Comments Add Comment

देउवा–पौडेल सहमति : अन्तरिम संरचनालगत्तै महाधिवेशनको तयारी

केके छन् केन्द्रीय समितिका १४ एजेण्डा

Photo Credit : विश्वप्रकाश शर्मा

२२ असार, काठमाडौं । नेपाली कांग्रेसले अन्तरिम संरचना बनाएलगत्तै १४ औं महाधिवेशनको प्रक्रिया सुरु गर्ने भएको छ ।

यो सहमतिसँगै आइतबार साँझ केन्द्रीय कार्यसमितिको बैठक सुुरु भएको छ । बैठकमा १४ वटा एजेण्डा प्रस्तुत भएको छ ।

४ औं महाधिवेशनलाई बैठकको एजेण्डा नबनाएपछि झण्डै चार घन्टा कोठे बैठक चलेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनलाई एजेण्डा नबनाए बैठक नै बहिस्कार गर्ने चेतावनी दिए । अन्तिममा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टीको अन्तरिम संरचना बनाए लगतै १४ औं महाधिवेशनको कार्यतालिका बनाएर प्रक्रिया अगाडि बढाउने विषयलाई बैठकको एजेण्डा बनाउने सहमति भएको छ ।

‘धेरै पटक छलफल गर्दा पनि सहमतिको विन्दु नभेटिएपछि यो समझदारीमा पुगेका हौं’ नेता अर्जुननरसिंह केसीले भने ।

कांग्रेसले वडा, स्थानीय तह, क्षेत्रीय र प्रदेशमा अन्तरिम संरचना बनाउनुपर्नेछ । उनका अनुसार आगामी भदौभित्र अन्तरिम संरचना बनाइसक्ने लक्ष्य छ ।

अन्तरिम संरचना बनाएलगत्तै १४ औं महाधिवेशनको कार्यातालिका बनाएर प्रक्रिया अगाडि बढ्नेछ । यसो गर्दा आगामी फागुनमा भने महाधिवेशन नहुने पक्का जस्तै भएको छ । कांग्रेसको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल फागुनमा पूरा हुन्छ । कांग्रेसको विधानअनुसार ६/६ महिना गरेर एक वर्ष म्याद थप गर्न सकिन्छ ।

अरु केके छन् एजेण्डा ?

संस्थापन र पौडेल समूहबीच सहमति भएसँगै सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेण्डा प्रस्तुत गरेका छन् । पहिलो एजेण्डा नियमावली प्रस्तुत गर्ने भने दोस्रो अन्तरिम संरचना गठन पश्चात १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरेर प्रक्रिया थाल्ने छ ।

यस्तै क्रियाशील सदस्यता नवीकरण, राष्ट्रिय जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठान र अनुशासन समितिको प्रगति विवरण, भ्रातृ तथा शुभेच्छुक संगठनको विधान संशोधन र मान्यता प्रदान, कार्यकाल सकिएका भ्राृत संगठनहरु, जनसम्पर्क समितिलगायत पनि बैठकको एजेण्डामा परेका छन् ।

आइतबारकै बैठकमा संयोजक रमेश लेखकले नियमावली प्रस्तुत गरेका छन् । अर्को बैठक असार २७ गते बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment