
२९ असार, गोरखा । गोरखा दरबार पुनर्निर्माण सुरु भएको डेढ वर्षमा जगको काम मात्र सकिएको छ ।
२०७४ कात्तिक महिनाबाट पुनर्निर्माणको काम सुरु भएको थियो । २०७६ साल मंसिर ३० गतेभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता छ । तर, अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।
‘काठ नआएर धेरै समय काम रोकियो,’ कार्यालयका निमित्त प्रमुख रामेश्वर कट्टेलले भने, ‘अहिले बल्ल काठ आयो, धमाधाम काठको काम हुँदैछ ।’ पहिलो तलाको भुइँमा चाहिने काठको थाम र लकासी बनाउने काम भइरहेको उनले बताए ।
‘काठमाडौबाट आउनुभएका दुईजनाले काठमा बुट्टा हान्ने काम गरिरहुनभएको छ, अन्य ५/६ जना काठको अरु काममा व्यस्त छन्,’ कट्टेलले थपे ।
काममा भएको ढिलासुस्तीका कारण तोकिएको समयमा काम सम्पन्न नहुने पक्का छ । ठेकेदारको लापरवाही भएको भन्दै स्थानीय आक्रोशित छन् । ‘ठेकेदारको लापरवाही छ, सम्बन्धित कार्यालयबाट तातो लगाउनुपर्यो । राजनीतिक दलले पनि पहल गर्नुपर्यो,’ स्थानीय राम बहादुर कुवँरले भने ।
दरवार पुनर्निर्माणमा ढिलाइ भएका कारण भक्तजनको संख्यामा कमी आएको स्थानीय रामकुमार अच्छामी बताउछन् । ‘दरबार नै छैन के हेर्न जाने भन्छन्, दरबार भत्काएर अलपत्र छ, तर बनाउने काममा ठेेकेदारले लापरवाही गरिरहेको छ,’ उनले भने ।
भत्काइएको दरबारका सामग्रीहरु उचित भण्डारण हुन नसकेको कट्टेल बताउँछन् । ‘पुराना काठहरु बाहिर त्यत्तिकै छन्, केहीलाइ हेलिप्याडमा पालले छोपेर राखेका छौ तर पानी पर्दा सबै भिज्छ,’ उनले भने । इट्टा र ढुङ्गाहरु पनि अव्यवस्थित रुपमा दरवार आसपासै नै राखिएका छन् ।
दरबार पुनर्निर्माणको जिम्मा पचली भैरव सिभाको जेवीले पाएको हो । कुल ४ करोड ३३ लाखको लागतमा सम्झौता भएको हो । तर ठेकेदारको लापरवाहीले काममा ढिलासुस्ती भइरेहेको छ ।
पुनर्निर्माणको जिम्मा पाएका ठेकदार शुशिल बाबु श्रेष्ठले धमाधम काम भइरहेको बताए । ‘टिम्वर कर्पाेरेशनले काठ दिन ढिला गर्यो, अहिले काठ आइसक्यो काम पनि भइरहेको छ,’ उनले भने ।
साउनको दोस्रो हप्ता भित्र गारो लगाउने काम सुरु हुने श्रेष्ठले दावी गरे । ‘झ्याल ढोका राखेर मात्र वाल लगाउने काम गर्न मिल्छ, काठको काम हुँदैछ, अव दशै अघिसम्म पहिलो तलाको काम सक्ने लक्ष्य छ,’ उनले भने ।
प्रतिक्रिया 4