Comments Add Comment

गर्मी छल्न पोखरा आउँछन् भारतीय पर्यटक

२३ असार, पोखरा । भारतको उत्तर प्रदेश, आगराका केबी कुमार करिब २ हप्ताअघि नेपाल आएका थिए । ७ जना साथीसहित नेपाल आएका उनी पोखरा, मुक्तिनाथ र काठमाडौं पुगेर फर्किएका थिए । बुधबार आगरामा भेटिएका उनले नेपाल सुन्दर देश भएको र त्यसमा पनि पोखरा अझै सुन्दर लागेको प्रतिक्रिया दिए ।

पतनाका कमलेशले भारतको गर्मी छल्न पोखरा नजिकको सुन्दर ठाउँ भएको बताए । उनले भने, ‘यहाँ (भारत) मा यति धेरै गर्मी छ । तर पोखरा पुग्दा एकदमै शीतल महसुस भयो । विश्वास गर्नै गाह्रो लाग्ने !’ कमलेश आफ्नो परिवारसहित नेपाल घुम्न आएका थिए । नेपालको धार्मिक क्षेत्र र हरियालीसहितको शीतल वातावरणले मनै हरेको उनको भनाइ थियो ।

भारतमा यतिबेला चर्को गर्मी हुने भएकाले त्यसलाई छल्न उनीहरुले भरपर्दो गन्तव्य पोखरा बनाएका हुन् । विशेषगरी गुजरात, चेन्नाई, हरिद्वार, पतना, लखनाउबाट भारतीय पर्यटक नेपाल आउने पर्यटन व्यवसायी बताउँछन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका अनुसार सन् २०१८ मा २ लाख बढी भारतीय पर्यटक पोखरा आएका थिए । तर, ती संख्या पनि हवाईमार्ग प्रयोग गरेर नेपाल आउने भारतीय पर्यटकको मात्रै हो । ‘हामीसँग हवाइमार्ग प्रयोग गरेर आउने पर्यटकका मात्रै तथ्यांक छ,’ पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराजलामिछानेले भने, ‘खुल्ला नाका भएकाले स्थलमार्ग भएर नाका हुँदै आउने भारतीय पर्यटकको तथ्यांक राख्न सकेका छैनौं ।’

गतवर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आइसकेपछि भने भारतीय पर्यटक संख्या बढ्न थालेको लामिछाने बताउँछन् । पोखरा आउने मासिक ३६ हजार पर्यटमा सरदर २५ हजार पर्यटक भारतीय नै हुने पर्यटन बोर्ड तथ्यांक छ ।

पश्चिमाञ्चल होटल संघ (हान)ले ८ वर्षदेखि ‘चलिए पोखरा’ अभियान चलाइरहेको छ । अध्यक्ष विकल तुलाचन अभियानमार्फत नजिकका सीमावर्ती क्षेत्रमा प्रचारप्रसार गरेपछि भारतका धेरै ठाउँबाट पोखरामा पर्यटक आउन थालेको बताए ।

भारतीय पर्यटकका लागि नेपाल मार्चदेखि जुन र अगस्तदेखि डिसेम्बर महिना उत्तम मौसम मानिन्छ । तर अन्य मौसममा पनि भारतीय पर्यटक आउन थालेका छन् ।

मार्चदेखि जुनमा भारतीय पर्यटक गर्मी छल्न नेपाल आउने गरेका छन् । अगस्तदेखि डिसेम्बरसम्म धार्मिक तीर्थयात्रा तथा वातावरणीय सुन्दरता नियाल्न आउने पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष हरि शर्मा गैह्रेको अनुभव छ । ‘नेपालमा साहसिक खेलको मजा लिन, धार्मिक तीर्थयात्रा गर्न र पारिवारिक घुमघाम तथा हनिमुन मनाउन ३ थरी भारतीय पर्यटक बढी आउने गर्छन्,’ उनले भने ।

भारतीय पर्यटक नेपालमा सरदर ५ दिन र पोखरामा मात्रै २ दिन बिताउने गरेको व्यवसायीको भनाइ छ । उनीहरुले सरदर दैनिक रुपमा ३० देखि ४० डलरसम्म खर्च गर्ने गरेका छन् । भारतीय पर्यटक पोखरा हुँदै मुक्तिनाथसम्म पुग्ने गरेका छन् ।

‘मुक्तिनाथसम्म पुग्ने पर्यटक धार्मिक पर्यटक हुन्,’ होटल संघका महासचिव गणेश पहारीले भने, ‘उनीहरु सबै ग्रपमै आउँछन् । व्यक्तिगत रुपमा आउने एकदमै कम आउँछन् ।’

‘न बाटोमा राम्रो रेस्टुरेन्ट छ न चर्पी छ, किन आउने नेपाल ?’

केही दिन अघि नेपाल पर्यटन बार्डको सहकार्यमा पश्चिमाञ्चल होटल संघ ‘चलिए पोखरा’को आठौं संस्करण लिएर भारतका पतना, लखनाउ, आगरा, रक्सौलसम्म पुग्यो । कार्यक्रममा अधिकांश भारतीयले पोखरामा शौचालयको ठूलो समस्या रहेको अनुभव सुनाए ।

‘नेपालको राजधानी काठामाडौंमै हामीले अपमानमात्रै भोग्छौं । न बाटोमा राम्रो भारतीय खाजा खाने रेस्टुरेन्ट हुन्छ न शौचालय हुन्छ,’ कार्यक्रममा सहभागी एकजनाले प्रश्न राखे, ‘भौतिक पूर्वाधारको विकास पनि छैन हामी किन नेपाल आउने ?’ उनले नेपाल आउँदा भारतीय नागरिकलाई हेयको दृष्टिले हेरिने गरेको अनुभव सुनाए ।

कार्यक्रममा उनीहरुले नेपालभारत नाकामा पनि अत्यन्तै झन्झटिलो प्रक्रिया रहेको र त्यसलाई अनलाइन प्रक्रियामा लैजान सुझाए । ‘नाकामै ३/४ घण्टा रोकिनुपर्छ । त्यसमा पनि हामीले पूरा गर्नुपर्ने प्रक्रिया एकदमै झन्झटिलो हुन्छ,’ कार्यक्रममा सहभागी एकले भने । नेपालमा पथप्रर्दशक तथा ट्याक्सी चालकले ठग्ने गरेको गुनासो समेत उनीहरुले सुनाएका थिए ।

नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । गण्डकी प्रदेश सरकारले सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । त्यसै अभियानमार्फत सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष र सन् २०२० लाई छिमेकी राष्ट्र भ्रमण वर्ष घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment