Comments Add Comment

महोत्तरीमा रोकिएन डकैती, कुटपिट गरेर फेरि लुटियो १५ लाख

१९ असार, महोत्तरी । लुटेरा समूहको गतिविधिबाट आक्रान्त महोत्तरीमा घरधनीलाई कुटपिट गरी १५ लाख रुपैयाँ बराबरको धनमाल लुटपाट भएको छ । कुटपिटबाट ३ जना गम्भीर घाइते भएका छन् ।

बर्दिवास नगरपालिका–७ का रामसुनर महतो र ६ का चन्देश्वर महतोको घरमा छिरेर लुटेराको अज्ञात समूहले गएराति कुटपिट र लुटपाट गरेको हो ।

समूहमा आएको हतियारधारी डाँकाको समूहले ३ जनालाई निर्घात कुटपिट गरेर १५ लाख बराबरको धनमाल लुटेको इलाका प्रहरी कार्यालय, बर्दिबासका डीएसपी निशान्त थापाले बताए ।

प्रहरीका अनुसार, डाँकाको कुटाइबाट चन्देश्वर महतो, जयवती देवी र उमेश महतो गम्भीर घाइते भएका छन् । बर्दिवासस्थित बर्दिवास जनसेवा अस्पताल पुर्‍याइएका उनीहरुको अहिले त्यहाँ उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस महोत्तरीमा लाखौंको डकैती, गुहार माग्दा प्रहरीले भन्यो- हतियार छैन

लुटपाटमा संलग्न १ जनालाई स्थानीयले एक थान नलकटुवा पेस्तोलसहित नियन्त्रणमा लिएका छन् । उनको परिचय खुलेको छैन ।

नियन्त्रणपछि आक्रोसित स्थानीयले कुटपिट गर्दा लुटेरा समूहका ती व्यक्ति घाइते भएका छन् । प्रहरीका अनुसार, उनको अहिले प्रहरी घेरामा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी र अनुसन्धान भइरहेको जनाएको छ ।

महोत्तरीमा नौलो रहेन लुटपाट

०७५ भदौ २२ को मध्यराति पनि भंगाहा नगरपालिका–६, जमुनियामा डाँका समूहले लुटपाट गरेका थिए । ०७२ असोज २ मै पनि महोत्तरीको गौशाला नगरपालिका–५, मरहा नदी नजिकै दिउँसै १ व्यक्तिबाट ५ लाख लुटिएको थियो ।

त्यसको २ महिनापछि सोनमा गाउँपालिका ३ का श्रीचन्द्र यादवको घरबाट लुटेरा समूहले १० लाख रुपैयाँ बराबरको धनमाल लुटपाट गरेका थिए । गत जेठमा जलेश्वर जाँदै गरेको रात्रिकालीन लुटेराको समूहले नियन्त्रणमा लएको थियो । यही अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो ।

महोत्तरी लुटेरा समूहको गतिविधिले आक्रान्त छ । यसअघि जलेश्वर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राकेश राउत नै कुटपिट र लुटपाटमा संलग्न भएको समाचार प्रकाशमा आएको थियो । उनीमाथि आफ्नै वडाका वासुकी चौधरीलाई कुटपिट गरेर घाइते बनाएको र एक लाख रुपैयाँ लुटेको आरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment