Comments Add Comment

चितवनका २१ विद्यालय मर्ज, २२ मावि दरवन्दीविहीन

१९ असार, चितवन । चितवनका २१ वटा सामुदायिक विद्यालय गएको वर्ष मर्ज भएका छन् । मर्ज हुनेमा चितवनको माडी नगरपालिकाका सबैभन्दा धेरै १३ विद्यालय छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ चितवनका अनुसार माडी नगरपालिकाका १२ प्रावि र १ निमावि मर्ज भएका हुन् ।

यस्तै पूर्वी चितवनको राप्ती नगरपालिकामा ४, रत्ननगर नगरपालिकामा २ प्रावि, कालिका नगरपालिकामा १ प्रावि र भरतपुर महानगरपालिकामा १ प्रावि मर्ज भएको शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका शाखा अधिृकत हेमचन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार इच्छाकामना गाउँपालिकाका ७ विद्यालय मर्ज हुने क्रममा रहेका छन् । ती विद्यालय चालु शैक्षिक सत्रमा मर्ज हुने उनले बताए ।

चितवनको भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै १२३ वटा सामुदायिक विद्यालय छन् । यस्तैं, इच्छाकामना गाउँपालिकामा ५८, कालिका नगरपालिकामा ३६, खैरहनी नगरपालिकामा २८, माडी नगरपालिकामा ३४, राप्ती नगरपालिकामा ५० र रत्ननगर नगरपालिकामा ३० सामुदायिक विद्यालय छन् ।

अधिकत बसाइसराइँ, जन्मदर कमी र युवाहरु विदेश पलायन हुँदा विद्यार्थीको संख्या कम भएको कार्यालयका प्रमुख भूमिलाल शर्मा सुवेदीले जानकारी दिए ।
प्राविलाई आधा घण्टाको दूरीमा र माविलाई एक घण्टाको दूरी कायम हुने गरी विद्यालय मर्ज गरिएको उनको भनाइ छ ।

पछिल्लो समयमा औसत परिवारको संख्या जम्मा चारमा झरेको पाइएको शर्माले बताए । निजी विद्यालयहरुमा समेत पछिल्लो समयमा विद्यार्थीको संख्यामा कमी भएको आफूले पाएको उनले बताए ।

जिल्लाका २२ सामुदायिक र ५४ निमावि दरवन्दीविहीन

चितवन जिल्लाका ५२ वटा सामुदायिक माविहरु मध्ये २२ वटा सामुदायिक विद्यालय दरबन्दीविहीन रहेका छन् ।

यस्तैं ७५ वटा निमावि मध्ये ५४ वटा निमाविमा एउटा पनि सरकारी दरबन्दी छैन् । ती विद्यालयहरुमा कतै निजी स्रोतबाट कतै तल्लो तहमा पढाउने शिक्षकहरुले माथिल्लो कक्षामा पढाएर जेनतेन धानिरहेको शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका प्रमुख भूमिलाल शर्मा सुवेदीले जानकारी दिए ।

‘आफैंमा पनि सरकारी विद्यालयमा दरबन्दी कम छ, त्यसमाथि दरबन्दी मिलान नभएको बर्षो वित्यो,’ कार्यालय प्रमुख शर्माले भने, ‘दरवन्दीको व्यवस्था र मिलान नहुँदा कतिपय सामुदायिक विद्यालयहरुलाई अति नै समस्या परिरहेको छ ।’

सामुदायिक विद्यालयलाई समस्या परेको जानकारी आफुहरुलाई भए पनि आफ्नो तहबाट यो काम गर्न नसकेको शर्माले बताए ।

चितवनमा गत बर्षको शिक्षक विद्यार्थीको अनुपात हेर्दा कक्षा १ देखि ५ सम्म १७ विद्यार्थी बराबर एक शिक्षक, कक्षा ६ देखि ८ सम्म १ शिक्षक बरावर ४१ विद्यार्थी र कक्षा ९ देखि १० सम्म १ शिक्षक बरावर ३८ विद्यार्थी रहेको पाइएको छ ।

सरकारले कक्षा एक देखि १० सम्मप्रति शिक्षक ४५ जना विद्यार्थी हुनुपर्ने मापदण्ड बनाएको छ । तर, कक्षा १ देखि ३ सम्म चलेको विद्यालयमा दुइवटा दरवन्दी र कक्षा ३ देखि ५ सम्म चलेको विद्यालयमा तीनवटा दरवन्दी हुनुपर्ने व्यवस्था गरेको छ ।

विभिन्न समस्याका बाबजुद पनि जिल्लाका सामुदायिक विद्यालयहरुले राम्रो नजिता ल्याउन सफल भैरहेको उनको भनाइ छ ।

अघिल्लो वर्षभन्दा गत वर्षको एसईई परीक्षामा चितवनबाट ३.६ जीपीएभन्दा माथि ल्याउने विद्यार्थीको संख्या बढेको छ ।

अघिल्लो वर्ष ६९० जना विद्यार्थीले जिल्लाबाट ३.६ भन्दा माथि जीपिए ल्याएकोमा गत वर्षको परीक्षामा ८०९ जनाले ल्याउन सफल भएको शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment