयोजनका ल्यान्ड रोभरलाई २० वर्षपछि पनि चल्न दिइने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा एक सूचना जारी गर्दै सार्वजनिक प्रयोजनका ल्यान्ड रोभर गाडीमा २० वर्षे आयुको सीमा हटाएको उल्लेख गरेको छ ।

सरकारले हालसम्म सबै प्रकारका सार्वजनिक सवारीलाई २० वर्षपछि सडकमा गुड्न नदिने गरी प्रतिवन्ध गरेको थियो । अब भने शक्तिशाली इन्जिनसहितका ल्यान्ड रोभर जीपहरु जति वर्ष पुराना भए पनि सकडमा गुड्न पाउनेछन् ।

त्यस्ता गाडी सञ्चालनका लागि लागि यातायात व्यवस्था विभागले तय गरेका सवारी सुरक्षाका मापदण्डहरु भने पूरा गर्नुपर्ने राजपत्रमा उल्लेख छ ।

२० वर्षे सार्वजनिक सवारीलाई सडकबाट हटाउने निर्णयले सबैभन्दा बढी मर्का पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा थपिएको थियो । त्यस क्षेत्रमा धेरै वर्षदेखि ढुवानी उद्यमीले निकै शक्तिशाली इन्जिन भएका ल्यान्ड रोभर गाडी चलाइरहेका थिए । सजिलै उकालो चढ्ने खालका यी गाडीले यात्रु पनि बोक्ने गरेका छन् । अप्ठारो बाटोमा चलिरहेका र अझै धेरै वर्षसम्म चल्ने सक्ने सवारीहरु सरकारी निर्णयको शिकार भएका थिए ।

सरकारको निर्णय व्यवहारिक नभएको भन्दै व्यवसायीहरुले सरकारलाई शक्तिशाली इन्जिन भएका र प्राविधिक रुपमा ‘फिट’ रहेका गाडीका लागि फरक निर्णय हुुनपर्ने माग गरिरहेका थिए ।

ग्रामीण कच्ची सडकमा सजिलै उक्लिने ‘फोर हि्वलर’ गाडीहरुले ढुवानी गरेर खाद्यान्न लगायतका उपभोग्य वस्तु पुर्‍याउन नसकेपछि पहाडी क्षेत्रका जनताको दैनिकीमा नै प्रभाव परेको छ ।

इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुरसहितका विभिन्न जिल्लामा यस्ता सवारीको प्रतिवन्धको असर ठूलो परेको छ । यसले पहाडी तथा उच्च पहाडी ग्रामीण क्षेत्रमा सवारीबाट यात्रा गरेर जाने यात्रुलाई पनि असर परेको थियो ।

यसैलाई देखाएर यातायात व्यवसायीले सबै खालका २० वर्षे सवारीमाथिको प्रतिवन्ध फुकाउन लबिङ गर्दै आएका थिए ।

तर, सरकारले व्यवहारिक पाटो हेरेर २० वर्ष पुराना ‘ल्यान्ड रोभर’ ब्रान्डका सार्वजनिक सवारीलाई चल्न दिने निर्णय लिएको यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment