Comments Add Comment

भैंसेपाटीबाट थुनुवा भाग्नुमा प्रहरीकै लापरवाही भएको प्रारम्भिक निश्कर्ष

२४ असार, काठमाडौं । प्रहरीले ललितपुरको भैंसेपाटी प्रहरी प्रभागबाट तीन अभियुक्त भाग्नुमा त्यहाँ कार्यरत अधिकृतको लापरवाही देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी र ललितपुर प्रहरी परिसर, जावलाखेलको टोलीले गरेको स्थलगत निरीक्षणपछि प्रहरी अधिकृतकै लापरवाहीका कारण अभियुक्त भागेको निश्कर्ष निकालिएको हो ।

गएराति भैंसेपाटी प्रहरी प्रभागमा राखिएका डाँका चोरी मुद्दाका शमशेर माझी, रुद्रलाल श्रेष्ठ र लागूऔषध मुद्दाका रविकुमार तिम्सिना फरार भएका थिए । चौविसै घन्टा सुरक्षाकर्मीको घेरामा रहने हिरासत कक्षबाट कैदी भाग्नुले प्रहरीको चरम् असंवेदनशीलता देखाएको सुरक्षा अधिकृत बताउँछन् ।

निरीक्षणमा पुगेका एक अधिकृतका अनुसार शौचालयभित्र रहेको ग्रिल काटेर उनीहरु भागेको देखिएको छ । तर, उनीसम्म ग्रिल काट्ने ‘ह्याक्सो’ ब्लेड कसले पुर्‍यायो भन्ने विषय गम्भीर भएको ती अधिकृत बताउँछन् ।

समितिका एक अधिकृतका अनुसार प्रभागमा थोरै जनशक्ति भएकाले एउटै व्यक्तिले हिरासत र बाहिरको सुरक्षा हेर्दा कैदी भाग्न सफल भएको हुनसक्ने देखिएको छ ।

तर, सुरक्षामा रहेका अधिकृतको सहयोगविना त्यो सम्भव छ/छैन भन्ने प्रश्न पनि उब्जिएको ती अधिकृतको भनाइ छ । घटनामा लापरबाही गरेको आरोपमा ड्यूटीमा खटिएका तीन प्रहरी कारबाहीमा परिसकेका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्री भन्छन्, ‘प्रहरी कार्यालयका ड्यूटी अफिसर असई, हिरासतका कमाण्डर हवल्दार र राति ड्यूटीमा खटिएका जवान गरी ३ जनालाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’ निम्बित हुने प्रहरीको परिचय भने खुलाइएको छैन ।

डीआईजी क्षेत्रीले घटनामा प्रहरीको संलग्नता थियो/थिएन भन्ने विषय अनुसन्धानकै क्रममा रहेको अनलाइनखबरलाई बताए । ललितपुर प्रहरी परिसर, जवालाखेलकी एसपी दुर्गा सिंहको नेतृत्वमा गठित छानविन समितिले निष्कर्ष बुझाएपछि मात्रै विस्तृतमा खुल्ने उनको भनाइ छ ।

फरार भएका तीन जनै अभियुक्तको मुद्दा लतिलपुर प्रहरी परिसर, जावलाखेलबाट चलाइएको थियो । तर, त्यहाँ स्थान अभाव भएको भन्दै भैंसेपाटीको हिरासतमा राखिएको थियो ।

घटनामा फरार अभियुक्तको खोजीका लागि विभिन्न टोली परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवाली बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘हामीले फरार हुनेहरुको खोजीका लागि टोली नै गठन गरेर अनुसन्धान थालेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment