Comments Add Comment

सरोकारवालासँग छलफल गर्न मन्त्री महासेठले मानेनन्

१९ असार, काठमाडौं । विकास समितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरोकारवालाहरुसँग छलफल गर्न अस्वीकार गरेका छन् ।

समितिले स्मार्ट लाइसेन्सको विषयमा छलफल गर्न मन्त्री महासेठ, मन्त्रालयका सचिव, राष्ट्रिय बहिरा महासंघका प्रतिनिधिलगायतलाई बिहीबार बोलाइएको थियो । सुस्त श्रवण भएकाहरुलाई पनि लाइसेन्स दिनुपर्ने माग राष्ट्रिय बहिरा महासंघले राखेकाले उसलाई पनि बोलाइएको समितिको तर्क छ ।

तर बैठक सुरु हुनासाथ मन्त्री महासेठले ‘म केही कुरा राख्छु’ भन्दै बोल्न समय मागे । उनले स्टेक होल्डर अगाडि मन्त्रीलाई राखेर छलफल गराउनु ‘नर्मस’विपरित भएको बताए ।

मन्त्री महासेठले भने, ‘विकास समितिले हामीलाई बोलाएको छ, प्रश्नहरु राख्नु भएको छ, हामीले जवाफ दिने हो । तर स्टेक होल्डर अगाडि हामीले बोल्नु नर्मसभित्र पर्दैन, किनकी कुनै पनि समितिमा यसरी छलफल आजसम्म भएको छैन ।’ उनले पहिले दुवै पक्षलाई अलग-अलग बोलाएर छलफल गर्ने, त्यसपछि मात्रै दुवै पक्षलाई राखेर दोहोरो छलफल गर्नुपर्ने बताए ।

समिति सभापति कल्याणी खड्काले आफूहरुले नियम विपरीत बैठक नराखेको बताइन् । तर मन्त्री महासेठले प्रतिवाद गरे । सभापति खड्का र मन्त्री महासेठबीच बैठकमा जुहारी चल्यो ।

सभापति कल्याणी खड्का- होइन मन्त्री ज्यू, मलाई नर्मसविरुद्ध हुन्छ जस्तो लाग्दैन । उहाँहरुले राखेका कुरा सुन्दिने हो । अहिले निष्कर्ष निकाल्ने र डिस्कसन गर्ने होइन ।

मन्त्री रघुवीर महासेठ- यसमा के छ भने नि सभापति ज्यू, पत्रकार मित्रहरु आउनु भएको छ । उहाँहरुलाई राज्यले दिएको अधिकारभित्र पर्छ । तर, विकास समिति वा कुनै पनि समितिमा स्टेक होल्डरलाई राखेर छलफल गरिँदैन । मेरो कुरा यतिमात्रै हो ।

सभापति खड्का- ठीकै छ, माननीय मन्त्री ज्यूलाई मैले फेरि के भन्छु भने नियमविरुद्ध चाहिँ होइन । अप्ठ्यारो हुन्छ एउटा कुरा त होला, तर यो नियमविरुद्ध हुन्छ जस्तो मलाई लाग्दैन ।

मन्त्री महासेठ- मैले नियम भनेकै छैन, नर्मस भनेको छु ।

सभापति खड्का- नियम, नर्मस त्यही कुरा हो ।

त्यसपछि सभापति खड्काले मन्त्रालयको तर्फबाट सचिवलाई कुरा राख्न निर्देशन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment