Comments Add Comment

के कपडा धुन जरुरी छ ? कि झट्कारे मात्र पुग्छ ?

Photo Credit : surfexcel.in

काठमाडौं । ‘सामान्य रुपमा जिन्दगीमा एक नियम हुनुपर्दछ, यदि तपाइँलाई कुनै चिज सफा गर्नु आवश्यक छैन भने त्यसलाई सफा गर्नु हुँदैन ।’

फेसन डिजाइनर स्टेला म्याकार्टनीले द अब्जर्भर पत्रिकासँग दिएको अन्तर्वार्तामा यो कुरा बताएकी छिन् ।

लण्डनस्थित चर्चित कपडा ब्राण्ड कम्पनी सेभिल रोमा काम गर्दाका बखत आफुले त्यो कुरा सिकेको उनी बताउँछिन् ।

उनका अनुसार फोहोरलाई सुक्न दिनु पर्दछ, त्यसपछि त्यसलाई झट्कारेर झार्नु पर्दछ ।

के उनले भनेजस्तै गरेर कपडा सफा हुन्छ त ? धेरैले यो प्रश्न गरेका छन् ।

कपडा धुँदा वातावरणमा नोक्सानी

यद्यपि कपडा धुनु हुँदैन भनेर स्टेलाले भनेको यो पहिलो पटक होइन । उनी लामो समय देखि वाशिङ मेसिन प्रयोगको विरोधी रहँदै आएकी छिन् ।

कपडा धुने क्रममा वाशिङ मेसिनलाई कम तापक्रममा राखेर झोल डिटर्जेन्टको प्रयोग गर्नु राम्रो हुन्छ

वाशिङ मेसिनको प्रयोग नगर्दा लामो समयसम्म् कपडाहरु नयाँ बनिरहने र कपडा नधुनाले पर्यावरणमा पनि असर नपर्ने उनको दाबी छ ।

प्लास्टिक सोप फाउन्डेसन एडभोकेसी ग्रुपसँग आबद्ध लारा डियाज सान्चेज पनि यो कुरासँग सहमत छिन् ।

उनका अनुसार पोलिस्टर तथा एक्रेलिक जस्ता सिन्थेटिक पदार्थ भएका महंगा कपडाहरुमा यो नियम पूर्ण रुप्मा लागू हुन्छ ।

उनी भन्छिन्, ‘हरेक पटक जब हामी कपडा धुन्छौँ तब ९० लाख प्लास्टिक माइक्रोफाइबर्स पर्यावरणमा घुल्दछन् । हामीले जुन प्रकारले कपडा धुन्छौँ त्यसले पर्यावरण र हाम्रै कपडामा पनि असर पार्दछ । हामीले कपडा जति धेरै धुन्छौँ त्यति नै धेरै माइक्रो फाइबर्स पर्यावरणमा उत्सर्जन हुन्छन् ।’

उनका अनुसार कपडा धुने क्रममा वाशिङ मेसिनलाई कम तापक्रममा राखेर झोल डिटर्जेन्टको प्रयोग गर्नु राम्रो हुन्छ ।

‘डिटर्जेन्ट पाउडरको कारण कपडा धुने क्रममा धेरै घर्षण पैदा हुन्छ । त्यसबाट धेरै फाइबर निस्किन्छ । जबकी तरल डिजरजेन्ट उपयुक्त हुन्छ । किनकी यसमा कम घर्षण पैदा भई कम संख्यामै फाइबर निस्किन्छन्’, सान्चेज भन्छिन् ।

उनका अनुसार वाशिङ मेसिनमा कपडा धुँदा धेरै कपडा कोच्नु पनि ठीक हुँदैन । किनकी यसले कपडामा बढी घर्षण पैदा गर्दछ ।

कसरी गर्ने कपडाको सुरक्षा ?

यो माइक्रो फाइबरसँग सम्बन्धित कुरा होइन । कुनैपनि कपडालाई पटक पटक धुँदा त्यो लगाउन लायक हुँदैन र नयाँ कपडा किन्नुको विकल्प हुँदैन ।

युनिभर्सिटी अफ वेस्टमिन्स्टरमा फेसन डिजाइनिङ्ग विषयका प्रमुख प्राध्यापक एन्ड्रू ग्रोव्सका अनुसार वाशिङ मेसिनभित्र हुने घर्षणका कारण नै कपडामा भएको फोहोर बाहिर निस्किने हो । तर यसले कपडाको रङ र आकारमा पनि परिवर्तन गरिदिन्छ ।

उनी भन्छन्, ‘मेरो दराजमा मेरा दशकौँ पुराना कपडाहरु पनि छन्, जो नितान्त नयाँ देखिन्छन् । किनकी कपडाको ख्याल कसरी गर्ने भन्ने मलाई थाहा छ ।’

उनका अनुसार यो नियम महंगा र सस्तो दुबै खाले कपडामा लागू हुन्छ । कपडाको जति धेरै जतन गर्यो उत्ति नै धेरै समय तपाइँको कपडा तपाइँसँग रहन्छ ।

भित्रीबस्त्रमा पनि यही नियम लागू हुन्छ

लभ योर क्लोथसँग आबद्ध सारा क्लेटनका अनुसार जिन्स धुनु आवश्यक छैन, झट्कार्नु उपयुक्त हुन्छ

म्याककार्टनीले द अब्जर्भरसँगको अन्तरवार्तामा महिलाका ब्रा लगायतका अन्तरवस्त्रमा समेत धुलाईको यो नियम लागू हुने बताउँछिन् । उनी भन्छिन्, ‘म आफ्नो ब्रा पटक पटक फेर्दिन ।’

डिजाइनर नेओमी डे हान पनि यसमा सहमत छिन् । उनका अनुसार ब्रालाई मनतातो पानीमा बेबी स्याम्पुले धुनु राम्रो हुन्छ ।

आफ्नो ब्राण्डका ब्राहरु महंगो हुने भए तापनि सस्तो मूल्यका ब्रालाई पनि यसैगरी धुनु राम्रो हुने उनको भनाई छ । तथापि स्पोर्टस् ब्रालाई भने नियमित रुपमा धोइरहनु पर्दछ ।
उनी भन्छिन्, ‘वाशिङ मेसिनमा ब्रा धुनाले त्यसमा लगाइएको सिल्क तथा लेस बिग्रिन्छ ।

साथै ब्रामा लगाइएको तार पनि निस्किन सक्दछ । ब्राको रङ पनि फिक्का हुनसक्छ र ब्राको कपको आकार पनि बिगि्रन्छ सक्दछ ।’

वाशिङ मेसिनमा कपडा धोएतापनि वाशिङ मेसिनभित्रै कपडा सुकाउने कार्य चाहिँ कपडाको लागि निकै हानिकारक हुन्छ ।

जिन्स कसरी सफा गर्ने ?

इन्भारोमेन्टल च्यारिटी र्यापको अभियान लभ योर क्लोथसँग आबद्ध सारा क्लेटनका अनुसार जिन्स धुनु आवश्यक छैन, झट्कार्नु उपयुक्त हुन्छ । यदि कुने ठाउँमा दाग लागेको भए दाग लागेको ठाउँमा मात्रै पानीले सफा गरे पुग्दछ । पूरै जिन्सलाई पानीमा चोपेर धुनु पर्दैन ।

जिन्सलाई नधोइकन लगाउने भन्ने कुरा अलिक अप्ठेरो लाग्न सक्दछ । तर जिन्स निर्माता कम्पनी लिभाइसका सिइओ चिप बर्ग चाहीँ यसैको पक्षमा छन् ।

सन् २०१४ मा बर्गले एउटा तथ्यको खुलासा गर्ने धेरै मानिसले पत्याएनन्, जिब्रो टोके । आफूले आफ्नो जिन्स कहिल्यै पनि नधोएको उनले बताएका थिए ।

त्यसको पाँच वर्षपछि गत मार्च महिनामा उनले एक अमेरिकी न्यूज च्यानलसँगको अन्तरवार्तामा त्यही कुरा दोहोराए । आफ्नो जिन्स पाइन्ट १०ँ वर्ष पुरानो भएको र आफूले अहिलेसम्म नधोएको उनले बताएका थिए ।

प्रोफेसर ग्रोव्स बर्गको त्यो कुरासँग सहमत छन् । उनी भन्छन्, ‘मैले चिनेकामध्ये धेरै मानिसहरु आफ्नो जिन्स कहिल्यै पनि धुँदैनन् । यो अनौठो लाग्न सक्दछ । हुनत जिन्स सजिलैसँग हरेक दिन धुन सकिन्छ । तर मानिसहरु जिन्सको रङ नबिगि्रयोस् भनेर त्यसलाई धुँदैनन् ।’

कपडा नधुने यो तरिका मानिसहरुले आफ्ना सबै कपडामा लागू गर्नुपर्ने तर्क उनको छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment