Comments Add Comment

सरकार, काठमाडौंमा दिसा पिसाब गर्न पाइएन !

केही दिनअघि सौभाग्यवस जापानमा आयोजना भएको टुरिजम फोरमको बैठकमा सरिक हुने मौका जुर्‍यो । त्यहाँ विश्वका १७ वटा देशका पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरु भेला भएका थिए । नेपालबाट भने मेरोमात्रै प्रतिनिधित्व थियो ।

त्यहाँ विभिन्न देशका पत्रकारले आफ्नो देशको पर्यटनसँगसम्बन्धी दस्तावेजहरु प्रस्तुत गरेका थिए । मैले पनि पावर प्वाइन्ट प्रेजेन्टेसन तयार गरेको थिएँ । आफ्नो पलो आएपछि हाम्रो देशले हाल गरेका पर्यटन प्रवर्धनका प्रयासहरुको प्रस्तुतीकरण गरें ।

मैले भ्रमण वर्ष २०२० र सरकारको २० लाख पर्यटकलाई स्वागत गर्ने लक्ष्य रहेको सुनाएँ । त्यस फोरममा एकजना पेरुका पत्रकार (जो नेपाल धेरैपटक पुगेका रहेछन् र नेपालको बारेमा धेरै कुरा को जानकार रहेछन) उनले मलाई त्यहाँ पसिना नै छुटाइदिए ।

उनले २० लाख पर्यटक भित्र्याउने लक्ष्य हासिल गर्ने तपाईको देशले कस्तो तयारी गरेको छ भनेर सोधे । मैले जानेसम्म बढाइ चढाइ गरेर भनिदिएँ । तर, उनले तपाईंको देशको राजधानीमा सार्वजानिक शौचालय के पर्याप्त छ ? भनेर सोधे

। जरुर पक्कै पनि । पर्याप्त छ भनेर अड्डी कसेर बोल्दा उनले मलाई नाजावाफ नै बनाइदिए । उनी २ महिनाअघि मात्रै नेपाल आएका रहेछन् र उनी स्वयमलाई काठमाण्डौको ट्राफिक जाम र शौचालयको अभावले सताएको रहेछ ।

बौद्धको स्तुपा घुमेर फर्कंदा उनलाई पिसाब लागेछ । साइकलमा सवार उनी पिसाब च्यापेर सोध्दै खोज्दै बढो मुस्किलले बसन्तपुरमा पुगी पिसाब गरेको घटना उनले सुनाए । यसबारेमा उनले आफ्नो देशमा पुगेर नेपालमा सौचालय नहुँदा परेको समस्याबारे आफ्नो यात्रावृृतान्त प्रकाशन गरेको सुनाउँदा उपस्थित सबैजना गलल हाँसे । मलाई आफ्नो देशको बेइज्जत भएकोमा साह्रो नमज्जा लागेर आयो ।

त्यहाँ सहभागीलाई आश्वासन दिँदै मैले थप भनें कि, अब केही गर्ने सरकार आएको छ हाम्रो देशमा । तसर्थ अहिले त हाम्रो राजधानीमा धेरै शौचालयहरु बन्दैछन् । अनि बनाउन नमिल्ने स्थानमा घुम्ती शौचालयहरु स्थापना भइ नै सकेका छन् भनेर झुट बोलेर भए पनि देशको बेइज्जत हुनलाई जोगाउने कोशिस गरें । तर, उनस्हरु कत्तिको विश्वस्त भए, त्यो भन्न सकिन्न ।

आजसम्म कठमाण्डौ उपत्यकाले कति मेयर, सांसद, वडाअध्यक्ष, मन्त्री, प्रधानमन्त्री र नेताहरु पायो । तर, हाम्रो राजधानीमा यात्रा गर्ने जोसुकैलाई आइपर्ने सबैभन्दा ठूलो हाउगुजी भनेकै शौचालयको असुविधा हो । तर  म विगत डेड दशकदेखि राजधानीमा अध्ययन, बेरोजगारी अनि नोकरी सबै स्टेजमा बसिरहँदा मनमा खडि्करहने सवाल हो- अपर्याप्त शौचालय ।

जनसंख्याको चपलाई हेर्दा अहिले निश्चित स्थानहरुमा मात्रै नाम मात्रका शौचालय छन् । त्यसमा न त पानी हुन्छ,, न त कुनै सरसफाइ । त्यो पनि सबै ठाउँमा भएको भए त हुन्थ्यो । बालुवाटार नेर पिसाब लागेको मान्छे बिसर्जन गर्न रत्नपार्क आउनुपर्छ । अनि त्यो वीचमा उनको मानसिक पीडा कस्तो हुँदो हो ।

झोलाभरि सरसमान र तरकारी बोकेर सार्जजानिक सौचालय खोज्दै भौतारिने ठुली आमालाई सोध्दै थाहा हुन्छ यसको पीडा । केही उपाय नलागेपछि जो घरमै पुगेर पिसाब फेर्छु भनेर चढेको टेम्पोले ५ किलोमिटर पार गर्न जामका कारण लामो समय लगाउँदा त्योबेलामा उनलाई कस्तो होला ?

