Comments Add Comment

भारतविरुद्ध न्युजिल्यान्ड : आज पनि पानी परे के हुन्छ ?

२५ असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतविरुद्ध न्युजिल्यान्डले ब्याटिङ गरिरहेको बेलामा पानी परेपछि खेल रोकियो र ‘रिजर्व डे’ तर्फ धकेलियो ।

‘रिजर्व डे’ अनुसार न्युजिल्यान्ड र भारतबीचको खेल बुधबार सुरु हुदैछ । आईसीसीको नियमअनुसार रोकिएकै स्थितिबाट बाँकी खेल सुरु हुनेछ । न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाउँदा पानी परेपछि खेल स्थगित भएको थियो ।

यदि आज पानी परेन र मैदान खेल्न योग्य भएमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । तर फेरि पानी परे खेल के हुन्छ ?

डकवर्थ लुविसबाट फैसला

यदि आज पनि पानी परेमा ओभर घटाएर खेल हुनेछ । न्युजिल्यान्डले बाँकी रहेको ओभरमा ब्याटिङ गर्न पाएन भने डकवर्थ लुविस पद्धतिको आधारमा ओभर छोटाइनेछ । र त्यहि अनुसारले भारतले नयाँ लक्ष्य पाउने छ ।

यदि आज पनि पानी परेर डकवर्थ लेविसको आधारमा भारतले लक्ष्य पाए कति रनको लक्ष्य पाउने छ ?

यस्तो भएमा भारतले २० ओभरमा खेल छोटाइएमा १४८ रनको लक्ष्य पाउने छ । त्यस्तै, २५ ओभरको भए १७२, ३० ओभरको भए १९२ रनको लक्ष्य भारतले पाउने छ । ३५ ओभरमा छोटाइए भारतले २०९ र ४० ओभरमा खेल छोटाइएमा २२३ रन बनाउनु पर्ने हुन्छ ।

४६ ओभरमा खेल छोट्याएमा भारतले २३७ रनको लक्ष्य पाउनेछ ।

खेलै नभए के हुन्छ ?

आज पनि मंगलबार जस्तै पानी परिरहेमा खेल हुने छैन । खेल नभएमा भारत र न्युजिल्यान्डबीचको नतिजा के हुन्छ ?

न्युजिल्यान्ड र भारतबीचको खेल आज ‘रिजर्ब डे’ मा हुन लागेको हो । तर आज पनि पानी परिरहे फाइनलमा कुन टिम जाने छ ? यो जिज्ञासाले सबैलाई कौतुहलता दिइ रहेको छ ।

यस्तो अवस्था भए लिग चरणको नतिजाले फाइनलमा पुग्ने टिमको छिनोफानो लाग्छ । अर्थात जुन टिमको लिग चरणमा सबैभन्दा धेरै अंक छ त्यही टिम फाइनलमा प्रवेश गर्नेछ ।

यस्तो अवस्थामा भारत लिग चरणमा शीर्ष स्थानमा रहंदै सेमिफाइनल पुगेको हो भने न्युजिल्यान्ड चौथो हुदै सेमिफाइनलमा स्थान बनाएको हो । आज पनि पानी परेर खेल रद्द भए भारत स्वतः फाइनलमा प्रवेश गर्नेछ ।

लिग चरणमा भारतले ९ खेलमध्ये सात खेलमा जित, एक खेलमा हार र एक खेलमा पानीको कारण अंक बाँड्दै १५ अंक बनाएको थियो । यता, न्युजिल्यान्डले भने ९ खेलमध्ये पाँच खेलमा जित, तीन खेलमा हार र एक खेलमा पानीको कारण अंक बाँड्दै ११ अंक बनाएको हो । यी दुबै टिमले लिग चरणको खेलमा पनि पानी परेपछि अंक बाँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment