Comments Add Comment

विराटनगरका वडा अध्यक्षमाथि हेलमेट प्रहार

२२ असार, विराटनगर । सडक विस्तारको विषयमा विवाद हुँदा विराटनगरका जनप्रतिनिध कुटिएका छन् । विराटनगर– १५ स्थत प्रजातन्त्र मार्गको भित्री सडकमा नाला निर्माण गर्ने विषयमा विवाद हुँदा वडा अध्यक्ष असलम आलम कुटिएका हुन् । उनलाई स्थानीय युवाले हेलमेट प्रहार गरेका थिए ।

सडक विस्तारको विषयमा विवाद भएपछि अध्यक्ष आलम छलफलका लागि पुगेका थिए । सोही क्रममा शनिवार उनीमाथि स्थानीय दुई युवाले हेलमेट प्रहार गरेका हुन् ।
अध्यक्ष कुटिएपछि प्रहरीले सन्तोष साह र विजय साहलाई नियन्त्रणमा लिएको थियो । साह दाजुभाइ हुन् । उनीहरु शनिबार साँझ नै छुटेका छन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले दुबै पक्षले सहमति गरेपछि मिलापत्र गराएर छाडिएको बताए ।

वडा अध्यक्ष आलमले आफूमाथि हेलमेट प्रहार भएको बताए । तर आफ्नै वडाका बासिन्दा भएका कारण मिलापत्र गरिएको बताए । आफ्नै वडाका वासिन्दा भएका कारण माफी मागेपछि मिलापत्र गरिएको आलमको भनाइ छ ।

के हो विवाद ?

विराटनगर महानगरपालिका १५ स्थित प्रजातन्त्र मार्गसँग जोडिएको भित्री सडकमा नाला निर्माणका क्रममा विवाद सुरु भएको थियो । नाला निर्माण गर्दा आफ्नो जग्गाको धेरै भाग सडकमा परेपछि विजय र सन्तोष आक्रोशित बनेका थिए ।

अन्य व्यक्तिको जग्गा थोरै क्षेत्र अधिग्रहण गरेको र आफ्नो जग्गामा करिब डेढ मिटर बढी क्षेत्र हडप्न खोजेको भन्दै विरोध गरेपछि विवाद बढेको थियो । सोही विवादका कारण अध्यक्षमाथि विजयले हेलमेट प्रहार गरेको स्थानीयले बताए ।

वडा अध्यक्ष आलमलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका विजय साह सबै विषय मिलेका कारण आफू केही नबोल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment