Comments Add Comment

फोल्डेबल स्मार्टफोन अहिले नै आउन गाह्रो, कारण यस्तो छ

बजारमा तहल्का पिट्नका लागि स्मार्टफोन निर्माता कम्पनीहरुले केही नितान्त नौलो आविष्कार उपभोक्ता समक्ष ल्याउनु पर्दछ । त्यसैले आगामी दिनमा स्मार्टफोनको बजार पिट्ने प्रविधि भनेकै फोल्डेबल स्मार्टफोन हुने अपेक्षा धेरैको छ ।

पछिल्ला दिनहरुमा स्मार्टफोन निर्माता कम्पनीहरुले लञ्च गर्ने नयाँ संस्करणका स्मार्टफोनहरुले बजारमा ठूलो तरङ्ग सिर्जना गर्न सकिरहेका छैनन् । विद्यमान मोडेलमा केहीमात्र परिवर्तन गरी थपथाप गरेर ल्याइने नयाँ मोडेलका स्मार्टफोनले उपभोक्ताको अपेक्षा तथा उत्साह क्यास गर्न सकेनन् ।

स्मार्टफोन प्रयोगकर्ताहरुले बजारमा आउने नयाँ संस्करणका फोनहरु किन्ने रुची नदेखाउँदा एप्पल तथा सामसुङका नयाँ स्मार्टफोनको बिक्रिदरमा समेत उल्लेखनीय रुपमा गिरावट देखिन थालेको छ ।

यो परिप्रेक्ष्यमा कतिपय स्मार्टफोन कम्पनीहरुले लक्जरी फोल्डेबल स्मार्टफोन उत्पादनतर्फ ध्यान मोडेका छन् ।

तर यो सजिलो काम होइन । फोल्डेबल स्कृनको अवधारणालाई मूर्तरुप दिनु अर्थात् काँचको स्कृनलाई पट्याउन मिल्ने स्मार्टफोनको स्कृनमा ढाल्नु इन्जिनियरिङ दृष्टिकोणबाट पनि ठूलो चुनौतिको काम भएको वैज्ञानिकहरुको भनार्य छ ।

सामसुङले निकै तामझामसँग सार्वजनिक गरेको २ हजार डलर मूल्यको ग्यालेक्सी फोल्ड स्मार्टफोन सुपर फ्लप भएको घटना सेलाउन पाएको छैन । बजारमा ल्याइनसक्दै उक्त फोल्डेबल स्मार्टफोनको स्कृनमा चर्किने तथा भाँच्चिने समस्या देखिएको छ । गत अपि्रलमै बजारमा आउने भनिएको फोल्डेबल स्मार्टफोनमा समस्या देखिएकै कारण सामसुङले बजारमा ल्याएन र कहिले बजारमा आउने भन्ने अनिश्चित बनिरहेको छ ।
त्यस्तै २६ सय डलर मूल्य पर्ने फोल्डेबल स्मार्टफोन बजारमा ल्याउने घोषणा गरेको हुवावेले पनि मिति सारेको छ । उसको मेट एक्स फोल्डेबल स्मार्टफोन आगामी सेप्टेम्बरमा मात्र लञ्च हुने बताइएको छ ।

उता एप्पलले पनि फोल्डेबल स्मार्टफोनका कैयन् पेटेन्ट दर्ता गरिसकेको भएपनि यस्तो स्मार्टफोन ल्याउने बारेमा कुनै घोषणा गरिसकेको छैन ।

विश्लेषकका अनुसार फोल्डेबल स्कृन तयार गर्नु भनेको पदार्थ विज्ञानको निकै चुनौतिपूर्ण कार्य हो ।

यसमा यस्तो ओएलइडी स्कृन तयार गर्नुपर्दछ जसमा स्कृन मोडिँदा पिक्सेल क्षमतामा ह्रास नहुने तथा पट्याउने छेउँको स्कृनमा पनि मुजा नपर्ने हुनु पर्दछ ।

साथै स्कृन फोल्ड गर्न मिल्ने स्मार्टफोनको ब्याट्री कस्तो हुने ? भन्ने पनि प्रश्न उठ्दछ । स्कृन फोल्ड भएसँगै ब्याट्री पनि फोल्ड गर्नुपर्ने हो कि ?

तथापि सबैभन्दा कठीन विषय भनेको स्कृन नै हो ।

सामसुङ र हुवावे दुबैले प्लास्टिक पोलिमरबाट बनेको प्रोटेक्टिभ स्कृन प्रयोग गरेका छन् ।

प्लास्टिक पोलिमरहरु पर्याप्त मात्रामा मोड्न सकिने खालका लचकदार हुन्छन् । तर ती काँच जत्तिको बलियो र टिकाउ नहुनुका साथै सजिलैसँग कोतरिन्छन् ।

साथै प्लास्टिकमा सजिलै चर्किने र नफुट्दै पनि आकार बिगि्रने जस्ता समस्या आउने अल्फ्रेड विश्वविद्यालयका काँच विज्ञानका प्राध्यापक विलियम ला कोर्स बताउँछन् ।

प्लास्टिक पोलिमरले फोल्डिङ डिभाइसको अवधारणालाई मूर्तरुप दिन सम्भव भएपनि यसको दीर्घकालीन समाधान भनेको काँच नै हो, जुन टिकाउ हुन्छ । काँचलाई केवल ११ सय डिग्री फरेनहाइट भन्दा उच्च तापक्रममा मात्रै स्थायी रुपमा विकृत गराउन सकिन्छ ।

ला कोर्स भन्छन्, ‘मानिसको रौँ भन्दा पनि कम पातलो अल्ट्रा थिन काँचमा ठूलो बल लगाउँदा मात्र काँचलाई मोड्न र बङ्ग्याउन सकिन्छ । यो पैसा जस्तो गरी पूरै पट्याउन सकिदैन तथापि यसलाई काँचको रडको वरीपरी बेर्नेगरी फोल्ड गर्न सकिन्छ । रडमा बेरेकेा काँचलाई फुकाउँदा त्यो पहिलेकै अवस्थामा आउँदछ ।’

उनका अनुसार स्मार्टफोन स्कृनहरु साधारणतया काँचबाट बनेका र निकै बलियोका साथै लचकदार पनि हुन्छन् । तर अहिलेको समस्या भनेकै काँचको स्कृनलाई फोल्ड गर्न मिल्ने बनाउन सकिएको छैन ।

उपयुक्त काँचको विकास गर्ने प्रविधिमा अहिले भईरहेको कामलाई हेर्दा आगामी दुई वर्षभित्रमा काँचको फोल्डेबल स्कृन सहितको स्मार्टफोन तयार हुन सक्ने सम्भावना रहेको उनी बताउँछन् ।

विश्वको सबैभन्दा ठूलो काँच निर्माता कम्पनी कोर्निङ्गले हाल अधिकांस स्मार्टफोनका लागि गोरिल्ला ग्लासको उत्पादन गर्ने गरेको छ । सन् २०१७ मा एप्पल एक्लैले उक्त कम्पनीको काँच आविष्कार परियोजनाका लागि २० करोड डलर सहयोग गरेका थियो ।

कोर्निङ कम्पनीका प्रवक्ताका अनुसार कम्पनीले मोड्ने डिभाइसको डिस्प्लेका लागि निकै पातलो अर्थात् अल्ट्रा थिन र टिकाउ काँच निर्माण गर्नमा काम गरिरहेको छ । विभिन्न मोटाइमा यस्तो काँचको परीक्षण पनि उसले गरिरहेको छ ।

परीक्षणका क्रममा यस्ता काँचका पाताहरु नबिगि्रकन हजारौँ पटक मोड्न तथा पट्याउन सकिन्छ । जबकी सामसुङ तथा हुवावेेले हाल प्रयोग गरेका प्लास्टिक पोलिमर स्कृन १ लाख पटक फोल्ड गर्दा नै आकार बिगि्रन सुरु गर्दछ । सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment