Comments Add Comment

भूकम्पपछि बनेका प्रसुति गृह र वीर अस्पतालको भवन उद्घाटन

२७ असार, काठमाडौं । २०७२ वैशाखको भूकम्पबाट क्षति भएका परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण सपन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसुति गृह र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले वीर अस्पतालमा पुनर्निर्माण गरिएको भवनको उद्घाटन गरे ।

भूकम्पबाट क्षति भएका स्वास्थ्य संस्थाका पूर्वाधारहरुको पुनर्निर्माण कार्यक्रम अन्तर्गत नेपाल सरकार र जापान सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुसार जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक तथा आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् प्रसुति गृह र वीर अस्पतालको पुनर्निर्माण गरिएको हो ।

पुनर्निर्माण गरिएको प्रसुति गृहमा १८२ शैय्या रहेका छन् भने वीर अस्पतालमा ९४ शैया छन् । यी दुइवटा भवनको लागत २ अर्ब ३६ करोड रुपैयाँ छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणपछि बनेको अत्याधुनिक र सुविधा सम्पन्न भवनबाट प्रसुति गृहले पुर्याउने सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले अझ राम्रो र बलियो भन्ने पुनर्निर्माणको मुख्य अवधारणा अनुसार अत्याधुनिक र सुरक्षित भवन बनेकोमा खुशी व्यक्त गरे ।

उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रसुति गृहको अत्याधुनिक शैलीमा पुनर्निर्माण गरिएको प्रसुति गृहबाट महिला र बच्चाहरुले थप गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गर्दै उपत्यका बाहिर पनि आज उद्घाटन गरिएका जस्ता अस्पतालको पुनर्निर्माण गर्न आवश्यक भएको बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रसुति गृह र वीर अस्पतालको पुनर्निर्माणले अन्तर्रा्ष्ट्रिय समुदायलाई परिचालन गरेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए । उनले स्वास्थ्य संस्था, निजी आवास, शैक्षिक संस्था, सम्पदा लगायतको पुनर्निर्माणमा धेरै काम भइसकेको बताउँदै बाँकी काम पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालका लागि जापानका राजदूत मासामिची साइगोले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पुननिर्माण सम्पन्न भएका अस्पतालहरुबाट सेवा प्रवाह पनि बढ्ने विश्वास व्यक्त गरे ।

प्रसुति गृहका निर्देशक जागेश्वर गौतमले भूकम्पपछि अस्पतालले दिने सेवा सुविधा खुम्चिएकोमा पुनर्निर्माणपछि पुनविस्तार भएको बताए । २०७२ सालको भूकम्पबाट ११ सय ९७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेकोमा ६ सय ४३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४५ वटामा पुनर्निर्माणको काम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment