+
+
Shares

लुम्बिनी विश्व शान्ति घोषणापत्र : द्वन्द्व रोक्न विश्वका सरकार तथा अन्तर्राष्ट्रिय संस्थालाई आह्वान

विद्यालयदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा शान्ति, सहानुभूति, विश्व नागरिकता र आलोचनात्मक सोचको संस्कृति विकास गर्ने शिक्षा समावेश गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८३ असोज ७ गते १४:२९

७ असोज, बुटवल । लुम्बिनीमा आयोजित तीन दिने १७औँ विश्व शान्ति मञ्चले विश्व शान्ति, जलवायु न्याय, प्रविधिको नैतिक प्रयोग र समावेशी कूटनीतिका लागि नयाँ प्रतिबद्धता सार्वजनिक गरेको छ ।

‘२१औँ शताब्दीमा शान्तिको पुनर्कल्पना’ मूल नारासहित मञ्चले ‘लुम्बिनी विश्व शान्ति घोषणापत्र–२०२६ सर्वसम्मत रूपमा पारित गरेको हो ।

सेन्जेन पिस फाउन्डेसनकी अध्यक्ष भिकी ह्यान्सेन र लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक तथा अध्यक्ष बसु गौतमले बुधबार जारी गरेको संयुक्त घोषणापत्रमा १७औँ विश्व शान्ति मञ्च दक्षिण एसियामै पहिलो पटक आयोजना भएको उल्लेख गर्दै यसलाई संस्कृति, राष्ट्र र महादेशलाई शान्तिको साझा अभियानमा जोड्ने ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरिएको छ ।

घोषणापत्रले वर्तमान विश्वमा बढ्दो भूराजनीतिक तनाव, आणविक हतियारको जोखिम, साइबर खतरा, बढ्दो सामाजिक–आर्थिक असमानता, डिजिटल विभाजन र जलवायु परिवर्तनलाई मानव सभ्यतासामु देखिएका प्रमुख चुनौतीका रूपमा औँल्याएको छ ।

यी चुनौती समाधानका लागि बुद्धले प्रतिपादन गरेको मध्यम मार्ग, करुणा, अहिंसा, अन्तरनिर्भरता र सहअस्तित्वको दर्शनलाई समकालीन विश्व शान्तिको आधार बनाउनुपर्नेमा जोड दिइएको छ ।

घोषणापत्रले परम्परागत सैन्य तथा द्वन्द्वकेन्द्रित सुरक्षा अवधारणाबाट माथि उठेर मानव सुरक्षा, सहकार्यमा आधारित कूटनीति र द्वन्द्व रोकथामलाई प्राथमिकता दिन विश्वका सरकार तथा अन्तर्राष्ट्रिय संस्थालाई आह्वान गरेको छ ।

राष्ट्रहरूबीचको टकराव समाधान गर्न खुला संवादका माध्यम विस्तार गर्नुपर्ने भन्दै सरकार, नागरिक समाज र स्थानीय समुदायबीच निरन्तर संवाद आवश्यक रहेको उल्लेख गरिएको छ ।

शान्ति निर्माण र निर्णय प्रक्रियामा महिला तथा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने घोषणापत्रको अर्को महत्वपूर्ण प्रतिबद्धता छ ।

जलवायु संकट र शान्ति अन्तर सम्बन्धित

घोषणापत्रले वातावरणीय विनास, प्राकृतिक स्रोतको अभाव, विस्थापन र द्वन्द्वबीच प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गरेको छ ।

पर्यावरण संरक्षणलाई आधुनिक शान्ति निर्माणको अभिन्न अंगका रूपमा स्वीकार गर्दै हरित पुनर्स्थापना, वन विस्तार, जोखिममा रहेका जलाधार क्षेत्रको संरक्षण तथा जलवायु अनुकूलनका कार्यक्रमलाई तिव्रता दिनुपर्नेमा जोड दिइएको छ ।

सीमापार वातावरणीय समस्या समाधानका लागि विभिन्न देशबीच सहकार्य आवश्यक रहेको भन्दै घोषणपत्रमा समुदायस्तरमा भइरहेका वृक्षरोपण, जलवायु अनुकूलन र वातावरण संरक्षणका अभियानलाई व्यापक बनाउन प्रतिबद्धता जनाइएको छ ।

प्रविधिको प्रयोग मानव कल्याणमा केन्द्रित हुनुपर्ने

विश्वमा कृत्रिम बौद्धिकता (एआई) लगायत नयाँ प्रविधिले मानिसबीचको सम्बन्ध र सामाजिक संरचनामा तीव्र परिवर्तन ल्याइरहेको सन्दर्भमा घोषणापत्रले प्रविधिको प्रयोग मानव कल्याणमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।

एआई तथा उदीयमान प्रविधिको विकास र प्रयोगमा आवश्यक नैतिक मापदण्ड तथा सुरक्षा व्यवस्था निर्माण गर्न आह्वान गरिएको छ ।

त्यस्तै, विद्यालयदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा शान्ति, सहानुभूति, विश्व नागरिकता र आलोचनात्मक सोचको संस्कृति विकास गर्ने शिक्षा समावेश गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

आगामी पुस्तालाई दिगो शान्ति र सामाजिक सद्भाव निर्माण गर्ने सक्षम नागरिकका रूपमा तयार गर्न शिक्षा महत्वपूर्ण माध्यम हुने घोषणापत्रको निष्कर्ष छ ।

सम्पदा र पर्यटनलाई कूटनीतिक पुल बनाऔं

लुम्बिनी घोषणापत्रले सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई राष्ट्रहरूबीच सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिएको छ ।

सम्पदा संरक्षण, अर्थपूर्ण पर्यटन र ‘होलिस्टिक डिप्लोमेसी ८८’ मार्फत विभिन्न देश, संस्कृति र समुदायबीच रहेका दुरी घटाउन सकिने उल्लेख गरिएको छ ।

त्यसैगरी, शान्ति केवल सरकार र अन्तर्राष्ट्रिय संस्थाको तहबाट मात्र सम्भव नहुने भन्दै स्थानीय समुदायबाटै शान्तिको आधार निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

स्थानीय तहमा सञ्चालन हुने समुदाय नेतृत्वका कार्यक्रमलाई सहयोग गर्दै स्थानीय उत्थानशिलता, आर्थिक न्याय र मानवीय गरिमा प्रवर्द्धन गर्नुपर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ ।

‘लुम्बिनीको सन्देशलाई विश्वभर पुर्‍याऔँ’

घोषणापत्रको ‘कल टु एक्सन’मा विश्वका सरकार, अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज, निजी क्षेत्र तथा आम नागरिकलाई लुम्बिनीबाट व्यक्त शान्तिको भावनालाई ठोस नीति र दैनिक व्यवहारमा रूपान्तरण गर्न आह्वान गरिएको छ ।

‘संवादलाई कार्यमा र दृष्टिकोणलाई वास्तविकतामा रूपान्तरण गर्दै लुम्बिनीको शान्तिको सन्देश सीमापार पुर्‍याउनुपर्ने’ घोषणापत्रमा उल्लेख छ ।

काठमाडौंको धुम्बाराहीस्थित लुम्बिनी विश्व शान्ति मञ्च र लक्जम्बर्गस्थित सेन्जेन पिस फाउन्डेसनको संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको हो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?