सार्है गाह्रो परेका बेला म अस्पताल नजिक हुँदा त्यहीँ छिर्ने गर्छु । तर, सबै स्थानमा अस्पतालहरु हुँदैनन् । पसलहरुका सबै शौचालयमा ताल्चा लगाइएको हुन्छ । पुरुषको तुलनामा महिला दिदीबहिनीहरुले हाम्रो राजधानीमा यो समस्या झनै बढी सहनु परिरहेको छ । स्वभावैले महिलाहरुलाई पुरुषलाई भन्दा अप्ठ्यारो हुन्छ ।

यो विषयमा केही लेख्नुपूर्व मैले एकजना चिकित्सकसँग पानी र पिसाबको विषयमा केही जिज्ञासा राख्दा उनको निश्कर्ष यस्तो थियो- पानी प्रशस्त पिइएन भने रोग लाग्छ । पानी पिएर पिसाब बढी समय रोकेर राखियो भने त्यसले झनै ठूलो समस्या आउँछ । पिसाब रोक्नाले मृगौलासम्बन्धी रोग लाग्न सक्छ । स्वास्थ्यकै दृष्टिकोणले हेर्ने हो भने पनि दैनिक ३ देखि ५ लिटरसम्म पानी पिउनुपर्छ । स्वस्थ्य व्यक्तिले औसतरुपमा आधा लिटरजति पिशाव २४ घण्टामा फाल्नुपर्ने हुन्छ ।

सरकारले खुला ठाँउमा पिशाब गर्न निरुत्साहित गर्नका लागि भित्ताभित्तामा भगवानको फोटो पनि टाँस्यो, ठूला ठूला अक्षरले चेतावनी पनि लेख्यो । खुला दिसापिशाबमुक्त क्षेत्र पनि घोषणा गर्‍यो । तर, सुलभ शौचालय भने बनाएन ।

घोषणा जेसुकै गरिएता पनि चेतावनी जेसुकै लेखिएता पनि जुनसुकै ठाउँमा जुनसुकै समयममा जोसुकै व्यक्तिलाई पिशाव लाग्न सक्छ । पिशाव लागेपछिको उपाय सबैको एउटै हुन्छ, फरक यति हो त्यो कहिले हाम्रो नियन्त्रणमा हुन्छ, कहिले हुँदैन ।

हाम्रो मुलुक समाजवादउन्मुख भन्नलाई त भनिन्छ । तर, अझै पनि केही बचेखुचेका सार्वजानिक शौचालयमा पिसाब फेरेको ५, दिसा गरेको रु १० लेखिएको देख्दा समाजवादको सिद्धान्त प्रतिपादन गर्ने समाजशास्त्रीहरु नै कुरी कुरी गर्दा हुन् ।

अहिले सरकारले यो विषयमा सोच्नै सकेको छैन कि सार्वजानिक सौचालयको अभावमा काठमाण्डौ उपत्यकामा हिँडडुल गर्नेलाई कतिको असहज भैरहेको छ ? यो आपतको समयमा सबैभन्दा बढी सरापिने एवं गाली खाने निकाय भनेको राज्य हो ।

वर्तमान सरकारले जति नै राम्रो काम गरेको भए पनि त्योबेला पक्कै पनि सरकारलाई जाबो यति ट्वाइलेट समेत बनाउन नसक्ने सरकार भनेर सत्तोसराप गर्ने हुँदा सो अबगालबाट बच्न र सबैको लोकप्रिय हुन भए पनि राजधानी लागायत अन्य बाक्लो बस्ती भएका शहरहरुमा यथासक्दो चाँडो शौचालय बनाउन पहलकदमी गर्नैपर्छ ।

यो कुरा जतिसक्दो चाँडो प्रधानमन्त्री सामुन्ने पुर्‍याउन सकिएको अवस्थामा केही न केही कदम चल्ला कि ? अनि मात्रै हाम्रो पर्यटन उद्योगले फस्टाउन पाउँछ अन्यथा हाम्रो महत्वाकांक्षी योजना भ्रमण वर्ष- २०२० सफल होला । अन्यथा यो केवल नारामै मात्र सीमित हुन बेर लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment