Comments Add Comment

गोरखामा जोखिमयुक्त वस्तीका ३ सय ४७ घरधुरीले पाए लालपूर्जा

२७ असार, गोरखा । जोखिम वस्तीका तीन सय ४७ जना भूकम्पपीडितले जग्गा खरिदका लागी अनुदान रकम पाएका छन् ।

जोखिम बस्ती र भूमिहीन भूकम्प पीडितलाई सरकारले जग्गा खरिद गर्न बढीमा दुई लाखसम्म उपलब्ध गराउने प्रावधान छ ।

भूकम्प र त्यस पछिको पहिरोका कारण जिल्लाका ५ सय २६ घरधुरी जोखिममा परेका थिए । धार्चे गाउँपालिका–२ केरौजाका २ सय ८५ घरधुरीले लालपुर्जा पाइसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।

अजिरकोट गाउँपालिकाको २८, चुमनुव्रीको १८ र वारपाक सुलिकोट गाउँपालिकाको १६ जना पीडितलाई पनि लालपूर्जा वितरण गरिएको दिगो सामाधान परियोजनाकी परियोजना अधिकारी पुष्पा घलेले बताइन् । चुमनुब्री गाउँपालिका–३ सिर्दिवासमा जोखिममा परेका ११ घरधुरीलाई देवलमा एकिकृत वस्ती वस्ने गरी जग्गा खरिद भइसकेको छ ।

बारपाकको १५, अजिरकोट गाउँपालिकास्थित मुच्चोक सावदुरका १७, डिस्काको १, मुच्चोकटारका २, जोगिडाँडाका १, ठूलो ढुङ्गाका २ र दार्मेका १ लाभाग्राहीलाई पनि लालपूर्जा वितरण भइसकेको इकाइले जनाएको छ ।

मुच्चोकबाट विस्थापित भई गोरखा नगरपालिकाको पन्ध्र किलो स्थित नयाँ गाउँमा बस्दै आएका ५ जनाले पनि लालपूर्जा पाइसकेका छन् । जोखिममा रहेका अन्य घरधुरीलाई सुरक्षित ठाउँमा वस्ती स्थानान्तरण गर्न लालपूर्जा वितरणको तयारी भइरहेको इकाइ प्रमुख रामशरण आचार्यले बताए ।

भूमिहीनका लागि पनि जग्गा खरिद गर्न रकम निकासा

जिल्लाका भूमिहीन भूकम्प पीडितका लागि पनि जग्गा खरिदका लागि रकम निकासा भएको छ । जग्गा खरिद गर्न चाहने भूमिहीन भूकम्प पीडितलाई रकम उपलब्ध गराउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट परिपत्रसहित रकम आएको इकाइले जनाएको छ ।

जग्गा खरिदका लागि उनीहरुले बढीमा दुई लाख रुपैयाँसम्म अनुदान पाउँछन् । हालसम्म जिल्लामा ६४ जना भूमिहीन भूकम्पपीडित लाभग्राही पहिचान भएको इकाइले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment